नयाँदिल्लीमा ८६ वर्षीया महिला बलात्कृत !
नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीमा ८६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
वरिष्ठ प्रहरी अधिकारीका अनुसार दुध व्यापारीलाई पर्खँदै गरेकी ८६ वर्षीया महिलालाई आरोपित पुरुषले एकान्त चौरमा लगेर बलात्कार गरेका थिए । आफ्नै घर बाहिर उभिरहेकी ती वृद्धालाई सोमबार साँझ ३२ वर्षीय सोनु नामका पुरुषले बलात्कार गरेको प्रहरीको भनाइ छ ।
दिल्ली प्रहरीका वरिष्ठ प्रहरी अधिकारी आरपी मिनाले घटनाबारे थप अनुसन्धान गरिरहेको बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा ती पुरुषले वृद्धालाई आफ्नो मोटरसाइकलमा चढ्न आग्रह गरेका थिए । नजिकै पुगेर पैसा ल्याउनुपर्ने भएकाले उनलाई आफ्नो साथ जान उनले आग्रह गरेका थिए ।
ती महिला सहयोगका लागि चिच्याउँदै गर्दा छिमेकीले सुनेर प्रहरीलाई बोलाएको र उनी घटनास्थलबाटै पक्राउ परेको भारतीय मिडियाले जनाएका छन् । मिना नाम गरेकी ८६ वर्षीया महिलालाई शरिरमा चोट लागेको समेत बताइएको छ । अस्पतालमा केही समयको उपचारपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ ।
भारतको कानुन अनुसार पटक पटक बलात्कार गरेको, सामूहिक बलात्कार वा नावालिगलाई बलात्कार गरेको जस्ता घटनामा दोषीलाई मृत्युदण्डको सजाय दिइन्छ । दिल्लीको यस घटना पूर्वनियोजित नरहेको प्रहरीको अनुमान छ ।
भारतको राष्ट्रिय अपराध तथ्यांक विभागका अनुसार अघिल्लो वर्ष ३३ हजार बलात्कारका घटना बाहिर आएका थिए । तथ्यांक अनुसार देशभर हरेक दिन ९१ वटा बलात्कार हुन्छन् । अर्थात् सरदरमा हरेक १६ मिनेटमा एक बलात्कार हुने गर्छ ।