भारतबाट फर्किएकालाई माहुरीका घार
सन्धिखर्क : अर्घाखाँचीको सितगंगा नगरपालिका वार्ड नं ५ जुकेनमा कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट फर्किएका २० घर परिवारलाई आधुनिक माहुरीका घार प्रदान गरिएको छ। जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौषमी प्रवासी कामदार २० जनाको परिवारलाई पाँच वटाका दरले आधुनिक माहुरीका घार १ सय वटा वितरण गरेको हो।
परिवार पाल्न भारतमा गएको समयमा कोरोनाले घरमा फर्किएका परिवारलाई आयआर्जनमा सहयोग पुगोस् र घरको खर्च धान्ने माध्यम बनोस् भनेर माहुरीका घार वितरण गरेको सितगंगा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष कमल पौडेलले बताए। अति विपन्न परिवार र आम्दानीको श्रोत पनि केहि नभएकोले यी परिवारलाई ५-५ वटा आधुनिक माहुरीका घार अनुदानमा उपलब्ध गराएको जनचेतना सरोकार मञ्चका कार्यक्रम प्रमुख युवराज ज्ञवालीले बताए। विपन्न एवं साना किसानलाई स्वरोजगार बनाउन माहुरी पालन व्यवसायमा आवद्ध गराउन आधुनिक माहुरीका घार प्रदान गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ छ।
एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष कमल पौडेल र संस्थाका कार्यक्रम संयोजक युवराज ज्ञवालीले माहुरीका घार वितरण गरेका हुन्। जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफाम नेपाल संगको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित भारतमा मौषमी काम गर्ने प्रवासी परिवारहरुको आर्थिक पुनस्थापन सशक्तिकरण परियोजना अन्तरगत संस्थाको परियोजना क्षेत्र भित्र पर्ने सरोकार सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका सदस्यको परिवारलाई घार वितरण गरिए हो।