रुसी कोरोना खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुन टर्की सकारात्मक
स्तानबुल : रुसी कोरोना खोपको तेस्रो चरणको परीक्षणमा सहभागी हुन टर्की सकारात्मक देखिएको छ। रुसको आग्रहअनुसार खोपको परीक्षणमा सहभागी हुने बारे विचार गरिरहेको स्वास्थ्यमन्त्री फह्रेटीन कोकाले बताएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार स्वास्थ्यमन्त्री कोकाले बिहीबार पत्रकारसँग कुरा गर्दै यसबारे आउँदो साता निर्णय लिइने बताएका छन्।
‘हामीले यो खोपको तेस्रो चरणको परीक्षणका लागि अनुरोध पत्र प्राप्त गरेका छौँ’, मन्त्री कोकाले भने, ‘आवश्यक कागजातहरू र प्रक्रियाहरू प्रर्याप्त छन् भन्ने हामीलाई लागेको छ, साथै पहिलो र दोस्रो चरणको परीक्षण पनि सकिएको छ।’
मन्त्री कोकाले यसभन्दा अगाडि चिनियाँ खोपको तेस्रो चरणको परीक्षण गरिरहेको बताउँदै रुसी खोपको वैज्ञानिकले मूल्याङ्कन गर्ने बताए। ‘केही दिनमै हाम्रा खोप विशेषज्ञहरूले यस मामला र खोपको मूल्याङ्कन गर्नुहुनेछ’, ‘सायद अर्को साता हामी रुसी खोपको तेस्रो चरणको परीक्षणलाई अनुमति दिनेछौँ।’
रुसले 'Sputnik-V' नामक खोपको विकास गरी प्रयोगका लागि प्रमाणित गरिसकेको छ। तर परीक्षणकै चरणमा रहेको खोपलाई प्रमाणित गरेसँगै विज्ञहरूले भने यसको सुरक्षालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका छन्।