‘कि हि वल कि खि वल’
गणेशमानजी चार सहिदसँग मिलेर राणाशासन ढाल्ने क्रान्तिमा होमिनुभयो। राणाहरूको जेलबाट उम्किन सफल हुनुभयो। भारतमा गएर नेपाली कांग्रेस खोली २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभएको मलाई थाहा थियो। गणेशमानसँग मेरो पहिलो भेट २००८ सालमा उहाँ उद्योग वाणिज्यमन्त्री हुँदा भएको थियो। दिल्ली सम्झौतापछि बनेको राणा र कांग्रेसको संयुक्त सरकारका समयमा भरतशमशेरको खुकुरी दलले काठमाडौंमा निकै अशान्ति र उत्पात मच्चाएको थियो। त्यस्ता आतंक र अशान्तिका विरुद्ध प्रतिकार गर्ने उद्देश्यले हामीले पाटनमा ललितपुर सुरक्षा केन्द्र गठन गरेका थियौं। यसको अध्यक्ष म स्वयं थिएँ भने सचिवमा प्राध्यापक आशाराम शाक्य हुनुहुन्थ्यो। यसको काम थियो– कतै खतरा हुनासाथ घन्टी बजाएर एक ठाउँमा भेला हुने र आतंककारीलाई लखेट्ने। त्यो अभियान पछि काठमाडौं र भक्तपुरमा विस्तार भयो।
उहाँ वीर र साहसी व्यक्ति हुनुहुँदो रहेछ भन्ने जानकारी जेल तोडेर भागेको घटनाबाट भएको थियो। उहाँसँगै जेलमा उहाँजस्तै हट्टाकट्टा र पढेलेखेका अरू पनि थिए तर उहाँलाई नै त्यसरी ज्यानको बाजी थापेर भाग्ने प्रेरणा कहाँबाट मिल्यो होला भन्ने मेरो मनमा खुल्दुली भने भइरहन्थ्यो। जब २०४६ को जनआन्दोलनपहिले जब जेलबाट मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनालीहरू छुट्नुभएपछि उहाँहरूको सम्मानमा त्रिचन्द्र कलेजमा विद्यार्थीको एउटा कार्यक्रममा गणेशमानले बोल्ने भन्ने थाहा पाएपछि म सुन्न गएको थिएँ। त्यहाँ बोल्दा उहाँले नेवारी भाषाको एउटा उखान प्रयोग गर्नुभयो। त्यो उखान घतलाग्दो थियो। ‘कि हि वल कि खि वल’ यसको नेपालीमा अर्थ ‘गर या मर’। गणेशमानले नै त्यो भावनालाई प्रतिनिधित्व गर्ने एउटा भाषा खोज्नुभएको थियो- ‘वार कि पार’। वार कि पारलाई उहाँ अक्सर भाषण गर्दा प्रयोग गर्नुहुन्थ्यो। तर म बढी प्रभावित भएको चाहिँ त्यही नेवारी भाषाको उखानले हो। त्यो त मानिसको रगत उमाल्ने उखान पो रहेछ। मानिसको जीवनमा एउटा ससानो त्यस्तो क्षण आउँछ, जसले जीवनलाई आमूल रूपमै परिवर्तन गरिदिन्छ। त्यस्तै गणेशमानको परिवार सम्पन्नशाली हुँदाहुँदै पनि सम्पूर्ण सुखसुविधा, ऐसआराम पुग्ने हुँदाहुँदै पनि उहाँको मनमा सबै नेपाली जनता आफूजस्तै समान हुन् र सबैले समान अधिकार उपभोग गर्न पाउनुपर्छ भन्ने भावना जन्म्यो। त्यसैले त कि हि वल कि खि वलको सम्पूर्ण शैलीमा जीवन नै समर्पित गर्नुभयो। जनताबाट सर्वोच्च, सर्वमान्य, प्रजातन्त्रका पिता, लौहपुरुषका अनेक अलंकारले सम्बोधित हुनुभयो। यो एकदम सार्थक पनि छ। उहाँ उत्तम श्रेणीका त्यागी पनि हुनुहुन्थ्यो। आफूले लगाएको कोटसमेत फुकालेर अरूलाई दिने दया र सहयोगी भावना उहाँको स्वभाव नै थियो।
राष्ट्रप्रेम अथवा राष्ट्रवादिता त उहाँमा भरिएर नै यत्रो ठूलो सम्मान र आदर कमाउनुभयो। राष्ट्रिय हितलाई सोचेरै उहाँले आफूले पाएको प्रधानमन्त्रीको पद त्याग्नुभयो। आफू बाहिर बसेर अर्कालाई प्रधानमन्त्री बनाइदियो भने त्यसले काम गर्न अझ सजिलो होला भन्ने धारणाले उहाँले पाएको प्रधानमन्त्री पद अर्कालाई दिनुभयो। तर जसरी काम गर्नुपथ्र्यो त्यसरी गरिदिएनन्। पछिल्ला दिनमा जसरी प्रजातन्त्र चल्नुपथ्र्यो, त्यो नचलेको देखेर सबै राजनीतिक पार्टी खास गरेर आफ्नो पार्टी नेपाली कांग्रेसले प्रजातन्त्रका सम्पूर्ण आदर्श कुल्चेको देखेर उहाँ धुरुधुरु रुनुभएको थियो। म लोकसाहित्य परिषद्को संस्थापक हुँ। परिषद्ले बेलाबेलामा भाषा, संस्कृति, इतिहास र धर्मबारे गोष्ठी गरिरहन्छ। दुईपटक हामीले गणेशमानलाई प्रमुख अतिथि बनाएका थियौं। एकपटक त उहाँ देशको अवस्थाबारेमा बोल्दाबोल्दै धुरुधुरु रुनुभयो। त्यसबेलाको त्यो तस्बिर अहिले पनि मसँग छ। त्यस्तो मानिसलाई साम्प्रदायिकता र परिवारवादको आरोप लगाउनुहुन्छ ?
उहाँमा साम्प्रदायिक भावना भएको भए आफूले पाएको प्रधानमन्त्री पद एउटा बाहुनलाई दिनुहुन्थ्यो ? त्यही पदका लागि आज सबै तँछाडमछाड गरिरहेका छन्। त्यस्तो पद आफूले पाउँदा एउटा बाहुनलाई दिनु नै उहाँमा साम्प्रदायिक भावना कत्ति पनि थिएन भन्ने प्रमाण हो।
(जोशीको यो लेख ‘इतिहास पुरुषका दृष्टिमा गणेशमान सिंह’ पुस्तकबाट साभार गरिएको हो ।)