नयाँ व्यवस्था, पुरानै अवस्था
महाभारतमा युधिष्ठिरले ‘पापको मूल स्रोत के हो र कसबाट यसको प्रवृत्ति हुन्छ ? ’ भन्ने जिज्ञासा भीष्मसमक्ष राख्छन्। उनको जिज्ञासा शान्त गर्ने क्रममा भीष्मले ‘लोभ नै पापको मूल स्रोत हो र लोभद्वारा नै पापको प्रवृत्ति हुन्छ’ भनेर विस्तारपूर्वक वर्णन गर्छन्। लोभद्वारा नै पाप, अधर्म र महान् दुःखको उत्पत्ति हुन्छ। छलकपटको मूल कारण पनि लोभ हो। लोभकै आधारमा क्रोध, काम, माया, मोह, अभिमान, उद्दण्डता, पराधीनता आदि दोष निःसृत हुन्छन्। असहनशीलता, निर्लज्जता, धर्मक्षय, चिन्ता र अपयश पनि लोभबाटै उत्पन्न हुन्छ। लोभले नै तृष्णा, शास्त्रविरुद्धका कर्ममा प्रवृत्ति, सम्पूर्ण प्राणीप्रति द्रोह, सबैको तिरष्कार, सबैप्रति अविश्वास र कुटिलतापूर्ण व्यवहार गरिन्छ। अर्काको धनको अपहरण, अर्काकी स्त्रीको बलात्कार, निन्दा गर्ने दुष्प्रवृत्ति, आत्महत्या, घृणा, आत्मप्रशंसा र नगर्नुपर्ने काममा प्रवृत्ति पनि लोभकै कारणले हुन्छ। जसरी जतिसुकै गहिरा नदी मिले पनि समुद्र भरिँदैन, त्यसरी नै सबै प्रकारका पदार्थको प्राप्ति हुँदा पनि लोभको पेट कहिल्यै भरिँदैन।
महाभारतको यो दृष्टान्तले वर्तमान नेपालको राजनीति प्रतिनिधित्व गर्छ। कोरोनाको त्रासबाट आफ्नै जन्मभूमि फर्किएका सयौं युवा सत्ता सञ्चालकहरूको नालायकी देखेर बरु बाकसमै फर्किने तर यहाँ नबस्ने मुर्छित सपना बोकेर फेरि बिदेसिन थालेका छन्। कोरोनाभन्दा पनि गरिबीमाथिको निर्मम प्रहार उनीहरूका लागि अप्रिय भएको छ। त्यसो त विदेशको अनुशासन, जनता हुनुको उत्तरदायित्व, मानवीय र श्रमको मूल्य बुझेकाका लागि नेपाल बसाइ थप सकसपूर्ण बन्ने गरेको छ। पीसीआर परीक्षण गर्नसमेत मन्त्रीको सोर्स लगाउनुपर्ने अवस्था त छँदै छ, त्यसमाथि रोजगार कुन चरीको नाम हो ? कसैलाई थाहा छैन। अरू त अरू हातभरि पैसा बोकेर दिनरात लाइन बस्दा एक मुठी मल किन्न पाइँदैन। अनि क्षमतावान् नागरिक बिदेसिनुको विकल्पै रहेन। कोरोना त्रासले देशका सबै गतिविधि ठप्प रहेका बेला मुलुकको केन्द्रीय राजनीतिका सारथिहरू एकाध नेताको जागिरका लागि महिनौंदेखि अल्मलिएका छन्।
जनअभिमतबाट तिरष्कृत वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा जागिर दिनेदेखि प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहित उनीहरूका हरुवाको व्यवस्थापनलाई लिएर चलेको रस्साकस्सी अझै साम्य भइसकेको छैन्। एउटा व्यक्तिका लागि खेलाडी नभई खेलको नियम नै फेर्नेसम्मका हर्कत हुन थालेका छन्। दुईतिहाइको सरकारले लोकतन्त्रको उन्नयनमा खेलेको योभन्दा उत्कृष्ट भूमिका के हुन सक्छ ?
एउटा समाजवादी राष्ट्रमा कुनै पनि कमजोर व्यक्ति वा वर्गको अभिभावक राज्य हुन्छ भनिन्छ। तर हाम्रो सन्दर्भमा समाजवाद भन्ने शब्द संविधानको प्रस्तावनामा मात्र सीमित छ। पुर्पुरो भएका नेता निरीह मतदाता भएपछि कसको के लाग्छ ? पाँच वर्षमा ३० खर्ब रेमिट्यान्स पठाउने गरिब कामदारप्रति कसैको नजर पर्दैन। देश फर्किन नपाउने र देश फर्किएका स्वदेश फर्किनेहरूको लुकामारी अचम्मलाग्दो छ। कोरोनाको महामारीमा रोजगार गुमाएका कारण सडकमा भोकानांगा बाक्लिने क्रम बढ्दो छ। हरेक ९० मिनेटमा एकजनाले आत्महत्या गर्दैछन्।
शिक्षा, स्वास्थ्य जनताको अधिकार नभई व्यापारका असली माध्यम बन्दै आएका छन्। औद्योगिक उत्पादन शून्य छ। संस्कार, संस्कृति, मान, मर्यादा नामेट हुँदै गएका छन्। नयाँ पुस्तालाई न कसैको डर, न कसैको भर नै छ।
हरेक तीन घन्टामा एक कोरोना संक्रमित मर्दैछन्। महँगीले नेटो काटेको काट्यै छ। छोटे जनप्रतिनिधिको आतंक दिनप्रतिदिन बढ्दो छ। टारी खेत, मकैबारीभित्र डोजर चालक इन्जिनियर भएर बर्खे सडक खन्ने क्रम तीव्र छ। जुन सडकमा रहर गुड्छ, गाडी दौडिँदैन। बाढीपहिरोको आतंक उत्तिकै डरलाग्दो छ। एउटा सामान्य जीवन बाँच्न जनता हैन, पार्टीको झोले बन्नुपर्ने अघोषित सर्त नै बनेको छ। शिक्षा, स्वास्थ्य जनताको अधिकार नभई व्यापारका असली माध्यम बन्दै आएका छन्। औद्योगिक उत्पादन शून्य छ। संस्कार, संस्कृति, मान, मर्यादा नामेट हुँदै गएका छन्। नयाँ पुस्तालाई न कसैको डर, न कसैको भर नै छ। संसारमा नीतिहरूको राजा भनेर सर्वस्वीकृत राजनीति यहाँ अपराध कर्मको जननी भनेर बुझाइएको छ। जननिर्वाचित सरकारको आधा कार्यकालको प्रगतिबाट जनता मुर्छित छन्। बाँकी कार्यकाल कस्तो हुने सहज अनुमान लगाउन सकिन्छ। तलदेखि माथिसम्म बढेको यो मपाइँत्वका कारण गणतन्त्रको यो अभ्यास यही सरकारको कार्यकालमा पहिलो र अन्तिम हुने निश्चित छ।
लाखौं जनता मलको लाइनमा छन्। ललितपुरमा त्यत्रो झडप भयो। कोरोनाको ग्राफ उक्लिँदो छ। सरकार मुलुक ठप्प गरेर समस्याको निदान खोजिरहेको छ। सरुवा, बढुवा, ठेक्का र नियुक्तिका प्रपञ्च चलिरहेका छन्। हरुवालाई पालनपोषण गर्न, भत्ता र तलबको दुरुपयोग गरी राष्ट्र थप कंगाल बनाउने अभ्यास दिन दुई गुना, रात चार गुनाका दरमा बढिरहेको छ। बौद्धिक जगत् नाफा, घाटा विचार गरेर धारणा राख्छ। कागलाई कालो भन्नसमेत उनीहरू नेताको अनुमति पर्खन्छन्। दलका छाप नलागेकाहरूको अस्तित्व कसैले स्वीकार गर्दैन।
एकाइसौं शताब्दी भन्नु मात्र हो, हरिद्वार, देवघाट जाने बेलाका नेताको विकल्प देखिँदैन। अब त झन् अवकाशप्राप्त कर्मचारी वृद्ध नेताका गाइड बन्ने क्रम बाक्लिँदो छ। अझ अचम्म त के छ भने जल्दाबल्दा युवा तिनै क्षमता नभएका नेताहरूको हुक्के, ढोके र चम्चे भएर बाँच्नुपर्ने अवस्था छ। न नेताहरू ओगट्न छाड्ने, न युवाहरू हिम्मतसाथ अघि आउन सक्ने। बरु तिनै नालायक नेताले दिएको नम्बरमा उनीहरूको भाग्य र भविष्य निर्धारण हुने गरेको छ। प्रतिस्पर्धाको यो युगमा पनि सासू, सम्धी, सालासाली, पार्टी, भूगोल हेर्ने प्रचलन बढ्दो छ। मानौं राज्य आफ्नै बपौती हो।
नियम वा विषयअनुसार आचरण नगर्दा र लोभको कारणले हाम्रो मुलुकमा वर्तमान परिवेशमा अस्थिरता, अनिश्चितता, अराजकता, अनैतिकता, भ्रष्टाचार, गैरजिम्मेवारी र जवाफदेहिता अभावका कारण मुलुकमा सधैंभरि राजनीतिक अस्थिरताको कालो बादल मडारिएको छ। महान् हास्यव्यंग्यकार भैरव अर्यालले भुँडीपुराण गद्यमा समसामयिक राजनीतिक परिवेशलाई तिखो व्यंग गर्दै लेखेका छन्– चोरी र चाकरी नगरी चतुर्याइँ हुन्न। दंगा फसाद नगरे इज्जतै रहन्न। सोझा र सज्जन कभै नलिनु दलैमा। पार्टी चलाउन सधैं छल औ बलैमा।
राजनीतिक परिवर्तनको चर्को नारा लगाएर अवस्थाभन्दा व्यवस्था परिवर्तनमा हतार गरेका हामी नेपालीले अझै पनि बूढापाका नातिनातिनालाई आशीर्वाद दिँदा डाक्टर, इन्जिनियर बनेस् भनेर आशीर्वाद दिने चलन छ। देशको सबैभन्दा ठूलो व्यापारी नेता, धनीमानी नेता, विनामेहनत सम्पत्ति जोड्न सफल व्यक्ति हुन् नेपालका भष्ट नेताहरू तर पनि नेता बनेस् भनेर किन आशीर्वचन नआएको होला। सोचनीय प्रसंग छ। किनभने नैतिकताविहीन राजनीति लोभ र पापमा मुछिएको राजनीति ‘मै खाऊँ मै लाऊँ सुखसयल सब म गरूँ, मै बाचूँ, मै हाँसू, अरू सब मरून् दुर्वलहरू’ भन्ने मानसिकताको राजनीतिक नेतृत्व यसैकारण समाजमा राजनीतिज्ञहरूको सामाजिक मान र प्रतिष्ठा घट्दो क्रममा छ।
दुईतिहाइको सरकारलाई देखिने गरी काम गर्न कसले रोकेको छ ? स्थानीयदेखि प्रदेश, केन्द्रीय सरकारसम्मै सकेसम्म संवैधानिक नियुक्ति आफूमातहतका र कर्मचारी सबै तहमा काम गर्न सहज हुने गरी सेटिङमै मिलाएको हुँदा पनि कामले गति लिन सकेको छैन।
२०५३ मा पूर्वपञ्च राप्रपा थापा र कांगे्रसको संयुक्त सरकार थियो। यस्तै हाहाकार सृजना गरेर आपत्कालीन खरिदको निम्ति वातावरण सृजना गरियो। सरकारले भारतसँग जीटुजी प्रक्रियामा मल खरिद गर्यो। बजार मूल्यभन्दा धेरै महँगोमा खरिद गरेको थियो। तत्कालीन एमालेले यो विषयलाई लिएर संसद् अवरुद्ध गरेको थियो। उक्त मल प्रतिबोरा दुई केजी कम तौल र कम गुणस्तरको रहेको बेहोरा प्रमाणसहित बानका पूर्वअध्यक्षसमेत रहेका विष्णुहरि ढकालले तत्कालीन नवआवाज पत्रिकामा मुख्य समाचार प्रकाशित गरेपछि कृषिमन्त्री पद्मसुन्दर लावतीले राजीनामा दिएका थिए। यतिबेला मलको विषयमा प्रतिपक्ष मौन छ। कमजोर प्रतिपक्ष हुँदासमेत कामले गति लिन नसक्नुको पछाडि कमिसनसहित, कुण्ठा र कर्मचारीलाई मान्छे नगन्ने प्रवृत्ति हावी भएको देखिन्छ।
अहिले नेकपा दुईतिहाइको सरकार छ। आफ्नो देशमा कुन समयमा कति रासायनिक मल चाहिन्छ र कहाँबाट कसरी प्रबन्ध गर्ने भनेर समयमै काम नगरेर गरिब किसान र सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुर्याउँदासमेत कृषिमन्त्रीले राजीनामा दिनुभएको छैन। न त प्रतिपक्षले राजीनामा मागेको छ। कृषक आन्दोलित छैनन्, विद्यार्थी, बुद्धिजीवीलगायत मौन छन्। यस्ता थुप्रै विषयमा आम नागरिकले सरकारलाई मौन समर्थन गरिरहेका छन्। यस अथमा यो होइन कि जनता निरीह छन् , स्वर्गको टुक्राजस्तो देशलाई सिनोजस्तो बनाएपछि असह्य भएर जनताले चाहे भन्ने अर्को आन्दोलन पनि गर्न सक्छन्। अहिलेको निर्विकल्प भनिएका अनुहार कहाँ बिलाउँछन् ? इतिहासले पनि लेखाजोखा राख्न जरुरी ठान्ने छैन। भन्नलायक काम नगर्नेको उमेर पनि गन्नलायक हुँदैन।