अवसादको असामाजिकीकरण

अवसादको असामाजिकीकरण

‘ऊ त सधैं मुस्कुराउँथ्यो मात्रै। कति मीठो थियो उसको मुस्कान। कसरी हुनसक्छ उसलाई डिप्रेसन ?’

केही भारतीय सञ्चारमाध्यममा अन्य समसामयिक विषयभन्दा एक मुद्दाले अहिले विशेष महत्व पाइरहेको छ। हिन्दी चलचित्रका अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु। माथिका वाक्य ती अभिनेताले आत्महत्या गर्नै सक्दैनन् भनी तर्कका रूपमा आएका हुन्, उनका आफन्तजन, परिवार, पूर्वप्रेमिका र फ्यानबाट।

सुरुमा त यो जमातले डिप्रेसनको कोण मानिरहेको थिएन। उपचारमा संलग्न मनोचिकित्सक उनको मेडिकल रिपोर्टसहित प्रस्तुत भएपछि ती मनोचिकित्सकको योग्यतामाथि प्रश्न गरिरहेको छ। यस मृत्युको केही दिनसम्म सबैजना स्वघोषित मनोरोग विशेषज्ञ भए। सामाजिक सञ्जालमा हजारौं ‘लाखौं’ फलोअर्स भएकाहरू विशेषज्ञताको प्रशिक्षण तथा प्रमाणपत्रबिनै काउन्सेलिङ गर्न थाले। कुनै शारीरिक रोग लागेका बेला उपचारका लागि विशेषज्ञबाहेक अन्यकहाँ नजाने हुल मानसिक रोगको उपचारका लागि भने यस्तै स्वघोषित विशेषज्ञको पछि लाग्न थाल्यो। हामीले मनोरोगलाई कति हल्काफुल्का रूपमा लिएका छौं भन्ने बुझ्न यही उदाहरण हेरे पुग्छ।

समयक्रममा यो घटना एक मृत्युमा मात्र सीमित रहेन। स्त्रीद्वेषी, जातिवादी, नश्लीय स्वरूप लिँदै गयो। व्यक्तिविशेषलाई इंगित गरेर चरित्र हत्या हुन थाले। र अहिलेको अवस्था हेर्दा यो मुद्दामा चाँडै पूर्णविराम लाग्ने सम्भावना पनि न्यून छ। केही दृष्टान्त हेरौं। प्राइम टाइमदेखि लिएर स-साना समाचारसम्मले अतिशय वर्णन गरिरहेका घटनालाई हेरौं। एक सीमित समूहमाथि बारम्बार व्यक्तिगत रूपमा भइरहेको आक्रमण हेरौं। उनीहरूको चरित्रमाथि भइरहेको प्रहार हेरौं। अनि यी सबै नजिकबाट हेरिसकेपछि सोचौं, यिनले समाजमा कस्तो सन्देश दिइरहेका छन्। के यी वास्तवमै अहिले प्रचलित ह्यासट्याग ‘जस्टिस फर सुशान्त सिंह राजपुत’ का पक्षधर हुन् ? कि अन्य मुद्दामा पनि आफूभन्दा भिन्न मत राख्ने समूहका कट्टर विरोधी ?

रिपब्लिक टेलिभिजनका प्रबन्ध निर्देशक तथा प्रमुख सम्पादक अर्णव गोस्वामीले यो मृत्यु आत्महत्या नभई हत्या हो भनी घोषणा गर्दिसके। हत्यारा को हो भन्ने जानकारी पनि दिइसके। हत्याको कारण त झन् अगाडि नै उद्घोषण गरिदिएका थिए। भारतको दक्षिणपन्थी जमातका लागि उनी नै प्रवक्ता हुन्। र, प्रधानन्यायाधीश पनि उनी नै। 

अहिले यो मुद्दा केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले हेरिरहेको छ। मुम्बई पुलिसले गरिरहेको अनुसन्धान पर्याप्त भएन, फितलो भयो भन्दै एक अभियान नै चलाएर सीबीआईलाई यो मुद्दा हस्तान्तरण गरियो। उक्त निकायले आफ्नो काम आफ्नै तरिकाले गरिरहेको छ। सम्पत्ति छानबिन भइरहेको छ। लागूपदार्थ प्रयोगको कोणबाट मुद्दाका अनेक आयाम खोतलिरहेको छ। तर, आफूलाई ‘ब्योम्केस बक्सी’ ठान्ने पत्रकार दिनहुँ चाहिने-नचाहिने कोण खोजिरहन्छन्। घटनासँग टाढाटाढासम्म सम्बन्ध नभएका व्यक्तिलाई ल्याएर जोड्छन् र फैसला पनि आफैँ सुनाउँछन्।

मृत्युको कारण जे पनि हुनसक्छ। बिस्तारै सत्यतथ्य बाहिर आउलान्। अहिलेका घटनाक्रम हेर्दा यो अझै तन्कने निश्चित छ। तर महिलालाई हेर्ने हाम्रो समाजको दृष्टिकोण कहिले फेरिने ? अनि मनोरोगप्रतिको ? आफूलाई प्रगतिशील भन्ने यसमा समाजले के गर्‍यो ? होमा हो मिलायो। ताली बजायो। थप घृणा ओकल्दै गयो।

यसबीच, यी च्यानलका प्राइम टाइममा कोरोनालाई लिएर एउटा मात्र विमर्श भयो। जीडीपी अहिले जति न्यून कहिल्यै भएको थिएन तर त्यसबारे छलफल नै भएन। हरेक दिन नश्ल र जातलाई लिएर सानाठूला दंगा भइरहन्छन्, समाचारमा पीडककै पक्षमा वकालत गरिन्छ। समग्रमा हेर्दा यी सबै समस्याको ‘इस्केपगोट’का रूपमा एक महिलालाई उभ्याइयो। यस्तै केही सीमित पत्रकारको समूहले केही समय अघिसम्म ‘ब्लाइन्ड आइटम’ लेख्थ्यो। 

समाचारमा नाम लेखिएको हुँदैन तर सबै विवरण एक व्यक्तिविशेषलाई ठ्याक्कै मिल्ने गरी दिइन्छ। सुशान्त पनि भएका थिए त्यसको सिकार। एकपटक होइन, पटकपटक। मान्छे जीवित रहुन्जेल त्यस्ता ब्लाइन्ड आइटमले उनलाई पुगेको असरबारे संवेदनशील नहुने र उसले छोडेर जानेबित्तिकै राजनीतिक स्वार्थका निम्ति त्यसैलाई हतियार बनाउने यो समूहजति विषाक्त अरू केही छैन।

विधानसभाको चुनाव नजिकिँदै गर्दा बिहारमा भारतीय जनता पार्टीले आफ्नो प्रचार गर्ने क्रममा गेरुवा पृष्ठभूमिमा सुशान्तको मुहारचित्र अंकित पोस्टर नै सार्वजनिक गरिसक्यो। उनको नाम लेखिएका मास्क र टिसर्ट बाँड्न थालिसक्यो। यस अभियानको मुख्य हर्ताकर्तामध्ये एक हुन्, पद्मश्रीधारी अभिनेत्री कंगना रणावत। ‘नेपोटिज्म’ को विरोध हुनुपर्छ, यसका आडमा राम्रा कलाकारको भाग खोसेर आफ्नालाई दिन मिल्दैन भन्ने उनको तर्क जायज हो। तर त्यही तर्कका आडमा मनोरोगबाट गुज्रिरहेका व्यक्तिलाई ‘पागल’ र थोरै चलचित्रमा देखिएका अभिनेत्रीलाई ‘बी ग्रेडकी नायिका’ भनी लेबल लगाउने कार्यलाई कुनै पनि हालतमा न्यायसंगत मान्न मिल्दैन। अन्य जात र धर्मका व्यक्तिमाथि हरेक दिन सार्वजनिक रूपमा वाणीविष ओकलिरहेकी छन्। हिन्दूत्वको ध्वजावाहक यी नायिका भाजपाको आईटी सेलले बालेको आगोमा घिउ मात्र थपिरहेकी छन्। 

दक्षिणपन्थको गुनगान गाउने यो समूहलाई आखिर यो सब शक्ति कहाँबाट प्राप्त हुन्छ ? किन हरेक मुद्दामा घुमाइफिराइ अन्तिममा एउटै समूहलाई कारक बताइन्छ ? किन सामाजिक सञ्जालमा एकै थरीका व्यक्ति आक्रमणमाथि आक्रमण गरिरहेका भेटिन्छन् ? उत्तर जगजाहेर छ। यो घिनलाग्दो खेल कलाकारहरूको मुख्य गरी नायिकाहरूको चरित्रहत्याबाट सुरु भयो। बलिउडमा आफ्नो बलबुतामा राम्रो स्थान बनाएका सुशान्त सिंह राजपुतप्रति भएको भनिएको अन्यायको प्रतिरोध अभिनेत्रीहरूलाई बलात्कार र हत्याको धम्की दिएर गर्न थालियो। आफ्नालाई काखा, अन्यलाई पाखा गर्ने बलिउडमा व्याप्त ‘नेपोटिज्म’को विरोधमा उत्रिएको जमातले यस विषयमाथि तार्किक प्रस्तुतिको विकल्पका रूपमा चरित्रहत्यालाई लियो। 

आक्रोशको परिधिमा शिष्टता अटाउँदैन भनी वकालत गर्ने जमातले चरित्र हत्या, बलात्कार र ज्यान मार्ने धम्की पनि अटाउँदैन भन्ने बुझ्न आवश्यक छ। तर त्यसैलाई वैधता दिन लागिपरेका छन् केही सञ्चारमाध्यम। ‘सम्बन्ध सुरु भएको दुई दिन नबित्दै सुशान्तसँगै बस्न थालेकी थिइन् रिया चक्रवर्ती’ भन्दै परिवार र मिडिया अभिनेत्री रियामाथि जाइलाग्यो। त्यसका साथै दिइयो, उनलाई ‘गोल्ड डिगर’ को पदवी। कोसँग प्रेम गर्ने, कोसँग नगर्ने। प्रेमको दायरा तथा सीमा कसरी निर्धारण गर्ने भनी सिकाउन लागिपरे ‘संस्कार’ का यी ठेकेदार।

 मृत्युको कारण जे पनि हुनसक्छ। बिस्तारै सत्यतथ्य बाहिर आउलान्। अहिलेका घटनाक्रम हेर्दा यो अझै तन्कने निश्चित छ। तर महिलालाई हेर्ने हाम्रो समाजको दृष्टिकोण कहिले फेरिने ? अनि मनोरोगप्रतिको ? आफूलाई प्रगतिशील भन्ने यसमा समाजले के गर्‍यो ? होमा हो मिलायो। ताली बजायो। थप घृणा ओकल्दै गयो। यो त्यही समाज हो जसले हरहमेसा मुस्कुराइरहने मानिस पनि डिप्रेसनबाट गुज्रिरहेको छ भनी स्वीकार्न सक्दैन। र, यही समाजका लागि यहाँ व्याप्त हरेक समस्याको मूल कारक स्त्रीको चरित्र हो।

जबसम्म यो सोच हाम्रा परिवारमा व्याप्त छ, हामी वरिपरिका पुरुष आफ्ना भावनात्मक कमजोरी साझा गर्न डराइरहनेछन्। र, गुम्सिँदै जानेछन् त्यसैमा। तर, यहाँ कुरा एक जनामा मात्र सीमित रहेन। यही मानसिकताले ओकल्न थाल्यो, नश्लीय विष। त्यसपछि ‘बंगाली केटीहरू यसरी नै केटालाई फसाउँछन्’, ‘बंगाली र बिहारी एकअर्कालाई देखिसहँदैनन्’ जस्ता कुतर्क आउन थाले। र यिनको समर्थनमा उत्रियो उही पुरानै ताँती। यो घटनालाई तन्काइरहेका समाचार संस्थाका रिपोर्टिङ हेरौं। रिया वा उनका परिवारका अन्य कोही कति बेला घरबाट बाहिर निस्किएलान् र घेरौंला भनी चौबीसै घण्टा उनको घरको तल ढुकेर बसिरहन नैतिकताका कति बाँध उल्लंघन गरे यिनले ? उनी निस्कनेबित्तिकै सही-गलत नसोची झम्टने, अनावश्यक रूपमा छुनेमाथि किन कारबाही हुँदैन ? नैतिकताभन्दा अगाडि टीआरपीलाई राखेर हेर्ने यही हुल अझै भन्दैछ, ‘सी डिजभ्र्स इट।’

समाचारका प्रवृत्ति हेरौं। ‘ध्यान से देखिए। रिया ने किया सुशान्त पे काला जादु।’ बिहारका जनता दलका नेता महेश्वरी हजारीले रिया ‘विषकन्या’ भएको मन्तव्य दिए। सुशान्तका पिताको सोच पनि यीभन्दा भिन्न देखिएन। यिनै सन्देश उद्धृत गर्दै रियाका विपक्षमा बयान दिए। छोरा आफूसँग कम कुरा गर्न थाल्यो, दोषी उसकी प्रेमिका। छोरालाई आफ्नै ‘स्पेस’ चाहियो, दोषी उसका साथी। बच्चा हुँदा सधैं खुसी देखिन्थ्यो। अहिले कसरी डिप्रेसन भयो ? हुनै नसक्ने कुरा। हाम्रो सोचको स्तर जहीँको त्यहीँ छ।

लामो समयअघि नै सुशान्तसँग छुट्टिएर आफ्नो बाटो लागेकी सुशान्तकी पूर्वप्रेमिका अंकिता पनि त्यही भीडसँग आवाज मिलाउँदै छन्। उनी पनि सुशान्तलाई डिप्रेसन हुनै नसक्ने अडान लिएर बसेकी छन्। यही समूह एक महिना अघिसम्म अंकिता र सुशान्त छुट्टिएपछि सुशान्त डिप्रेसनमा पुगेको दाबी गर्दै हिँडेको थियो। मृत्युपश्चात् सुशान्तको फोटो सामाजिक सञ्जालमा किन नराखेको भन्दै अंकितालगायत अन्य कलाकारलाई तथानाम भन्दै थियो यो समूह। कन्स्पिरेसी थिअरी सयौं आइसके। हरेक दिन केही कन्स्पिरेसी थिअरी त रिपब्लिक टीभी नै प्रसारण गर्छ। कहिले कुकुरको बेल्टले बाँधेर मारेको, कहिले विष खुवाएर मारेको त कहिले हातैले घाँटी थिचेर मारेको भन्दै हरेक दिन नयाँ कथा भट्याइरहेका छन् यी। जे भने पनि स्वीकार गरिदिने यहाँका मध्यमवर्गीय टीभी प्रयोगकर्ताको दिमाग भुट्न साह्रै सजिलो छ भन्ने बुझेका छन् यिनले।

एक वयस्क पुरुषले कोसँग कुरा गर्ने-नगर्ने, कसको कुरा सुन्ने-नसुन्ने निर्धारण एकजना व्यक्तिले मात्र गर्न सक्छ। र त्यो हो ऊ स्वयं। अन्तरिक्षमा रकेट पठाएर अझै ढुंगे युगमा बाँचिरहेको हाम्रो समाजले यो तथ्य स्वीकार गर्न कति समय कुर्नुपर्ने ? मृत्युपश्चात् सुशान्त सिंह राजपुतको एक चलचित्र आयो, दिल बेचारा। ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रूपान्तरण। सुशान्तको देवत्वकरण गर्न थालियो। चलचित्र राखिएको प्लेटफर्म डिज्नी हट स्टारमा यसले टन्नै भ्युज बटुल्यो पनि। रेटिङ पनि उम्दा पाउँदै गयो। तर तीन-चार दिनपछि सुरु भयो, उही अड्कलबाजीको खेल। उही नश्लीय द्वेष। अनि, एक व्यक्तिको न्यायका लागि अन्यको चरित्र हत्या गर्ने शृंखला। 

यो त्यही सार्वजनिक वृत्त हो, जसले अरू बेला ‘औसत’ कलाकार मानी सुशान्तका चलचित्र खासै हेर्दैनथ्यो। यही मानसिकताको फाइदा उठाउँदै ठूलादेखि साना केही व्यापार गृह उनको वस्तुकरण गर्नसमेत पछि परेका छैनन्। मेरो छात्रावासबाट केही किलोमिटर पर ‘सुशान्त लिट्टी चोखा सेन्टर’ नाम दिई एउटा ठेलामा बिहारी परिकार बेचिरहेका एक व्यक्ति अहिले आफ्नो व्यापार आकासिएको बताउँछन्। पहिले त्यही ठेलामा उनी ‘वेङ्कटेश्वर इड्ली, डोसा, बडा’ सेन्टर लेखी दक्षिण भारतीय परिकार बेच्थे। मलका भित्तामा उनका तस्बिर, उनले कहिल्यै नखेलेका विज्ञापनमा उनका तस्बिर, क्लबमा उनका गीत, जिममा उनका पोस्टर। ‘जस्टिस फर सुशान्त’ लेखिएका टिसर्ट यत्रतत्र। व्यापार गृहहरूलाई राम्ररी थाहा छ, यहाँ के बिक्छ। यहाँ भावना बिक्छ। दक्षिणपन्थको शक्ति पनि यही भावना हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.