आदर्शको पतन र मौनता
मौन बसेर सत्य बोल्ने अधिकार गुमाएका भीडले वैकल्पिक सत्यको व्याख्या गरेर सत्ताको चाकरी गरिरहेको अवस्था हो
अनेकौं रूप र भूमिकामा रहेका अरिंगालदेखि डराएर सत्ता र शक्ति चिढिने कुनै विषय पनि अब लेख्दिनँ। आदर्शको पतन भएका बेला इतिहास लेख्दिनँ, पढ्दिनँ। क्रान्ति, विद्रोह र संघर्षका कथा चतुरेका सत्तासिँढी हुन् त्यो पनि भन्दै भन्दिनँ। हिजै कमरेड घोचुरामले आएर लल्कार्दै भन्यो, ‘भ्रष्ट र बेइमानलाई अब जय नेपाल र लालसलाम भन्नुभन्दा चटक्कै आफ्नै हात छिनालिदिन्छु। यिनीहरूले आदर्शका नाममा मलाई हत्यारा र लुटेरा बनाए। अब उनकै जीवनलीला छर्लंग भए, चर्तिकला देख्दा बुझ्दै छु। यिनका जेलबसाइ र संघर्षका गौरवशाली कौरवगाथा त नयाँ महाराज बन्न पो रहेछ। आफन्त सन्तान र गुटियार पोस्ने खेल पो रहेछ।’ हो, म त्यसो भन्ने घोचुरामका कथा अब लेख्दिनँ।
क्लेप्टोक्रेसी (भ्रष्टतन्त्रमा) लेख्ने घटना चाङ लागेर कसले वाणी देला भनेर कुरिरहेका छन्। ट्रान्सपरेन्सी इन्टरनेसनलले अवस्था छर्लंग पा र्यो। कुनै बेलाका नायकनायिका फेरिएको सन्दर्भमा सोही सम्मानमा रहँदैनन्। म्यानमारकी आङसाङ सुकीले रोहिग्या मुसलमानप्रतिको उत्पीडन देखाइन्। सन् १९९१ मा नोबल पुरस्कार विजेता सुकीलाई अहिले सो सम्मानबाट पश्चिमा देशले समेत हटाए।
भ्रष्टाचार र आफन्त
परिवार मोह र नेतृत्व चर्चा गरेर कसैलाई व्यंग्य गर्ने नियत हुँदै हैन। सन् १९४३ मा स्टालिनले युद्धबन्दी छोरासँग जर्मन जर्नेलसँग साट्न अस्वीकार गरेपछि याकोबको हत्या नाजीले गरे। माओले कोरियायी युद्धमा मारिएका छोरा आन यिङको शव अन्य सेनाजस्तै त्यहीं दाहसंस्कार गर्न भने, चीन ल्याएनन्। आन्दोलनमा रहेका भीमदत्त पन्तले पनि छोराछोरी आन्दोलनकै क्रममा गुमाए। प्रेमराज, लीलाराज र छोरी रेवाको उपचार र अन्तिम संस्कारमा सहभागी हुन पाएनन्।
मौन बसेर सत्य बोल्ने अधिकार गुमाएका भीडले वैकल्पिक सत्यको व्याख्या गरेर सत्ताको चाकरी गरिरहेको अवस्था हो। सत्ताको केन्द्रीकरण र संवैधानिक संस्थाको औचित्यहीनता बन्दै गरेको अवस्थामा सत्ता असहिष्णु बन्छ।
भ्रष्टता र नेताको सादगी जिन्दगीबारे भारतका उपप्रधानमन्त्री एवं गृहमन्त्री सरदार बल्लभ भाई पटेलले ‘छोराछोरी मणिवेन पटेल र दयाभाइ पटेललाई गृहमन्त्री रहिञ्जेल दिल्ली नआउनु, परिवारवादको आरोप लाग्न सक्छ’ भने। पटेल बाँचुञ्जेल उनीहरू दिल्ली आएनन्। बरु उनको मृत्युपछि छोरी मणिवेनले प्रधानमन्त्री जवाहरलाल नेहरूलाई बहीखाताको किताबसँगै ३५ लाख बुझाइन्। प्रधानमन्त्री लालबहादुर शास्त्रीका छोरा इन्जिनियर हरिकृष्णलाई केही व्यापारीसँग संगत आरोप लागेपछि स्पष्ट नभइञ्जेल प्रधानमन्त्री निवास प्रवेश निषेध भयो। सन् १९७०–८० सम्म विद्रोही छापामार नेता उरुगेयन पूर्वराष्ट्रपति होसे अलबर्तो ‘पेपे’ मुहीका कोर्दानोको सहज र सरल स्वाभिमानी जिन्दगीलाई संसारका आदर्श नेता र सबभन्दा गरिब राष्ट्रप्रमुख भनिन्छन्। यी सबैको चर्चा गरेर आफ्नो नेतृत्वको हुर्मत काढ्ने मेरो कुनै उद्देश्य छैन।
अदालती भ्रष्टाचारका विषयमा पनि लेख्दिनँ। भारतका प्रख्यात वकिल प्रशान्त भूषणले १३ पूर्वप्रधानन्यायाधीश भ्रष्ट छन् भने। भ्रष्टता पैसाको लेनदेनमा मात्रै हुँदैन भनेर प्रमाण पेस गरे। राज्यसत्ता नै नांगिने सो मुद्दामा सिलसिलेबार बहस भने भएन। प्रति मानहानिको दण्ड २० पैसा लगाइयो। नेपाली अदालतबारे विभिन्न चर्चा चलेका छन्। हेरौं, माननीय न्यायाधीश हरिकृष्ण कार्की आयोगले कति स्वच्छ र पारदर्शी अदालत बनाउँछ ?
समय फेरियो, बहस फेरिए
महान् क्रान्तिकारीहरू कसरी ढल्छन् ? कसरी वर्ग सिफ्ट हुन्छ ? बुद्धि र विवेक लिलामी गरेर दुस्मनका बफादार सेवक बन्छन् ? न्युमेन क्लातुराको (लाल मण्डले) जन्म र विकास निर्माण कसरी हुन्छ ? क्रान्ति कसरी प्रतिक्रान्तिमा फेरिन्छ ? अन्टिनियो गाम्स्कीलाई सम्झने किन ? कुरूपतालाई नंग्याउँदै निकोलाई गोगलको गद्दारी र पतनबारे छताछुल्ल पार्ने अलेक्जेन्डर हर्जेनको कथा हालेर ती सत्ता दलाल लेखक र पत्रकारलाई चिढ्याउँदै शत्रु कमाउन पनि चाहन्न।
पक्कै पनि पुराना नायकका नयाँ पहेंलो छविमात्रै रहेको र सिद्धान्त, विचार, मूल्यको विघटन हुँदा अझै पाल्सी कुरा गरेको वा आफ्नो पुरानो हैसियत मक्किँदा पनि उही ह्याङओभर रहिरहेको र महाधिवेशनको चर्चा चलाइरहेको बारे पनि चर्चा गर्दिनँ। हिजोको शक्ति यसरी नांगिएको र नालायकी थिएन जति अहिले क्रान्ति, आदर्श र परिवर्तनको जगमा सत्ता नेतृत्वमा आएका भए। यिनीहरू मात्रै बदनाम भएनन्, हिजोका त्याग बलिदानका योद्धा पनि बदनाम भए। पराजित शक्तिले आफ्नो औचित्य प्रमाणित गर्ने यसलाई अवसर बनायो।
क्रान्तिकारीहरू भाडाका सेना हुन् ? किन क्रान्तिको क्षतिपूर्ति खोजिन्छ ? महेन्द्रले क्रान्तिकारी निष्ठालाई आफ्ना समर्थक बनाउन ०७ सालका योद्धालाई जग्गा र पैसा टंकप्रसाद आयोगका नाममा दिए। जेलनेल, प्रवास र भूमिगत नाममा कृष्णप्रसाद भट्टराई आयोगले ०४८ मा रातो किताबको हविगत र निष्ठाको क्षतिपूर्ति त जगजाहेरै छ। अझ द्वन्द्वपीडित र सहिद, बेपत्ता र जनमुक्ति सेनाका नाममा क्रान्तिको क्षतिपूर्तिबारे यहाँ चर्चा गरेर दुस्मनी कमाउनै छैन। प्रतिकूलताका बेला बनेका आदर्श अनुकूलताका बेला कसरी ध्वस्त हुन्छन् र परीक्षा लिन्छ ? के आफ्नो भ्रष्टता जोगाउन अरूलाई पनि ध्वस्त गर्नुपर्ने हुन्छ ?
एकपटक सांसद किनेर सत्ता पुग्ने खेलका कमान्डरसँग आदर्शहीन कार्यले असल काम भइहाले पनि कालान्तरमा दिगो हुन सक्दैन। यस्तो अनैतिक कामको कसरी नेतृत्व गर्नुभयो भनेर सोध्या थिएँ। उत्तर थियो— कसैगरी सत्ता कब्जा गर्नु क्रान्तिको उद्देश्य हुन्छ। तपाईंका कुरा आदर्श कविता लेखन र पुस्तकमा त सुन्दर हुन्छन् तर व्यावहारिक राजनीतिका लागि कुनै अर्थ राख्दैनन्।
पदबेगर बाँच्न नसक्ने नेता, पदबेगर बाँच्न सक्ने नेतृत्वबारेमा लेख्नु छैन। जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिँदै अस्वस्थ मान्छेले गम्भीर निर्णय लिन सक्दैन भनेकै छन्। जब पद र पैसासँग मुद्दा र स्वतन्त्रता साटिनु वा किनबेच हुन्छन् भने त्यहाँभन्दा बढी पार्टी र व्यक्तित्व विघटन अरू के रहन्छ र ? तर पनि पछुवा पछि लागिरहन्छन्। भ्रममा बच्ने अभ्यस्त हुन्छन्। भय र अपेक्षाको घिडघिडो रहिरहन्छ। आफ्नै सपनीको दुर्दशा देखेर पनि मान्छे उदासीन, आक्रोशित, नयाँ योजना र नवीन मार्ग किन छान्दैन भने या त ऊ मूर्ख हो या चतुर व्यवसायी।
जनयुद्धको समीक्षा नै नगरी माओवादी फुट्यो। चिराचिरा भयो। मूल कमान्डर नै जहाज छाडेर अलग्गिए। तब न विरोधीले लगाउने आरोपको यथोचित जवाफ दिइएन। पछिल्लो भेटमा डा. बाबुराम भट्टराईले जनयुद्धलाई ‘रेडिकल डेमोक्रेटिक मोभमेन्ट’ भने। उनी चालक सिटमा थिए, त्यही जहाजमा अन्य अभियन्ता सवार यात्री। त्यसबेला त के भने ! यी डाक्टरले भनेर अचम्म मानेको थिएँ। उनले कम्युनिस्ट पार्टी छाडेर नयाँ शक्ति सुरु गरे। त्यो कति नयाँ शक्ति बन्यो ! तर उनले नयाँ बहस भने छाडे। जुन मूल्य, आदर्श, सिद्धान्तका लागि संगठन बनेको हुन्छ, त्यही नरहेपछि वा फेरिएपछि सो संगठनको औचित्य पनि सकिन्छ। पार्टी त एक उद्देश्य प्राप्तिको हतियार मात्र हो। जब लक्षहीन, आदर्शहीन, शक्ति बन्छ तब पार्टी, पार्टी रहँदैन। अब कांग्रेस र सरकारी नेकपा दुवैले आफ्नो मौलिक चरित्र गुमाइसकेकाले विघटन भइसकेको पार्टीलाई ट्रेडमार्कका रूपमा चलाउनु आवश्यक छैन। महात्मा गन्धीले बेलायतबाट भारत स्वतन्त्रतासँगै भारतीय कांग्रेसको विघटन गरिदिए हुन्छ त्यसै भनेका हैनन्।
अहिले देशैभरि आत्महत्या त बढेकै छ, मध्यम वर्ग त तहसनहस नै भयो। रुकुमपश्चिमको नवराज विकलगायतको हत्यापछि मात्रै मधेसमा आठ दलितको हत्या भयो। यसैबेला कोरानाले भोकमरी परेका कैलाली धनगढीका रोशन विक भदौ २२ चोरी मुद्दामा पक्राउ परेर २६ मा हिरासतमै भएको मृत्युलाई हत्या÷आत्माहत्या भनियो ?। अनर किलिङ (सम्मान रक्षाका लागि हत्या) यसै पनि ‘स्वाभिमान, जात र धर्मको रक्षा’ विष्ट कुलको मान्छेले दलित विषय किन उठाएर झन्झट बेहोर्ने ? भो, छाडिदिऊँ यो विषय पनि लेख्दिनँ।
अन्त्यमा
मौन बसेर सत्य बोल्ने अधिकार गुमाएका भीडले वैकल्पिक सत्यको व्याख्या गरेर सत्ताको चाकरी गरिरहेको अवस्था हो। सत्ताको केन्द्रीकरण र संवैधानिक संस्थाको औचित्यहीनता बन्दै गरेको अवस्थामा सत्ता असहिष्णु बन्छ। स्टेभिन लेभेन्स्की र डेनियल जेबेटले ‘कसरी प्रजातन्त्रको मृत्यु हुन्छ ? ’ भनेर लेखिसके। तब यहाँ लेखनको औचित्य र आलोचनात्मक चेत भनेको ‘आ बैल, मुझे मार’ हुन्छ नै।
बाँधिएको आत्मा भनेको भीरमा तुन्द्रुंग झुन्डिएको कुभिन्डोजस्तै हो, पेन्डुलम झैं झुल्छ। पक्ष छान्ने सहास गर्दैन। पार्टीको आधारभूत सिद्धान्त, राट्रिय र अन्तर्राष्ट्रिय अभ्यास, संगठनका चरित्र, मित्र र शत्रुको किटान, लक्ष निर्धारणअनुसार नेता–कार्यकर्ता रहँदैन भने त्यो पार्टीको कुरै छाडौं, दबाब समूह पनि बन्ने हैसियत राख्दैन। त्यस्तो पार्टीको कार्यकर्ता बन्नु र ती नेतृत्वलाई सम्मान गर्नु भनेको जस्तै लेखनअनुसार लेखकका जीवन, मान्यता र आदर्श लेखकले राख्दैनन् भने त्यस्ता लेखनको पनि कुनै महŒव रहँदैन। किन लेख्ने ? कसका लागि लेख्ने ? लेखनको प्रायोजन के ?