अमेरिकी चुनावमा साइबर आक्रमण नगरेको चीनको स्पष्टिकरण
बेइजिङ : चीनले अमेरिकी चुनावमा साइबर आक्रमण गरेको आरोप अस्वीकार गरेको छ ।
माइक्रोसफ्टले चीन, रुस र इरानबाट अमेरिकी चुनावी अभियानमा साइबर आक्रमणको प्रयास भएको आरोप लगाएको थियो । तर चीनले आफ्नो संलग्नता नभएको स्पष्टिकरण दिएको हो । साथै चीनले माइक्रोसफ्टलाई ‘नक्कली’ र ‘समस्या पैदा गर्ने’ कम्पनीको रुपमा टिप्पणी गरेको छ ।
‘अमेरिकी राष्ट्रपतीय निर्वाचन अमेरिकी आन्तरिक मामिला हो । यसमा हस्तक्षेप गर्ने हाम्रो रुची छैन । र हामीले कहिल्यै हस्तक्षेप गरेका छैनौँ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता झाओ लिजिआनले भनेकी छन् ।
विश्वका दुई शक्तिशाली देश चीन र अमेरिका यतिबेला व्यापारका लागि एक जटिल संघर्षमा फसेका छन् । कोरोनाभाइरसको सिर्जना, सुरक्षा तथा प्राविधिक सुरक्षा लगायत मुद्दामा उनीहरु आरोप प्रत्यारोपमा छन् । झाओले शुक्रबार अमेरिकी प्राविधि कम्पनीहरुबाट उच्च सतर्क हुनुपर्ने भन्दै चेतावनी समेत दिइन् ।