भक्तपुरमा कोरोना संक्रमितको संख्या एक हजार एक सय १२ पुग्यो
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ। मंगलबार एकैदिन ७८ जना नयाँ थपिएसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या एकहजार एकसय १२ पुगेको छ। जसमा ६ सय २६ पुरुष र ४ सय ७६ महिला रहेका छन्।
स्वास्थ्य मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भक्तपुरमा ४९ पुरुष र ३७ महिला गरी ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताइएको छ। तर भक्तपुरमा ७८ जनाको मात्रै विवरण प्राप्त भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।
स्वास्थ्य कार्यालय भक्तपुरकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लले मंगलबार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा २० महिला र ३५ पुरुष गरी ५५ जना संक्रमित थपिएको जानकारी दिए।
मध्यपुर थिमि नपा भक्तपुरकै सबैभन्दा बढी संक्रमित भएको नपामा हो। यहाँ मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ४ सय ६४ पुगेको छ।
यसपछि भक्तपुर नपामा संक्रमितको संख्या बढी रहेको छ। यहाँ मंगलबार १० महिला र ६ पुरुष गरी १६ जना नयाँ संक्रमित थपिएको जनस्वास्थ्य अधिकृत बल्लले बताइन्। यससँगै यहाँ संक्रमितको संख्या २ सय ७८ पुगेको छ।
त्यस्तै मंगलबार सूर्यविनायक नपामा २ महिला र चाँगुनारायण नपामा २ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। यससँगै सूर्यविनायक नपामा २ सय ३२ र चाँगुनारायण नपामा एकसय २५ जना कोरोना भाइरस संक्रमितको संख्या पुगेको छ।
स्वास्थ्य कार्यालयका अनुसार मंगलबार तीनजना संक्रमित सम्पर्कमा आएनन्। यससँगै भक्तपुरमा १७ जना संक्रमितलाई अहिलेसम्म सम्पर्क गर्न नसकिएको कार्यालयले जनाएको छ।
संक्रमणले १६ जनाको मृत्यु
भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणले १६ जनाको मृत्यु भएको छ। जसमा ११ पुरुष र ५ महिला रहेका छन्। भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण भएको मृत्युदर १.४ प्रतिशत रहेको छ। जबकि नेपालमा यो दर ०.६५ प्रतिशतमात्रै रहेको छ।
संक्रमणको कारण मृत्यु भएका १६ जनामध्ये मध्यपुर थिमि नगरपालिकाका मात्रै ७ पुरुष र ३ महिला गरी १० जना रहेका छन्। त्यस्तै सूर्यविनायक नपाका २ पुरुष र २ महिला गरी ४ जना तथा भक्तपुर नपाका २ पुरुषले कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाएको कार्यालयले जनाएको छ।