कांग्रेसमा विकल्पको खोजी : महामारीमा कसरी महाधिवेशन ?
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित भइसकेको छ। फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने गरी दुई पटक संशोधन भइसकेको कार्यतालिका अनुसार कुनै पनि काम अगाडि बढेको छैन।
फागुनमा महाधिवेशन नहुनेमा नेता निश्चिन्त भएपनि कांग्रेसले नयाँ मिति तय गर्नेबारे कुनै निर्णय गरिसकेको छैन। संवैधानिक व्यवस्था अनुसार २०७८ साल भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको कांग्रेसभित्र महाधिवेशनका विभिन्न विकल्पमा छलफल सुरु भएको छ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेकै क्रियाशील सदस्य वा महाधिवेशन प्रतिनिधिबाट भएपनि फागुनमै महाधिवेशन हुनुपर्ने प्रस्ताव गरेका छन्। तर उनको प्रस्तावका पक्षमा भने अधिकांश केन्द्रीय नेताहरु असहमत छन्। पार्टीमा नयाँले नेतृत्व चयन प्रक्रियामा सहभागि हुन पाउनुपर्ने मत बढी छ। तर कोरोना संक्रमणका कारण महाधिवेशन अनिश्चित हुने देखिएपछि विकल्पको खोजी हुन थालेको हो।
‘कोरोना संक्रमण कहिलेसम्म जान्छ ? भ्याक्सिन कहिले आउँछ ? अनि त्यो भ्याक्सिन हाम्रो मुलुकसम्म कहिले आउला ?’ कांग्रेस केन्द्रीय सदस्य गगन थापाले भने, ‘फागुनको ठाउँमा वैशाखमै महाधिवेशन गर्ने हो भने पनि फागुन पहिलो सातामा वडा अधिवेशन सुरु गर्नुपर्छ। काठमाडौंको एउटै वटामा एक हजारसम्म क्रियाशील सदस्य छन्। महानगरपालिकामा १० हजार मान्छे जम्मा हुन्छन्। त्यत्रो भीड जम्मा भएर महाधिवेशन कसरी सम्भव होला ?’
कांग्रेसमा केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्रै ४५ सयदेखि पाँच हजारसम्म हुन्छन्। पार्टीको महाधिवेशनमा हजारौंको संख्या नेता कार्यकर्तासँगै शुभेच्छुकको भीड हुन्छ। ‘त्यसकारण कोरोना संक्रमणले एक ठाउँमा सबै जना उपस्थित हुने अवस्था भएन भने विकल्प के हुनसक्छ ? त्योबारे आजैदेखि छलफल आवश्यक छ,’ कांग्रेस पाठशालाले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रममा केन्द्रीय सदस्य थापाले भने, ‘नर्मल अवस्था भयो भने ठिकै छ। तर न्यूनर्मलमा जानुपर्यो भने अहिलेदेखि नै तयारी गरे सहज होला। नत्र फागुनमा गएर कसरी अधिवेशन गर्ने भनेर छलफल गर्न थाल्यौं भने कागजी प्रक्रिया पुरा गरेर अहिलेकै कमिटीलाई निरन्तरता दिनुको विकल्प हुने छैन।’
महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण पहिलो कार्य हो। यो काम कांग्रेसमा सबैभन्दा जटिल र चूनौतिपूर्ण हुँदै आएको छ। १३ औं महाधिवेशनमा क्रियाशील सदस्यता टुंग्याउन छानविन समितिले ६ महिना लगाएको थियो।
यसपटक भदौ मसान्तभित्र क्रियाशील सदस्यको सूची जिल्लाले केन्द्रमा पठाइसक्नुपर्ने कार्यतालिका थियो। तर अहिलेसम्म जिल्लामा सदस्यता वितरणको काम सुरु नै हुन सकेको छैन। केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको अन्तिम सूची प्रकाशित गरिसकेपछि मात्रै अधिवेशनको प्रक्रिया सुरु हुन्छ। पुरानो क्रियाशील सदस्यता नविकरण हुन गाह्रो छैन।
कोरोनाका कारण नयाँ क्रियाशील सदस्यता वितरणमा भने समस्या छ। ‘सबै क्रियाशील सदस्य जम्मा हुनुपर्ने प्रावधानलाई संशोधन गरेर वडाका पदाधिकारी मात्रै बसेर वा थोरै संख्यामा मात्रै राखेर क्रियाशील सदस्यता दिन सकिन्छ। त्यस्तो पनि सम्भव नभए टोलमा नै सदस्यता वितरण गर्ने व्यवस्था गरौं,’ केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘वडा अधिवेशनका लागि पनि टोल टोलमा मतदान गर्न सकिन्छ। वडा प्रतिनिधि चयन भइसकेपछि माथि कम संख्यामा प्रतिनिधि हुँदै आउँछ। तलदेखि माथिसम्म विकेन्द्रित गरौं। थोरै संख्यामा मात्रै मान्छे उपस्थित हुने अवस्था सिर्जना गर्नेतर्फ सोचौं।’
फागुनमा महाधिवेशन असम्भव भएकाले अर्काे वर्ष भदौलाई केन्द्रमा राखेर कार्यतालिका बनाउनुपर्नेमा नेता लेखकको जोड छ। ‘यदि केही गरी महाधिवेशन भदौमा पनि नहुने अवस्था आयो भने निर्वाचनलाई विकेन्द्रीकरण गर्न सकिन्छ। १६५ वटा निर्वाचन क्षेत्रमा मतदान गरेर केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमिति चयन गर्न सकिन्छ,’ उनले भने।
केन्द्रीय सदस्य जीवन परियारले कोरोना संक्रमणका बीचमा अधिवेशन सम्भव नहुने भन्दै समयमै विकल्पबारे सोच्नुपर्ने खाँचो औल्याए। ‘हामीले समयमै विकल्प के हुन सक्छ त्यसका लागि विधि र प्रक्रियामा छलफल गरेर महाधिवेशन गर्नुपर्दछ। यसका लागि केन्द्रीय कार्यसमितिले आवश्यक तयारी, छलफल र सहजीकरण गर्नुपर्दछ,’ उनले भने, ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मतदान गरेर नेपाल बारको चुनावजस्तै जिल्लामै मतगणना गरेर केन्द्र र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ।’
महाधिवेशनमा नेतृत्व चयनका लागि विकल्पमा प्रविधिको प्रयोग गर्न सकिने सुझाव पनि आएका छन्। धेरैजसो नेताहरु भने मतदानलाई विकेन्द्रीकरण गर्न सके कोभिड–१९ कै बीचमा अधिवेशन सम्भव हुने बताउँछन्। तर महाधिवेशनले नेतृत्व चयन मात्र नभई पार्टीको आगामी मार्ग निर्देशन गर्ने थलो पनि हो। मतदानलाई विकेन्द्रीकरण गर्दा महाधिवेशन विचारको बहसभन्दा नेतृत्वको चयनमा मात्रै केन्द्रित हुने चिन्ता पनि कांग्रेसभित्र छ।
‘महाधिवेशन नेतृत्व चयन मात्रै होइन, यो वैचारिक थलो हो। यसलाई वैचारिक बहसको थलो कसरी बनाउने भन्ने मूल ध्येय हो। एकै ठाउँमा बसेर छलफल गर्न सकिने अवस्था हुँदैन भने विकल्पमा कसरी जान सकिन्छ त्यसबारे पनि सोचौं,’ कांग्रेस केन्द्रीय सदस्य डीना उपाध्यायले भनिन्, ‘हामीले कार्यकर्तालाई मात्रै सम्बोधन गर्ने होइन, आमनागरिकलाई समेट्न सक्ने गरी पार्टीको नीति तय गर्नुपर्छ। त्यसका लागि वैचारिक बहस तल्लो तहसम्म पुर्याउनु जरुरी छ।’
अहिले नै महाधिवेशनको नयाँ मिति तय गर्ने पक्षमा आफू नरहेको उनले बताइन्। ‘संगठन समायोजन, क्रियाशील सदस्यता नविकरण र वितरणको काम टुंग्याएपछि मात्रै नयाँ कार्यतालिका ल्याउन सक्यौं भने त्यसले काम गर्छ,’ उनले भनिन्।