निषेधाज्ञाले रोकेन संक्रमण

निषेधाज्ञाले रोकेन संक्रमण

काठमाडौं : काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ।

काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी कामकाजी व्यक्ति संक्रमित भइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार भदौ पहिलो साता मुलुकभर संक्रमित थपिने क्रम दिनहुँ औसत ७ सय ५३ हाराहारी थियो। भदौ अन्तिम साता हरेक दिन १ हजारभन्दा बढी संक्रमित पुष्टि भएका छन्। भदौको अन्तिम दिन बुधबार मुलुकभर १ हजार ५ सय ३९ जनामा कोरोना देखिएको मन्त्रालयले पुष्टि गरेको छ। एकै दिन संक्रमित पुष्टि भएको यो हालसम्मकै उच्च संख्या हो।

त्यस्तै, मृत्युदर पनि उच्च छ। भदौ १ देखि १५ गतेसम्म कोरोनाबाट १ सय २४ जनाको मृत्यु भएको थियो। भदौ १६ गतेयता मृत्युदर झन् बढेको छ। भदौ १९ र २२ गते दुई दिनमा २८ जनाको ज्यान गयो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भदौ ३१ गते ८ जनाको ज्यान गएको जानकारी दिए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले साउनभन्दा भदौमा मृत्युदर बढेको बताए। अहिले मृत्युदर ०.६ प्रतिशत छ।

सरकारी अधिकारीले निषेधाज्ञाको प्रभावका कारण संक्रमितको संख्या घट्ने आशा व्यक्त गरेका थिए। तर, निषेधाज्ञाले उपत्यकामा संक्रमण विस्तारको ‘चेन ब्रेक’ गर्न नसकेको विज्ञले जनाएका छन्। दिनहुँ सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिन थालेका छन्।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमण झन् बढेको बताए। ‘मास्क नलगाई र भौतिक दूरीसमेत कायम नराखी बिहान–बेलुका घुमिरहेका छन्’, डा. मरासिनीले भने, ‘त्यसले पनि संक्रमण बढाएको हो।’

उपत्यकाका सबै स्थानीय तहमा अहिले संक्रमित छन्। वडा तहमा पनि संक्रमण देखिएको छ। तीनै जिल्लामा भदौ सुरुमा निषेधाज्ञा जारी गरिएको थियो। मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै संक्रमितको संख्या ११ हजार २ सय ३५ पुगेको छ। ललितपुरमा १ हजार २ सय ८६ र भक्तपुरमा १ हजार १ सय ४० संक्रमित छन्।

काठमाडौं, ललितपुर र भक्तपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले संक्रामक रोग ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरेको थियो। उक्त निषेधाज्ञा भदौ ३ देखि भदौ २४ गतेसम्म जारी रह्यो।

काठमाडौं उपत्यकामा बुधबार एकै दिन थप ७ सय ३७ जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकामा एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। मंगलबार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको थियो।

मन्त्रालयका प्रवक्ता डा. गौतमले निषेधाज्ञाको प्रभाव सकारात्मक रहेको बताए। ‘निषेधाज्ञा नगरेको भए संक्रमणदर झन् बढ्थ्यो। निषेधाज्ञा गरेकै कारण निस्फिक्री हिंडडुल गर्न पाएनन्। त्यसैको नतिजा अहिलेको संक्रमणको अवस्था हो’, डा. गौतमले भने, ‘केही नगरेको भए संक्रमण झन् भयावह भइसक्थ्यो।’

कामकाजी नै बढी संक्रमित

काठमाडौंमा सबैभन्दा बढी २१ देखि ४० वर्ष उमेर समूहका चलायमान व्यक्ति बढी संक्रमित भएका छन्। यो उमेरका २ हजार २ सय २३ जना पुरुष र ८ सय ३० महिला संक्रमित पुष्टि भएका छन्। ललितपुरमा भने २१ देखि ३० वर्ष उमेरका बढी संक्रमित छन्। यो उमेरका १ सय ८१ महिला र १ सय ६९ पुरुष संक्रमित पाइएको छ। भक्तपुरमा पनि २१ देखि ३० वर्ष उमेरसमूहका व्यक्ति नै बढी संक्रमित छन्।

आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि उपत्यकावासी गम्भीर नदेखिएको प्रवक्ता डा. गौतमको भनाइ छ। ‘दिनहुँ अनुरोध गर्दा पनि नागरिकको बानी सुधार्न सकिएन’, उनले भने।

रोग नियन्त्रण महाशाखाका अनुसार ६० वर्षभन्दा माथिका नागरिकमा संक्रमणदर सामान्य छ। २० वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा पनि संक्रमण न्यून छ।

कार्ययोजनाको अभाव

सरकारले बढ्दो संक्रमणको जोखिम घटाउन निषेधाज्ञाबाहेक अन्य कार्ययोजना अघि सार्नुपर्ने सुझाव विज्ञले दिएका छन्। नागरिकले घरमै बसेर सघाउँदा पनि सरकारले अन्य कार्ययोजना अघि ल्याएन। ‘निषेधाज्ञाका बेला काठमाडौं उपत्यकामा पीसीआर परीक्षणको दायरा विस्तार गर्नुपथ्र्यो। शंकास्पद र सम्भावित समूह एवं व्यक्तिहरूलाई परीक्षणको दायरामा ल्याएको भए संक्रमण बढी फैलने थिएन’, डा. मरासिनीले भने।

मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले निषेधाज्ञामा प्रभावकारी उपचार व्यवस्थापन र सीमान्तकृत एवं गरिबलाई निःशुल्क मास्क वितरणमा ध्यान दिनुपर्ने बताए। ‘जीविकोपार्जनका सबै आधार गुमाएर नागरिकले निषेधाज्ञा पालना गरी सहयोग गरे। मास्क किन्न नसक्ने विपन्नलाई सरकारले सहुलियत वा निःशुल्क वितरण गर्नुपर्थ्यो’, उनले भने, ‘उपचारका लागि पूर्वाधार एवं संरचना व्यवस्थापन गरी निषेधाज्ञाको उपयोग गर्नुपर्थ्यो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.