‘सीप पनि बिकेन, अब कसरी बाँच्ने ?’
महोत्तरी : गौशाला– १२ कान्ति बजारकी ५३ वर्षीया सावित्री मल्लिक डोमका घरमा खाने अन्नको जोहो गर्न नसकेको महिनौं भइसक्यो। कोरोना कहरका कारण बाँसका डाला, पंखा बुनेर बेच्ने पुख्र्यौली पेसा ठप्प भएकाले छाक टार्नै मुस्किल भएको छ।
‘लकडाउन बढ्दो छ। गरिबलाई राहत बाँड्ने छाँटकाँट देखिँदैन’, उनले भनिन्। सावित्री कोरोना कहरले थलिएकी एक प्रतिनिधि पात्र मात्रै हुन्। पूर्व–पश्चिम राजमार्गस्थित लक्ष्मीनियाँ जंगलबाट करिब ८–९ किलोमिटर जंगलको बाटो छिचोलेर दक्षिण लाग्दा उनको दैलोमा पुगिन्छ। बाँके खोला किनारस्थित पीपलको रूखमुनि रहेको फुसको घरमा उनी आफ्ना नातिनी सुस्मिता र संगीतालाई पुख्र्यौंली सीप सिकाउँदै थिइन्। नाति नितेश लेखपढ गर्दै थिए। ‘बाँच्नलाई पनि सीप सिकाउनै पर्यो नि’ उनले भनिन्। सावित्रीले गरिबीको पीडा मात्र होइन छुवाछूतजस्तो सामाजिक विभेद पनि खप्नु परेको छ।
उनका छोरा उमेश साउदीमा छन्। कोरोना कहरले उनी पनि काम नपाएर बसेका छन्। विदेश जाँदा महाजनसँग लिएको ऋण तिर्ने कुनै उपाय छैन। स्वदेश फर्किन हातमा रुपैयाँ पनि छैन। उमेशकी श्रीमती ससाना तीन सन्तान छाडेर अर्कैसँग हिँडेकी तीन वर्ष भइसक्यो। त्यसपछि साना नानीहरू हुर्काउने जिम्मा सावित्रीका काँधमा आइलाग्यो। उनी भन्छिन्, ‘लकडाउनले एक सुको कमाइ छैन। नातिनातिनी हुर्काउन कठिन भइसक्यो।’ उनकी नातिनी सुस्मिता १० वर्षकी भइन्। संगीता र नितेश क्रमशः ९ र ५ वर्षका भए। सावित्रीले दुःख गरेर नातिनातिनालाई पढाउँदै छिन्। लकडाउनले स्कुल बन्द हुँदा उनीहरूले पढ्न पाएका छैनन्।
‘बाँसका डाला, पंखा बेचेर गुजारा चलाउँथ्यौं। लकडाउन भएपछि बिक्नै छाड्यो। अब कसरी बाँच्ने ? ’ उनले भनिन्। सरकारले गरिबका बारेमा सोचेको छैन। पेटभर नखाएको ६ महिना भइसक्यो।’ भोकै मरिएला भन्ने चिन्तामा डुबेकी सावित्रीले सरकारसँग गुनासो गरिन्। ‘कोरोना भाइरस लाग्छ, भाग भन्दै खेदाउँछन्। सीप बेच्न पाइएको छैन।’