उदासी बनेर आए थिरज
काठमाडौं : गायक थिरज राई आफ्नो नयाँ गीत ‘उदासी’ लिएर दर्शकमाझ आएका छन्। घनश्याम राईको रचना र गायक राईकै संगीत रहेको गीतको भिडियो टीएनएसपीएमले युट्युबमार्फत सार्वजनिक गरेको हो।
प्रकाश लिम्बूले निर्देशन गरेको भिडियोमा जोन पुलामी मगर, अंशु गर्बुजा मगर, अनिता थापालगायतले अभिनय गरेका छन्। यसको पोस्ट् प्रोडक्सनको काम रेन्बो रेन्जले गरेको हो। गायक राईले यो गीतमा कोही पनि प्रकृतिविरुद्ध जान नसक्ने विषय समेटिएको बताए। यही विषयवस्तुमा भिडियो तयार पारिएको अभिनेता मगरको भनाइ छ।
गायक राईको यसअअघि ‘गाजलु आँखा’ बोलको भिडियो सार्वजनिक भएको थियो। ‘यो गीतको भिडियो बनाएपछि लामो समय संगीत, संगीत संयोजनतिर लागें’, उनले भने, ‘अहिले आधुनिक गीतसहित आएको छु।’
उनका ‘यता टाले उता फाट्छ’, ‘कलियुग’, ‘गाजलु आँखा’, ‘लाहुरेको जिन्दगी’लगायत गीत चर्चित छन्। उनले ‘अघिपछि’, ‘कलियुग’ र ‘निमन्त्रणा’ तीन गीति एल्बम प्रकाशन गरेका छन्। २० वर्षदेखि सांगीतिक क्षेत्रमा क्रियाशील उनका एक सयभन्दा बढी गीत रेकर्ड छन्।