वार्ताको तयारी भइरहँदा तालिबान आक्रमण, १६ सैनिक मारिए
काबुल : अफगानिस्तानमा तालिबान लडाकुको आक्रमणबाट कम्तिमा १६ सैनिक मारिएका छन् ।
देशको पूर्वी प्रान्त नान्गाहारमा रहेको सुरक्षा कार्यालयमा तालिबान लडाकुहरुले शुक्रबार आक्रमण गरेका हुन् । सरकारी अधिकारीहरुका अनुसार विद्रोहीहरुले तीन सुरक्षा कार्यालयमा आक्रमण गरेका थिए । द्वन्द्व समाधानका लागि आगामी आइतबारदेखि कतारमा वार्ता हुने तयारी भइरहँदा अफगानिस्तानमा तालिबानले हमला गरेको हो ।
यस घटनाले आसन्न वार्तामा असर पुग्नसक्ने बताइएको छ । यसअघि पनि वार्ताको पूर्वसन्ध्यामा तालिबान समूहले हमला गरेको थियो । अमेरिकासँग गत वर्ष भएको वार्ता अनुसार अमेरिकी सेना फिर्ता जाने र लडाकुले पनि हमला नगर्ने सम्झौता भएको थियो । तर दुबै पक्षले शर्त पूर्ण रुपमा पालना गरेका छैनन् । यद्यपि अफगानिस्तानमा झण्डै २० वर्षदेखि जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।