श्रद्धाञ्जली निर्मला
प्रिय निर्मला,
आज पनि उस्तै छन्, तिमीप्रतिको माया जति गरे पनि कम छ। खाटा बस्न नसकेको घाउ र नुनचुक बनेर तर्साइरहने डरलाग्दा खबरहरूले निरन्तरता निर्वाह गरिरहेका छन्। यो मानसपटलमा ओझेल हुन नसकेको तिम्रो छवि र तिमीसँग घटेको घटनाको असर आलो बनेर खट्किरहन्छ अनि बिथोलिरहन्छ मस्तिष्क। जीवनको तेह्र वसन्त हिँड्दै गरेकी तिमीलाई बलात्कारपछि हत्या गरिएको पनि महिनौं बितिसकेको छ। थाहा छैन, तिम्रो न्यायका लागि हामीले अझै कति महिना कुर्नुपर्ने हो।
केही पुरुषको विकृत मानसिकताबाट जन्मेको कुकृत्यद्वारा निमोठिएको तिम्रो कोपिला जीवन उजाड्ने यौन पिपासुको भत्र्सना जति गरे पनि कमै हुन्छ। कति कति बेला लाग्छ कि भत्र्सना गर्ने शब्द नै छैन। विषाक्त बनिरहेको वर्तमानमा तिमीजस्तै धेरै निर्मला असुरक्षित छन् र घाइते पनि। घटनाको निरन्तरतामा समयलाई मुठीमा लिएर थिचेको तिम्रो कलिलो शरीरबाट उठेको प्राण र निष्प्राण शरीरको कल्पनाले जो कोही स्तब्ध भए हामी अभिभावक त्यसै यसै चिसा भयौं। मरेसरह आभास गरिरहेछौं। तनाव झेलिरहेछ मस्तिष्क, गाँठो परिरहेछ मन। यस्तो कहालीलाग्दो कुकृत्यप्रति मानवीयता र न्यायको आवाज लगाएर साराका सारा उठ्यौं। तर, आकाश छेडेर विश्व मानवतालाई तरंगित पारेको हाम्रो आवाजले तिमीलाई न्याय दिलाउन सकेन। त्यसप्रति साह्रै दुःख लाग्छ र त्यो घाउ अझै बल्झिरहन्छ, मल्हमको आशा गरेर।
रोकिएका छैनन् निर्मला ! अहिलेसम्म पनि अनवरत तिम्रा लागि उठाइएका न्यायका आवाज। रोकिने छैनन् सायद तिमीले न्याय नपाउन्जेल। सृष्टिको यो फूलबारी सबैको साझा हो। आफ्नो आयुभरि निर्धक्क जन्मन, हुर्कन र बाँच्न पाउनुपर्ने मानिसको नैसर्गिक अधिकार हो। लागू हुँदैन तिमीजस्ता छोरीहरूमा तर। मानवले मानवत्व छोड्छ भने त्यसको सघन उपचारको व्यवस्था किन गर्न सक्दैन व्यवस्थापनले। छोरीका लागि आफ्ना, आफ्नै आँगन असुरक्षित र आफ्नै आकाश डरलाग्दो किन बन्छ ? प्रकृतिको संरचना र मानव सभ्यताको खिल्ली उडाएर मानवले कलंकलाई सर्वनाम बनाउँछ र बलात्कार गरी कस्तो सन्तुष्टि लिन्छ त्यो पौरुषत्वले ? जो आमाकै स्तन चुसेर हुर्केको हुन्छ, बहिनीबाट टीका, श्रीमतीबाट माया र छोराछोरीलाई काखमा खेलाएको हुन्छ। अचम्म लाग्छ, कसरी निमोठ्छ कोपिला ?
निर्मला ! अक्षम्य अपराध भएर निमोठिएको तिम्रो सास र कलिलो वय सम्झँदा हृदय थरथर काप्छ। अन्योल समयका कहालीलाग्दा खबरअघि हृदय शिथिल हुन्छ। असाध्यै डरलाग्दो भएको थियो र भइरहेको छ। पुरुषलाई समाजको एउटा सदस्य हुनुमा लज्जाबोध गराउने यस्तो पीडक परिभाषायुक्त शब्द ओठसम्म नल्याउन पाए पनि हुन्थ्यो। किनकि पुरुष नारी सृष्टिका बराबर र सुन्दर आधार हुन्, जसले संसार स्वर्ग बनाउँछन्। हो निर्मला ! तिम्रो न्यायका लागि साराका सारा आवाज एकजुट भयौं। गाउँ गाउँ, सहर-दुर्गम साराले न्यायको माग गर्दै आवाज उठाइरह्यौं। मिडियामा खबरदारी गरिरह्यौं, न्याय न्याय भनेर न्यायालय गुहारिरह्यौं।
तथापि सांसद संसद् चलाइरहने, नेता भाषण गरिरहने, जनता पीडामा छट्पटाउने तर दोषीको केही खबर नल्याउने। अन्योलमा छोरीहरूले अब के गर्ने ? आफ्नै आँगन र बाटो डरलाग्दो भएपछि ! आफ्नै फूलबारी र पिँढी असुरक्षित बनेपछि। हामीले कुन युगको पुनरागमन भयो भनेर सम्झने। आज मलाई पौराणिक पात्र परशुरामको सम्झना आइरहेछ, जसले अन्यायको विरोधमा २१ पटक पृथ्वीका क्षत्रीहरूको नाश गरेर पृथ्वीलाई क्षत्रीशून्य बनाएका थिए। यो धर्तीलाई त्यसैगरी बलात्कारी मुक्त बनाउन पाए ?
बलात्कार र बलात्कारजन्य घटनाका दोषीहरू कानुनको कठघरामा आउन र ल्याउन नसक्नु नियति हो कि कानुनको दोष ? लाग्छ, अधिकारका कुरा गर्नेहरू पनि आफ्नै अभिष्ट पूरा गर्दैछन् र जस्केलोबाट उम्काउँदै छन्, यौन दुराचारमा संलग्न अपराधी। सबैको यही चाहना हो, यौन शोषण र बलात्कार गर्नेलाई कानुनी दण्ड होस्। पीडितले न्याय पाओस्। तिम्रो आत्माले न्यायको फिराद लेख्नेलाई सद्बुद्धि देओस्।
तिम्रो बलात्कार र हत्याको खबरका प्रत्येक लाइनले चिच्याए, प्रत्येक अखबारका शब्द शब्द कामे, प्रत्येक खबर पढ्ने र सुन्ने थरथरी भयौं। छोरीका कलिला मुहारभरि तिम्रो प्रतिछायाले सबैलाई तर्सायो। लाछी र कायरले गरेको अपराधको सुनुवाइ होस् र तिम्रो आत्माले शान्ति पाओस् भनी नारा र जुलुस गर्यौं। पीडित मानव समुद्रले राणाकालीन पर्खाल भत्काएकै हो, शाहकालीन साङ्लाहरू पनि तोडेको थियो। तर खै के थियो कुन्नि ! हाम्रो आवाजमा दम नै थिएन वा मानौं बलात्कार न्याय दिने विषय नै होइन। यसको सुनवाइ पनि जरुरी छैन। के बलात्कार, हत्या जस्ता निर्मम घटना सामान्य हुन् त ? कि हामीले मागेको न्यायिक मागको अवधारणा गलत थियो ? सयौं निर्मलालाई असुरक्षित र अपराधीलाई अझ सुरक्षित वातावरण किन ? सारा जनता एकातिर न्यायालय अर्कातिर।
विकासले बाँकी नराखेको र विज्ञानले ग्रह नक्षत्र नापेको यस समयमा हामीले भने छोरीचेलीको जीवन असुरक्षित महसुस गर्नु सभ्यतामूलक चुनौती नै हो। पुस्तौंपुस्ताका जीवनको मानवीय मूल्य र मान्यताको समावेशीय उपक्रम हो यो समाज। अहिंसा, करुणा, सहानुभूति, भ्रातृत्व, अपनत्व मानिस मात्रको गरिमाका लागि सम्मानको भावना र मानवता प्रतिष्ठित गर्ने एक प्रशोधनात्मक सामाजिक परियोजना पनि हो। यस्ता हृदयविदारक घटना बलात्कार, हत्या र हिंसाले हाम्रो सहानुभूति अहिंसा तथा मानिसप्रति हुने संवेदनालाई प्रायः समाप्त गर्छ। त्यस्ता घटनाले आक्रोश, रोष र मानवीय व्यवहारप्रति घृणा भर्छ। यो भनेको समाजिक अनुशासन र मर्यादालाई चुनौती दिनु नै हो। सामाजिक सन्तुलनमा असर पार्नु हो। यस्तो किन भइरहेको छ ? सामान्यभन्दा सामान्य घटना जस्तो गरी दिनहुँ अखबारमा कामिरहेका अक्षरहरूले केको पुष्टि गराइरहेका छन् ? समय किन यति धेरै निर्मम छ निर्मला ?
किन तिमीलाई फक्रन, फल्न र फुल्न, बाँचुन्जेल आफ्नै सुवासले आफ्नै घरआँगन मगमगाउन दिएन ? अक्षम्य अपराधको कारबाही किन हुँदैन ? के माग्छ बलात्कार र हत्याको विरुद्धमा समयले ? चिच्याई-चिच्याईकन किन मौन हुन्छन् आवाजहरू ? आकाश छेड्ने विद्रोही स्वर किन सम्बन्धित निकायले सुन्दैन र दिँदैन न्याय ? बलात्कार र हत्या जस्ता कुरामा आमनागरिकले न्याय माग्नु पनि कति लज्जास्पद छ ? कानुन, नियम, सीमा र परिधिमा बसेका देशवासीलाई विकृत मनोदशाको निर्ममताले समाजको एक पुरुष हुनमा लज्जाबोध पक्कै गराउला तर निर्मला तिमीलाई न्याय खै ? कलिला निर्मलाहरूको बलात्कारले अरू बालिकामा हुने मानसिक भय, यातना, आमाबाबुको अवस्था, दाजुभाइको सोचाइ कति पीडादायी हुन्छ होला।
यौनविकृत पुरुषत्वको घमण्ड गर्ने बलात्कारीले यही समाजको एक सदस्य छोरा, भाइ, साथी, श्रीमान् र बाउको ठाउँमा बस्दै बलात्कारका सिकार भएका निर्मलाहरूको आफन्त आफू हुँ भन्ने कल्पना गर्न किन सक्दैनन् होला ? फक्रन नपाएका कलिला कोपिलालाई लछारपछार पारी निमोठ्न हात कसरी कापेन ? जीवन रक्षाको प्रतिकारमा याचनाका तिम्रा हाउभाउअघि तिम्रो आवाज थुन्न अगाडि बढेका हातहरू। निर्मला यति बेला मेरो कलम थरथरी काँपिरहेछ र रसाइरहेका छन् आँखा। धिक्कार होस् ! मानिसको जन्मलाई बदनाम गर्ने सृष्टिको सुन्दर फूललाई निमोठेर कस्तो तिर्खा मेट्छ मान्छे। छोरीहरूलाई हजुरबा, बा, काका, मामा र दाजुभाइमा भर नगर्नू है भनेर सिकाउन कसरी बोली फुटाउनू ? यी नाता कति प्रिय छन् हामीलाई त
जुन नाताबिना खै कता हुन्छ र परिवार ?
कुल जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिला भएको यो देशमा धेरै ठूला ठूला राजनीतिक परिवर्तन आएका छन्। महत्वपूर्ण भूमिका निर्वाह गरी निर्णायक बिन्दुमा पुर्याउने नेपाली महिलाका जीवन र मर्यादामा उल्लेख्य परिवर्तन भने आउन नसकेको यस समयमा पीडकलाई कानुनको दायरामा नल्याउनु लज्जास्पद हो। क्रान्तिको ज्वाला बोकेर देशलाई समृद्ध बनाउन भूमिगत भएर जंगल पस्ने दिदीबहिनी उपल्लो ओहदामा पुगेर मौन बस्नुको कमजोरी कम लाजमर्दो छैन। लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको देशमा केन्द्रदेखि स्थानीय व्यवस्थापन निकाय छन्। तथापि निर्मलाहरू असुरक्षित छन् किन ?
पत्रपत्रिका, टेलिभिजन, सामाजिक सञ्जालले दिनहुँ दिइरहने बलात्कार र हत्याका समाचारले हामीलाई जड बनाउँछ। बलात्कार र हत्याजस्तो अपराधका लागि दिने सजायका लागि हामीले कसैको आज्ञा पर्खनु पर्छ र ? बलात्कार शब्द आफैंमा कति भयावह लाग्छ भने कल्पनाले पनि शरीर जिरिंग हुन्छ। सास रोकिएझैं हुन्छ। वर्तमानमा पालैपालो लुछिएका र मारिएका निर्मलाहरूका घटनाका बारेमा सुन्छौं, हेर्छौं र निरीह बनेका छौं। सभ्यतामा पर्ने प्रभावबारे सोच्न आवश्यक छैन र हामीलाई ? निर्मला कति गाह्रो भयो होला तिमीलाई एक मुठी सास फ्याँक्न, कति आधार खोज्यौ होला त्यही प्राण बचाउन ? ओहो ! कति छटपट भयो होला त्यो देहमा ?
सामाजिक तथा कानुनी रूपमा जघन्य अपराध हो, बलात्कार। बलात्कार र हत्या अक्षरका संयोजनलाई शब्दकोशबाट निकाल्न पाए ? अनि निकाल्न पाए विकृत पुरुषको मानसिकताबाट ! एकअर्काका पूरक प्रकृति पुरुष संसारको सिर्जनाकर्ता, संरक्षणकर्ता। एकअर्काको इज्जतमा र सम्मानमा मुस्काइरहन्छ यो संसार। यस्तो सुन्दर संसारको सौन्दर्यलाई खलबल्याउने अधिकार कसैको छैन। आफ्नो जीवन आफ्नै मनलागी फुल्न, घुम्न, हुर्कन, बढ्न र बाँच्न पाउनुपर्ने माग गर्नुपर्ने आजको शताब्दीलाई कस्तो संज्ञा दिने ? बाँच्न पाउनुपर्छ, न्याय पाउनुपर्छ भन्ने आवाज कुन समयको माग हो ? निर्मला ! आज हाम्रो आवाज मात्र दबिएको हो, तथापि हाम्रो आवाज बोलिरहेकै छ न्यायका लागि।
असंवेदनशीलताको हदमा तिम्रो श्वास निमोठेसरह न्यायका आवाजलाई निमोठिरहन पक्कै सक्दैन समयले। हाम्रो आवाज थाक्दैन र छोड्ने छैन तिम्रा लागि न्याय माग्न। दिन-प्रतिदिन बढ्दो दण्डहीनताबाट यस्तो जघन्य अपराधमा संलग्नले उन्मुक्ति पाइरहेछ यी न्यायालयहरूमा देखिएको संवेदनहीनता लज्जास्पद र चिन्ताजनक पक्कै छ। बलात्कार र बलात्कारजन्य घटनाका दोषीहरू कानुनको कठघरामा आउन र ल्याउन नसक्नु नियति हो कि कानुनको दोष ? लाग्छ, अधिकारका कुरा गर्नेहरू पनि आफ्नै अभिष्ट पूरा गर्दैछन् र जस्केलोबाट उम्काउँदै छन्, यौन दुराचारमा संलग्न अपराधी। सबैको यही चाहना हो, यौन शोषण र बलात्कार गर्नेलाई कानुनी दण्ड होस्। पीडितले न्याय पाओस्। तिम्रो आत्माले न्यायको फिराद लेख्नेलाई सद्बुद्धि देओस्।
गम्भीर प्रश्न यौन विकृत र ग्रसित मनोविकारको उपचार कसरी गर्ने ? बलात्कारमुक्त समाज कसरी बनाउने ? यस्तो अवस्थामा न्याय दिन नसक्ने सरकारको आशा कसरी गर्नु खै ? अति भयो अब। भयरहित बाँच्न, हाँस्न पाउनुपर्छ। वर्तमानमा क्रूर समयको चित्कारबाट निस्केर निर्धक्क श्वास फेर्न चाहन्छन् निर्मलाहरू। आयुभरि भयरहित बाँच्न चाहन्छन् उनीहरू।
मौनताका धेरै अर्थ लाग्छन् तर चित्कारको यौटै। मौनतामा पीडित समयको क्रन्दन अझै बढी लेख्न शब्द आएनन्, कलम सरेन तर पोखिन बाँकी धेरै छन्। बिनाकसुर पुरुषद्वारा मौन ढुंगा बनाइएकी अहिल्या, फेरि पुरुषद्वारा नै ब्यूँत्याइएकी दण्डहीन कथाका विचित्रलाग्दा प्रसंगलाई नौलो नमान्ने प्रचलनमा बलात्कारित समयको अति कमजोर कानुन व्यवस्था र पीडा समयको असहयमा लज्जित मानवीयताको छेवैमा सहश्र आँसुले श्रद्धाञ्जली तिमीलाई निर्मला ! हृदयका आगोहरू तिमीले न्याय पाएपछि मात्रै निभ्नेछन्।