चितुवाको आक्रमणबाट दुईजना घाइते
बेनी : चितुवाको आक्रमणबाट म्याग्दीको सीमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटको सुन्दरडाडामा दुईजना घाइते भएका छन् । स्थानीय नरबहादुर खत्रीको घरभित्र आइतबार बिहान साढे २ बजेतिर पसेको चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । चितुवाको आक्रमणबाट ३५ वर्षीय खत्री र उनका छिमेकी ४५ वर्षीय थलबहादुर खत्री घाइते भएको स्थानीय केशव पौडेलले बताए ।
'कुकुर समान्त घरभित्र छिरेको चितुवा लखेद्टा उल्टै आक्रमण गरेछ,' उनले भने, 'करिब आधा घण्टा चितुवासँग भिड्नुभएका नरबहादुरलाई बचाउन जानुभएका थलबहादुरलाई पनि झम्टिएर घाइते बनाएको छ ।'
चितुवा घरभित्र छिरेपछि बन्द भएको ढोका खोलेर भगाउन खोज्दा नरबहादुरलाई आक्रमण गरेको हो । नरबहादुरको टाउको, पाखुरा र छातिमा चोट लागेको छ । उनको घरमा ५ जना थिए । अरु ४ जना भने सकुशल छन् ।
नरबहादुरसँग भिडेपछि थाकेको चितुवा घरभित्रकै अर्को कोठामा गएर लुकेको थियो । हारगुहार गरेपछि पुगेका थलबहादुरलाई कोठाको ढोका खोल्ने क्रममा चितुवाले झम्टिएको थियो । गाउँमै प्राथमिक उपचार गरी घाइते दुवैजनालाई उपचारका लागि म्याग्दीको बेनी अस्पताल पठाइएको छ ।
घटनास्थलमा लेकफाट प्रहरी चौकीको टोली समेत पुगेको छ । यसअघि बेनी–४ सिंगामा हरियाली ग्रुपले सञ्चालन गरेको कालिज फार्मभित्र शुक्रबार बिहान पसेको चितुवाले ६८ वटा कालिज मारेको थियो ।
बन्यजन्तुहरु आहराको खोजीमा मानब बस्तीमा आउन थालेका छन् । विशेष गरेर चितुवाले घरपालुवा जनावर मार्ने, खाने, मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । अर्कोतर्फ बाँदरले खेतिबाली खाने र नष्ट गरेर किसानलाई सताएको छ । वन्यजन्तु बस्तीमा आउन थालेपछि मानव र वन्यजन्तुबीच द्वन्दव सिर्जना भएको छ ।