बिहीबारदेखि लाइसेन्स वितरण हुने
काठमाडौं : बिहीबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण हुने भएको छ।
लकडाउन सुरु भएदेखि स्थगन गरिएको लाइसेन्स वितरण प्रक्रिया बिहीबारदेखि सूचारु गर्न लागिएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र ठूलो भर्याङका सूचना अधिकारी उपेन्द्र शाहले जानकारी दिए।
यातायात कार्यालयले सन् २०२० जुलाईसम्ममा ट्रायल पास भएर लाइसेन्सको रसिद काटेका सेवाग्राहीलाई बिहीबारदेखि लाइसेन्स वितरण सुरु गर्न लागेको हो।
सेवाग्राहीको बढी भिडभाड भएकाले स्थानीयबाट विरोध भएकाले कार्यालयले सेवामा केही कटौती गरेको पनि जानकारी दिएको छ।
कार्यालयले एक दिनमा १००/१०० सेवाग्राहीलाई स्मार्ट लाइसेन्स र लाइसेन्स नविकरणको सेवा दिँदै आएको छ। अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न कार्यालयले दुई साता भित्रमा ई-टोकनको व्यवस्था पनि गर्न लागेको छ।
सेवाग्राहीले अनलाइनका माध्यमबाट ई-टोकन लिन सक्नेछन्। ई-टोकन सेवाको सुरुवात पछि कार्यालयमा भिडभाड कम हुनुका साथै सेवाग्राहीले सजिलै सेवा पाउने कार्यालयले विश्वास लिएको छ।