ग्रामीण सडक ठप्प

ग्रामीण सडक ठप्प

उदयपुर : बाढीपहिरोका कारण उदयपुरको ग्रामीण क्षेत्रका सडकमा ठूलो क्षति पुगेको छ।

निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले सडक र सडक छेउका बस्तीसमेत उच्च जोखिममा छन्। ग्रामीण सडक कामै नलाग्ने गरी भत्किएको छ। चार गाउँपालिकाका केन्द्र पुग्ने सडक ठाउँठाउँमा भत्किँदा पालिका सम्पर्क विच्छेद भएका छन्। करोडौं खर्च गरेर बनाइएका सडक यतिबेला कामै नलाग्ने अवस्थामा पुगेको स्थानीय बासिन्दा बताउँछन्।

सदरमुकाम गाईघाटदेखि र गाउँपालिकाका वडाबाट केन्द्रसम्म पुग्ने रौतामाई, ताप्ली, उदयपुरगढी र लिम्चुङबुङ गाउँपालिकाका अधिकांश सडक अवरुद्ध भएका छन्। सडक हिलाम्मे र पहिरोले बगाएपछि स्थानीयवासीलाई पैदलयात्रा गर्नसमेत कठिन भएको ताप्ली गाउँपालिका–३ का सुमन मगर बताउँछन्।

सामान्य वर्षाकै कारण अवरुद्ध हुने यी सडक लगातारको वर्षाले कामै नलाग्ने गरी भत्किएको उनले बताए। सडक भत्किएसँगै ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दै आएका ट्याक्टर, बोलेरोलगायत सवारीसाधन ठप्प छन्। ढुवानीका साधन ठप्प हुँदा ग्रामीण भेगमा खाद्यान्नलगायत सामग्री अभाव भएको छ।

सदरमुकामलगायत ठाउँमा नियमित आउजाउ गर्दै आएका सर्वसाधारण घरबाट निस्कन पाएका छैनन्। ताप्ली गाउँपालिका–५ का शेरजंग ठकुरी भन्छन्, ‘सदरमुकाम जाने सडक ठाउँठाउँमा पहिरो गएर अवरुद्ध भएको छ, गाडी त के मान्छे हिँड्न सक्ने अवस्थासमेत छैन।’

यातायात नचलेपछि सर्वसाधारण दुई दिनसम्म पैदल यात्रा गर्न बाध्य छन् भने बिरामीको उपचारमा पनि समस्या भएको छ। सडक अवरुद्ध हुँदा स्थानीय यात्रुलाई आउजाउ र सामान ढुवानीमा समस्या हुने गरेको स्थानीय व्यापारी बताउँछन्। ग्रामीण भेगमा व्यापारीले कटारी, गाईघाट र मुर्कुची बजारबाट उपभोग्य सामग्री लाने गरेका छन्। तर, सडक अवरोध भएपछि अत्यावश्यक किराना सामान, दाल, चामल, तेल नुनजस्ता उपभोग्य वस्तु ढुवानी गर्न समस्या पर्ने गरेको छ।

वर्षाका कारण बलम्ता, जाँते, बारहा, ताम्लिछा, बाँस्बोटे, ओख्ले, रूपाटार, इनामे, ठानागाउँ, लाफागाउँ, डुम्रे, वर्रे, भुट्टार, पोखरी, आँपटार, नामेटारलगायत ठाउँका ग्रामीण सडक कामै नलाग्ने गरी भत्किएको स्थानीयवासीले बताएका छन्।

नियमित मर्मत–सम्भारपछि सञ्चालनमा आएका यी क्षेत्रका सडक वर्षा जारी रहेकाले गाउँपालिकाले समेत बनाउनेतर्पm ध्यान दिएका छैनन्। पानी नरोकिएसम्म सडक मर्मत गर्ने अवस्था नरहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए। उनले भने, ‘पानी रोकिएको छैन। यस्तो अवस्थामा बनायो भने एकैछिनमा बगाएर लैजान्छ। केही दिनपछि मात्र मर्मतसम्भार गरिन्छ।’

हचुवाको भरमा सडक

सामान्यतया सडक निर्माण गर्दा मापदण्डलाई ध्यान दिनुपर्ने हुन्छ। त्यसको गुरुयोजना, विस्तृत अध्ययन, आईईलगायत काम पूरापछि त्यसको प्रभाव मूल्यांकन गर्दै सडक बनाउनुपर्ने हुन्छ। तर जिल्लाका कुनै पनि सडकले अहिलेसम्म त्यो मापदण्ड पूरा नगरेको पाइएको छ। हचुवाको भरमा प्रलोभनमा परी सडक निर्माण गरिँदा जोखिम बढेको जानकार बताउँछन्।

 ११ घर जोखिमा

घरमाथिको सडकको पहिरो नरोकिएपछि रौतामाई गाउँपालिका–७ डहरखड्काबारी टोलका ११ घरपरिवार जोखिममा छन्। लगातारको वर्षाका कारण सडकबाट पहिरो जाँदा जोखिम बढेको स्थानीय दुर्गा एसकेले जानकारी दिए। उनले भने, ‘पुवाँरे–रानीबास–नामन्ता हुँदै प्रसिद्ध धार्मिक स्थल रौतापोखरी पुग्ने यो सडक भारी वर्षाका कारण क्षतविक्षत भई बस्तीमा प्रवेश गरेको हो।’ सडकबाट पहिरो बगेपछि घर पुर्न थालेको उनले बताए। बाली लगाइएका अधिकांश खेतबारी, घर, ग्वालीसमेत पुरिसकेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.