गुल्मीमै पीसीआर परीक्षण
गुल्मी : कारोना भाइरसको संक्रमण दिनानुदिन समुदायमै फैलिरहेको अवस्थामा जिल्लामै पीसीआर परीक्षण सुरु भएको छ । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न र छिटो छरितो पीसीआर परीक्षण गरी संक्रमित भए नभएको पुष्टि गर्न अब जिल्लामै पीसीआर परीक्षण सुरु भएको हो ।
बिहीबारदेखि जिल्लाको रेसुंगा नगरपालिकास्थित उपल्लो तमघासमा कोभिड १९ परीक्षण प्रयोगशाला स्थापना गरी पीसीआर परीक्षण सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको रेसुंगा नगरपालिकाले जनाएको छ । केही दिनमै उक्त परीक्षण प्रयोगशालाबाट पीसीआर परीक्षण हुने भएको हो ।
परीक्षण प्रयोगशालाको उद्धघाटन परराष्ट्रमन्त्री एंव सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले गरेका छन् । ज्ञवालीले कोरोना भाइसरको जोखिम कायमै रहेकाले सचेत हुन र नागरिकलाई संक्रमणको जोखिमबाट बचाउन सबैपक्ष सचेत हुनुपर्ने उल्लेख गरे ।
उनले आजदेखि लामो दुरीका यातयात खुलेपनि सरकारले तोकेका स्वास्थ्यका मापदण्ड अपनाएर यातयात सञ्चालन गर्नुपर्ने बताए । ज्ञवालीले लामो समयसम्मको लकडाउनले अर्थतन्त्रलाई असर पुर्याएको उल्लेख गर्दे सरकारले आर्थिक गतिविधि सञ्चालन गर्न लकडाउन खुकुलो बनाए पनि उच्च सावधानी अपनाउन नागरिकलाई आग्रह गरे ।
नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेले ढिलो गरी सञ्चालन भएको पीसीआर परिक्षणले नागरिकलाई सहज हुने बताए । पाण्डेले लामो समयसम्म संक्रमितको रिपोर्ट नआउँदा समुदायस्तरमा कोरोना भाईरसको जोखिम बढेको उल्लेख गर्दे जिल्लामै पीसीआर परिक्षण सुरु भएपछि जोखिम न्युनिकरण हुने बताए ।
यसअघि गुल्मीका व्यक्तिको स्वाव संकलन गरी रुपन्देही पठाउनुपर्ने बाध्यता थियो । स्वाव संकलन गरी पठाएको लामो समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टाईनमा बसेका व्यक्तिहरुले असन्तुष्टी व्यक्त गर्दे आइरहेका थिए । गुल्मीबाटै पीसीआर परीक्षण हुने भएपछि स्थानीय खुसी छन् ।