ढोरपाटनमा समस्य समस्या

ढोरपाटनमा समस्य समस्या

बागलुङ : भदौ १७ गते राति भुजीखोलामा आएको बाढीले गाउँको विकास र सुविधा बगाएपछि ढोरपाटनका बासिन्दा एक दशकअघिको उराठलाग्दो दैनिकीमा फर्किन विवश छन । नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनको देउराली नजिक पहाड खसेर थुनिएको भुजीखोला केही घण्टापछि फुट्दा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । बाढीले ८० घर पूर्ण रूपमा बगाएको छ भने ३० घरमा आंशिक क्षति पुगेको छ ।

ढोरपाटन नगरपालिका ७, ८ र ९ मा अहिले सडक मात्र होइन सडक आसपासका घर पनि छैनन् । परिवारका प्रिय अभिभावक छैनन् । कलकलाउँदा दर्जनौं सन्तानहरू पनि छैनन् । बिजुली, स्कुल, स्वास्थ्यचौकी, खानेपानीको मुहान, पाइप र धाराहरू बाढीले बगाएको छ । टेलिफोनको सहज पहुँच छैन । भदौ १९ ढोरपाटनवासीका लागि कालो दिन बनेर आएको स्थानीय नारायण विकले बताए । ‘हामीले सुविधा महसुस गर्न थालेका थियौं । केही क्षणको बाढीले हामीलाई पुरानै अवस्थामा फर्काइदियो ।’ उनले भने । बाढीले भुजीखोला किनारको सालझन्डी-ढोरपाटन सडकको १० किलोमिटर सडक बगरमा परिणत गरेको छ । ढोरपाटन जोड्ने मुख्य सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प छ । बाढीले सेराबाङ, लाकुरीबोट र सुप्राङमा दुई किलोमिटर पैदल मार्गसमेत बगाएको छ । कतिपय ठाउँमा रूखका लहरा समाएर यात्रा गर्नुपर्ने बाध्यता छ भने राहत सामग्री ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा थुप्रिएको छ ।

सरकारको प्राथमिकतामा रहेको आयोजनामध्येको सालझन्डी ढोरपाटन सडक पुरानै अवस्थामा ल्याउन करिब ६० करोड रुपैयाँ लाग्ने स्थलगत अध्ययनका क्रममा पाइएको सालझन्डी ढोरपाटन सडक आयोजना कार्यालय सन्धिखर्कका आयोजना प्रमुख जयलाल मरासिनीले बताए । क्षतिको विवरण र नयाँ ट्र्याक बनाउन एवं मर्मत गर्न लाग्ने खर्चको अनुमानित विवरण सडक विभाग हुँदै अर्थ मन्त्रालयमा पुर्‍याएको उनले बताए । मरासिनीका अनुसार तत्कालै साना सवारी ढोरपाटनको देउराली पुर्‍याउन पाँच करोड लागत अनुमान गरिएको छ । सडक नहुँदा राहत पुर्‍याउनदेखि आवागमनमा समेत ठूलो सकस भएकाले चार वटा डोजरमार्फत सडक खुलाउने काम भइरहेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि राहतमै ध्यान केन्द्रित गराएका छौं, अबको केही दिनमा सडक खुलाउने गरी काम अघि बढाएका छौं ।’ विद्युत्, खानेपानी, सञ्चारलगायत समस्या समाधानका लागि सम्बन्धित कार्यालयमार्फत् प्रदेश, केन्द्र सरकार र अरू सहयोगीसँग पहल र समन्वय गरिरहेको उनले बताए । बाढीले भुजीखोलामा पर्ने ११ वटा विद्युत् गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा ७, ८ र ९ पूरै अन्धकारमय छ ।

 कतिपय ठाउँमा रूखका लहरा समाएर यात्रा गर्नुपर्ने बाध्यता छ भने राहत सामग्री ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा थुप्रिएको छ ।

विद्युत् नभए पछि मोबाइल चार्ज गर्न नपाउँदा र मोबाइल टावरसमेत नहुँदा बाढी प्रभावित क्षेत्रमा सम्पर्क विच्छेद भएको छ । बाढीले ढोरपाटन—९ स्थित लाकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्राविको चारकोठे भवन, सरस्वती प्राविको २ कोठे भवन बगाएको छ । खानेपानी र सिँचाइको मुहान, पाइप र धारा बगाएपछि पिउने पानीका लागिसमेत सकस भएको ढोरपाटन नगरपालिका— ९ का अध्यक्ष हरिबहादुर घर्तीले बताए । ‘जता हेर्‍यो, उतै समस्या छ । खानेपानीदेखि विद्युत्, सडक, सञ्चार, खाद्यान्न, आवास सबै समस्याले आक्रान्त छौं,’ उनले भने, ‘नगरपालिकाका मार्फत माथिल्लो निकायमा ध्यानाकर्षण गराउने काम भएको छ ।’

बागलुङ २ का सांसद देवेन्द्र पौडेलले बाढी ग्रस्त क्षेत्र पुनर्निर्माणका लागि पहल भइरहेको बताए । ‘भौतिक योजना मन्त्रीलगायतसँग छलफल भइसकेको छ,’ उनले भने, ‘१५ दिन भित्र सडक खुलाउने र जग्गा व्यवस्थापन गरी एकीकृत वस्ती निर्माण गर्ने विषयमा प्रतिबद्धता प्राप्त भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.