देशविरुद्ध लेख्ने विदेशी पत्रकारलाई अष्ट्रेलियन मन्त्रीको चेतावनी
सिड्नी : अष्ट्रेलियाका गृहमन्त्रीले अष्ट्रेलियालाई तिरस्कार गर्ने दृष्टिकोण प्रवाह गर्ने विदेशी पत्रकारहरुलाई चेतावनी दिएका छन् ।
अष्ट्रेलियामा रहेर अष्ट्रेलियाकै विरुद्ध सूचना प्रवाह गर्ने विदेशी पत्रकारहरुलाई संघीय एजेन्सीको छानविनमा आउनुपर्ने भन्दै चेतावनी दिएका छन् । गृहमन्त्री पिटर डुटोनले अष्ट्रेलियन च्यानलसँग अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् । यस क्रममा उनले चीनको नीतिप्रति कडा चुनौती दिएका थिए ।
चीनलाई लक्षित गर्दै उसको नाम उच्चारण नगरिकन गत साता चीनबाट निकालिएका दुई पत्रकारबारे उनले टिप्पणी गरेका थिए । दुई पत्रकार बील बिर्टल्स र माइक स्मिथलाई गत साता चीनले निकालेपछि अष्ट्रेलियन कुटनीतिक क्षेत्रमा शरण लिएर बसेका थिए ।
यस्तै सिजिटीएनमा कार्यरत अष्ट्रेलियन पत्रकार चेङ लीलाई पनि चीनले दुई साताअघि नियन्त्रणमा लिएको थियो । ‘यदी यहाँ पत्रकारहरु छन् र उनीहरुले निष्पक्ष रुपमा समाचार रिपोर्टिङ गरिरहेका छन् भने ठीकै छ, तर पत्रकारहरुले खास समुदायलाई तिरस्कृति बिचार प्रदान गर्नु हुँदैन,’ डुटोनले एबीसी टिभीको कार्यक्रममा अन्तर्वार्ता दिँदै यस्तो चेतावनी दिएका हुन् । चीनले भने पत्रकार बर्टल्स र स्मिथलाई कुटनीतिक संरक्षण दिएकोमा अष्ट्रेलियाले आफ्नो आन्तरिक मामिला र न्यायीक सार्वभौमिकतामा हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।