चम्कायौ नेपाल यो
जन्म्यौ भारत देशमा हरि तिमी आषाढको मासमा
भोग्दै दुःख अनेक अक्षर चिन्यौ खेल्दै सदा गाउँँमा
बाँड्यौ ज्ञान अनेक खेलकुदका सङ्गीतका साथमा
उर्ल्यो भेल बनी सुरम्य प्रतिभा साहित्यका फाँटमा
बुझ्दै जीवनको विशेष पथमा सत्कर्मको भावना
भाषा वाङ्मयको सुरक्षण सँगै गर्दै गयौ सिर्जना।।२।।
लेख्दै गीत कथा र काव्य रसिला सौन्दर्यका नाटक
नेपाली जनका बुझी मन सदा हौ काव्यका पालक
लेख्छौ मार्मिक बोधगम्य सृजना माधुर्यले पूर्णता
फैलाई जनचेतना शिखरमा पुग्दै बस्यौ सर्वदा।।३।।
कोरी चित्रकला अमूर्त अथवा त्यो मूर्त आकारमा
थाल्यौ नाटक दिव्य मञ्चन सदा त्यो भूमि आसाममा
पीडाका अनुभूति निम्न जनका पोख्यौ सबै वेदना
नारी शोषणका विरुद्ध सबमा भर्दै गयौ चेतना।।४।।
दर्सायौ जनभावना र ममता लेखेर ती काव्यमा
बाल्यौ दीप विशाल ज्ञानलहरी चिर्दै अँध्यारो यहाँ
बाँच्यौ नित्य सचेतना सहितको खोजी गरी सर्वदा
लेख्यौ भिन्न नवीन धार अडिई विद्रोह गर्दै सदा।।५।।
आफ्ना जीवनबोधका सब कुरा देखे सुनेका जति
झल्काई मनभाव मर्म सहजै लेख्यौ अनेकौं कृति
भोग्दै कष्ट अनेक जीवन बित्यो खोज्दै खुसी देशको
चम्कायौ कवि काव्यकर्म मनले साहित्य नेपालको।।६।।