अझै रंगिने छैन रंगमञ्च
काठमाडौं : रंगमञ्च वरिपरि दर्शकको भीड, कल्याङमल्याङ आवाज, धिपधिप बलिरहेको मधुरो प्रकाश, पृष्ठभूमिमा बजिरहने सुमधुर संगीत। मञ्चमा जीवन्त अभिनय गरिरहेका कलाकार। एउटा नाटक निर्देशकले सधैं मानसपटलमा सजाउने दृश्य हो यो। लेखक, समीक्षक र प्रश्नकर्तासँग सवाल–जवाफ गर्दै समाजका विविध विषयमा नाटक पस्कनु हर कोही कलाप्रेमीको चाहना हुन्छ।
- सरकारी कार्यालय, व्यापारिक क्षेत्रलगायत खुल्न थाले पनि मनोरञ्जनका क्षेत्र खुलाउने विषयमा सरकारले कुनै निर्णय गरेको छैन।
- भर्चुअल माध्यममा नाटक हेर्दा प्लास्टिकको फूल स्पर्श गरेजस्तो अनुभव हुन्छ।
- केही कलाकार मिलेर लकडाउनको समयमा भर्चुअल रूपमा नाटकका कार्यक्रम गरिरहे।
नाटक होस् या फिल्म, मास समेट्ने विधा हुन् यी। कोरोना त्रासका कारण ६ महिनादेखि नाटकघर, सभा सम्मेलन, छलफल, अन्तक्र्रिया, नाटक निर्माण तथा प्रदर्शनी र फिल्म छायांकन, बन्दप्राय: छन्। यसले गर्दा मनोरञ्जन क्षेत्रमा काम गर्ने धेरै कलाकार तथा प्राविधिक कामविहीन भएका छन्। अहिले सरकारले मोडालिटी परिवर्तन गरी लकडाउन खुला बनाएको छ। सरकारी कार्यालय, व्यापारिक क्षेत्रलगायत पसल, सपिङ मल पनि खुल्न थालेका छन्। तर मनोरञ्जनका क्षेत्र खुलाउने विषयमा भने सरकारले कुनै निर्णय गरेको छैन।
हुन त केही कलाकार मिलेर लकडाउनको समयमा पनि भर्चुअल रूपमा नाटकका कार्यक्रम गरिरहेका थिए। यसबीचमा थिएटर मल कीर्तिपुरले पुराना नाटकको भिडियो सामाजिक सञ्जालमार्फत पुन: प्रदर्शन गरेर क्वारेन्टाइन अभियान नाट्य उत्सव सञ्चालन गरेको थियो। थिएटर मलका निर्देशक तथा रंगकर्मी केदार श्रेष्ठका अनुसार लकडाउन पूर्ण नखुलेसम्म नाटकघर खोल्ने स्थिति छैन। कोरोनाको डर पूरै नहट्दासम्म दर्शक ढुक्क भएर हलसम्म जाने अवस्था छैन।
नाटक प्रत्यक्ष मञ्चन गरी दर्शकको प्रतिक्रिया पाइने विधा भएकाले यसको निर्माण र प्रदर्शनका लागि कलाकारको समूह र दर्शकको सक्रिय सहभागिता आवश्यक पर्छ। रंगमञ्च भर्चुअल हुन नसक्ने जानकारी दिँदै श्रेष्ठले पुराना नाटकलाई भर्चुअल माध्यमबाट सेयर गर्न सकिने बताए। कोरोनाले रंगकर्मी निकै पीडित भए पनि यो जटिल अवस्थामा पनि आफू सक्रिय रहेको उनले बताए। कलाकारहरू पुस्तक लेखन, अनलाइन छलफल तथा नाटक लेखनतिर लागिरहेको उनको भनाइ छ।
कुञ्ज थिएटरका अध्यक्ष कमल ढकाल पनि महामारी अन्त्य हुने अवस्थाको पर्खाइमा छन्। नाटकलाई सुगन्धित फूलको रूपमा बुझेका ढकाल भर्चुअल माध्यममा नाटक हेर्दा प्लास्टिकको फूल स्पर्श गरेजस्तो लाग्ने तर्क गर्छन्। सहरबजारमा अहिले कोरोनाका बिरामी बढिरहेकाले तत्कालै नाटकघर खोल्ने तयारी नभएको बताउँदै उनले सुरक्षित रूपमा नाटकघरमा सिर्जनात्मक लेखन प्रशिक्षण, कथा कविता वाचनका कार्यक्रम गरिरहेको जानकारी दिए। दर्शक तथा पाठकको स्वास्थ्यलाई ध्यानमा राख्दै आफूहरूले नाटकघर बन्द गरेको उनले बताए।
घोस्ट राइटिङ नेपालका अध्यक्षसमेत रहेका ढकालले लकडाउनको समयमा पुस्तक लेखनको संख्यामा भने वृद्धि भएको जानकारी दिए। उनी लेखन कर्मलाई शान्त वातावरण र फुर्सदको समय आवश्यक हुने भएकाले यो महामारी अन्त्यसँगै प्रकाशन हुने पुस्तकको संख्या पनि केही बढ्नेमा आशावादी छन्। कुञ्ज थिएटरलाई लेखन मन्दिरका रूपमा अगाडि बढाउन चाहेका ढकालले लकडाउनको समयमा नयाँनयाँ नाटक लेखिएको जानकारी दिए। समय नै सबै समस्याको औषधि भएको बताउँदै उनले नाटक रिहर्सल गर्ने, प्रदर्शन गर्ने, दर्शक बोलाएर छलफल गर्ने काममा फर्कने प्रतीक्षा गरिरहेको बताए।
शिल्पी थिएटर पनि महामारी अन्त्य हुने समयको पर्खाइमा छ। शिल्पीले सरकारको कामकारबाहीप्रति बेलाबेला नाटकमार्फत खबरदारी गरिरहेको थियो। लकडाउनकै समयमा कहिले सडक नाटक प्रदर्शन गर्यो त कहिले भर्चुअल माध्यमबाट विरोध जनायो। यस्तै सर्वनाम थिएटर, शैली थिएटरले पनि नाटकका कार्यक्रम भर्चुअल माध्यमबाटै सञ्चालन गरेका थिए। शैली थिएटरले शैली संवाद कार्यक्रम जारी राखेको छ।