हिरासतमा मृत्यु : हत्या कि आत्महत्या ?
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित ‘सी गाउँ’ का ४५ वर्षीय अमरबहादुर चन्दले प्रहरी हिरासतमा घाँटी रेटेर आत्महत्या गरे। गत साउन २८ गते बिहान ३ बजे अमरबहादुर चन्द नाम गरेका व्यक्तिले मदिरा सेवन गरी टोल छिमेकमा होहल्ला गरेका भन्दै केही व्यक्तिले इलाका प्रहरी कार्यालय बहुलिया (फूलबारी)मा फोन गरे।
लगत्तै प्रहरी घटनास्थल पुग्यो र अमरलाई पक्राउ गरेर चौकीमा ल्यायो। ‘मदिरा सेवन गरेको व्यक्ति भनेर सामान्य रूपमा चौकीको परिसरमै राखेका थियौं, साउन २८ गते दिउँसो साढे १२ बजेतिर शौचालय जान्छु भनेर गए, त्यहाँ (चन्द)उनको मृत शरीर भेटियो’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने।
चन्दले दाह्री काट्ने ब्लेडले आफैं घाँटी रेटेर आत्महत्या गरेको विष्टले बताए। ‘शौचालयमा रगत बगेको थियो, त्यहाँ ब्लेड मात्रै भेटियो, उनको घाँटीमा प्वाल परेको थियो, त्यसैले प्रहरी ब्लेडले घाँटी रेटेर आत्महत्या गरेको निष्कर्षमा पुग्यो’, उनले भने।
एउटा ब्लेडले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको खबर पत्याउन नसकिने चर्चा सेलाउन नपाउँदै गत शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको शौचालयमा १९ वर्षीय युवकले आत्महत्या गरे। प्रहरीले आफ्नै कमिजको पासो बनाएर ती युवकले आत्महत्या गरेको बताएको छ। तर, पीडितका आफन्त भने प्रहरीको कुटपिटपछि हत्या भएको आरोप लगाइरहेका छन्।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय युवक रोशन विक, रोहित पार्कीसहित चार जनाले भदौ २१ गते सेती प्रादेशिक अस्पतालमा कार्यरत खगेन्द्रराज पनेरूको मोबाइल खोसेर लगे। पनेरूले नामसहित किटानी जाहेरी दिएपछि रोशन र रोहित पक्राउ परे। अन्य दुईजना फरार छन्। रोशनको साथबाट पनेरूको सामसुङको जे २ मोडेलको मोबाइल फेला परेको डीएसपी विष्टले बताए। दुवै जनालाई चोरीको आरोपमा पाँच दिनका लागि म्याद थपेर जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो। तर, शुक्रबार बिहान रोशनले थुनुवा कक्षको शौचालयमा पासो लगाए। उनकी आमा मनु विक भने छोराले आत्महत्या गरेको भनेर पत्याएकी छैनन्।
भन्छिन्, ‘छोराको एउटा आँखा फुटेको छ। नाकबाट रगत बगिरहेको छ। निधार, मुख र शरीरका विभिन्न भागमा नीलडाम छन्, अनि म कसरी पत्याऊँ उसले पासो लगाएको हो भनेर ? ’ मृतक रोशनको नाकबाट रगत बगेको र निधारमा घाउ भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। हिरासतमा उनको मृत्यु भएपछि आक्रोशित आफन्तले शुक्रबार दिनभर जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गरे। शुक्रबार बेलुकी उनीहरूले शव बुझेर शनिबार बिहान सद्गत गरिसकेका छन्।
तर पीडित परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। पीडित परिवारको मागअनुसार प्रहरीले सशस्त्र प्रहरी गण मुख्यालय धनगढीका एसपी राजीव बस्नेतको अध्यक्षतामा छानबिन समिति बनाएको छ। ‘तर समितिमा पीडित परिवारका कोही मान्छे छैनन्, नागरिक समाजबाट स्वतन्त्र मान्छे पनि छानबिन समितिमा राखिएको छैन, प्रहरीले गरेको छानबिन कसरी विश्वास गर्ने ? ’ मृतक रोशनका माइला काका सिद्धराज विकले भने। घटनापछि राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय, इन्सेक क्षेत्रीय कार्यालय, नेपाल पत्रकार महासंघ र मानवअधिकारवादी संघसंस्थाले थुनुवा कक्षको स्थलगत अनुगमन गरेका छन्।
हाल उक्त थुनुवा कक्षा खाली गरिएको छ भने शौचालयको भेन्टिलेसनमा कालो चेक भएको कमिज टाँगिएको छ। ‘प्रारम्भिक रूपमा केही भन्न सकिने अवस्था छैन, घटना रहस्यमय नै लाग्छ, हामीले पोस्टमार्टम रिपोर्ट, घटना मुचुल्कासहितका डकुमेन्ट माग गरेका छौं, आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, राष्ट्रिय मानवअधिकार आयोगका निमित्त प्रदेश प्रमुख झंकर रावलले भने। हिरासतमा कुटपिट नभए पनि प्रहरीको थुनुवा कक्षमा भइरहेका आत्महत्याले नराम्रो संकेत गरेको उनले बताए।
शुक्रबार बिहान थुनुवाहरूले खाना खाने बेला रोशनले आत्महत्या गरेका कैलालीका प्रहरी उपरीक्षक अनुपशमशेर जबराको दाबी छ। भन्छन् ‘थुनुवा कक्षमा १४ जना थिए। खाना खाने बेलामा हामी नाम भनेर बोलाउने गर्छौं, रोशन आएन उनका साथी रोहित पार्कीलाई बोलाउन भनियो। रोहितले शौचालयमा गएर हेर्दा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीले शौचालयको ढोका तोडेर निकाली अस्पताल लगिएको हो।’ अस्पताल पुर्याएपछि उनलाई मृत घोषणा गरिएको जबराले बताए।
सञ्चार गृहमा तोडफोड
प्रहरीले आत्महत्या भनेर पठाएको विज्ञप्तिलाई आधार बनाएर समाचार प्रकाशित गरेको भन्दै पीडितका आफन्तले धनगढीको दिनेश खबर डटकमका सञ्चारकर्मीलाई कुटपिट गरेका छन्। स्टेसन म्यानेजर अमिता कँुवर, सहायक सम्पादक जनक विष्ट र प्राविधिक कल्पना विष्टलाई उनीहरूले कार्यालयभित्र हातपात गरेका हुन्।
सो न्युज पोर्टलले प्रहरी नायब उपरीक्षक प्रतीक विष्टको हस्ताक्षरसहितको विज्ञप्ति इमेलमा आएको आधारमा ‘प्रहरी हिरासतमै आत्महत्या’ शीर्षकको समाचार प्रकाशित गरेका थियो। २०÷२५ जनाको समूहले धनगढीको उत्तरबेहडीमा रहेको सञ्चारगृहभित्र हातपात गरेका हुन्।
दिनेश सञ्चार गृहले ७ जनाको नामै उल्लेख गरी २० जनाविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले शनिबार बेलुकासम्म कसैलाई पक्राउ गरेको छैन। नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, बान, अकोर्याब, प्रेस युनियन, प्रेस संगठन लगायतका संघसंस्थाले सञ्चार गृहभित्रै सञ्चारकर्मी माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।