बाढी आएकै बाटो फेरि मोटरबाटो !

बाढी आएकै बाटो फेरि मोटरबाटो !

बागलुङ : ढोरपाटनमा २२ जनाको मृत्यु र १६ जना बेपत्ता हुने गरी आएको बाढीले क्षतिग्रस्त बनाएको सडक पुनः निर्माण गर्न थालिएको छ । तर, बाढीले धेरै बस्ती र बाटो बगर बनाएकाले बाढी आएकै स्थानबाट सडकको नयाँ ट्रयाक खोल्नुपर्ने बाध्यता बनेको छ । 

वर्षायाम बाँकी नै भएकाले जोखिमपूर्ण भए पनि तत्कालको ठूलो समस्या समाधानका लागि बाढी आएकै बाटो मोटरबाटो तयार गर्ने प्रयास भइरहेको ढोरपाटन वडा नम्बर ९ का अध्यक्ष हरि घर्तिले बताए ।

जिल्लाको पश्चिम बुर्तिबाङ बजारबाट ढोरपाटन–सालझण्डी (अर्घाखाँची) जोड्ने सडक गत भाद्र १७ गते राति आएको भीषण बाढीले बगाएपछि सवारी आवागमन ठप्प छ । बाढीग्रस्त क्षेत्रका धेरै ठाउँमा पैदल मार्ग समेत मेटिएको छ । 

खोला भन्दा केही माथिबाट खनिएको सडकको १० किलोमिटर बाढीले बगरमा परिणत गरेको छ । सडक नहुँदा राहतका साथै बिरामीहरु स्वास्थ्य संस्था लैजान समेत निकै सकस भएको वडा अध्यक्ष घर्तिले गुनासो गरे । 'सडक छैन, सञ्चार छैन, भौगोलिक कठिनाई उस्तै जटिलताका बीच छ,' उनले थपे, 'सडक नभई सञ्चार लगायतका अरु सेवा, सुविधा र राहतका काम पनि प्रभावकारी बनाउन कठिनाई भएकाले सडकमै जोड दिएका छौं । तर, अहिलेको काम धेरै वर्षा भयो भने फेरी बालुवामा पानी जस्तो हुने अवस्था र जोखिम पनि कायमै छ ।'

अहिले बाढी प्रभावित क्षेत्रका नागरिक अप्ठ्यारो हिलाम्य सडकमा घण्टौको सकसपूर्ण पैदल यात्रा गर्न बाध्य छन् । प्रभावित क्षेत्रका लागि बिभिन्न संघ संस्था र व्यक्तिहरुले दिएको राहत पनि सबै बाढीग्रस्त क्षेत्रमा लगेर बितरण गर्न कठिनाइ भएको छ । जसका कारण राहत स्वरुप दिएका खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री बुर्तिबाङमै थुप्रिएका छन् ।

विपद् पछि सवारी आवागमन ठप्प भए पछि सडकको नयाँ ट्रयाक तयार गर्न थालिएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए । 'राहत पुर्‍याउन समेत कठिनाइ भएपछि तत्कालका लागि बाढी आएकै ठाउँबाट बाटो बनाएर सडक सूचारु गर्नुपर्ने बाध्यता भयो, 'नगर प्रमुख नेपालीले भने,‘जतिसक्दो छिटो सडक खुलाउने गरि अहिले ३ वटा डोजर प्रयोग गरेर खोलाकै छेउबाट सडक बनाउने काम भइरहेको छ ।' अहिले ढोरपाटन  ९ को वडा कार्यालय सम्म सवारी आवागमन हुन थालेको छ । यो स्थानबाट पनि २ घण्टा बढीको पैदल यात्रा पछि मात्र बाढीले सबै भन्दा धेरै क्षति पुर्‍याएको माथिल्लो गाउँमा पुग्न सकिन्छ । 

सरकारको प्राथमिताकामा रहेको आयोजना मध्येको एक सालझण्डी–ढोरपाटन सडक पुरानै अवस्थामा ल्याउन निकै कठिन देखिएको आयोजना कार्यालयले जनाएको छ । यसका लागि करिब ६० करोड रुपैयाँ खर्च लाग्ने स्थलगत अध्ययनका क्रममा देखिएको सालझण्डी ढोरपाटन सडक आयोजना कार्यालय सन्धिखर्क अर्घाखाचीका आयोजना प्रमुख जयलाल मरासिनीले बताए । 

'अहिले सिधा सवारी आवागमन हुने गरि नयाँ ट्रयाक मात्र खोल्ने काम गरिरहेका छौ’,उनले भने, 'तत्कालको कामका लागि पाँच करोड जति लाग्न सक्ने अनुमान हाम्रो छ, साना सवारी ढोरपाटनको देउराली सम्म पुग्ने गरि काम गरेका छौ । तर, वर्षा भएर फेरी बाढी पहिरो आयो भने समस्या हुन सक्छ ।’ तत्कालको समस्याका लागि बाढी बगेकै स्थानबाट ट्रयाक बनाए पनि दीर्घकालिन सोच र योजना के कसरी अघि बढाउने भन्नेमा पछि थप अध्ययन र छलफल गरेर काम अघि बढाइने आयोजना प्रमुख मरासिनीले बताए । 

बाढीले सबैभन्दा बढी ढोरपाटन नगरपालिका–९ मा ठूलो जनधनको क्षति गरेको छ । बाढीले भूजीखोलाको किनाराबाट गएको सालझण्डी–ढोरपाटन सडक सहित ११ लघुजलविद्युत आयोजना, २ विद्यालय, एक स्वास्थ्य चौकी र ११ झोलुङ्गे पुल बगाएको ढोरपाटन नगरपालिकाले जनाएको छ । 

बाढीले भूजीखोलामा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा ७,८ र ९ पुरै अन्धकार बनेको छ । बिद्युत नभए पछि सञ्चार सेवा समेत अवरुद्ध छ । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन बगाएको छ ।  खानेपानी र सिञ्चाइको मुहान, पाइप र धारा पनि बगाए पछि पिउने पानीका लागि समेत सकस भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.