कंगोको सुनखानीमा पहिरो, ५० को मृत्यु
किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कंगोकोे पूर्वी क्षेत्रस्थित एक सुनखानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको छ। स्थानीय अधिकारीले शनिबार जनाएअनुसार दक्षिण किवु प्रान्तको कमितुगा सहरमा धेरै दिनको भारी वर्षापछि शुक्रबार पहिरो गएको हो। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरेका छन्। ‘पीडितमध्ये केही बालबालिकासहित अधिकांश युवा छन्’, प्रान्तीय प्रशासक कासीले भने, ‘उद्धारकर्ताहरू मृतकको सनाखत गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेका छन्।’
स्थानीय सञ्चारमाध्यमले घटनामा बच्न सफल स्थानीयलाई उद्धृत गर्दै लेखेका छन्, ‘खानीका लागि खनिएका तीनवटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो।’
कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले दुई दिनको शोक घोषणा गरे। उनले स्थानीय बासिन्दालाई जमिनबाट शवहरू निकाल्न उद्धारकर्तालाई सहयोग गर्न आग्रह गरे।
दक्षिण किवु प्रान्तमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक वर्ष स्थानीय बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने र सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन्।- (रासस/सिन्ह्वा)