जेलहरू कोचाकोच : कोरोना संक्रमणको उच्च जोखिम
काठमाडौं : कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका कारण कोरोना संक्रमणको उच्च जोखिम रहेको छ। क्षमता विस्तारका लागि कारागार व्यवस्थापन विभागले मातहत गृह मन्त्रालयमा पटकपटकको ताकेतापछि केही कारागार निर्माणाधीन अवस्थामा छन्।
अहिले कोरोनाको त्रास र कारागारमा क्षमताभन्दा दोब्बरको संख्यामा कैदीबन्दी रहेका कारण विभाग तनावमा छ। ७४ वटा कारागारमा जम्मा १८ हजार जना कैदीबन्दी राख्ने क्षमता हो । तर अहिले यी सबै कारागारमा कूल २६ हजार एक सय ८७ जना कैदीबन्दी छन्।
केन्द्रीय कारागार सुन्धाराको कैदीबन्दी क्षमता एक हजार पाँच सय मात्रै हो । तर, अहिले उक्त कारागारमा स्वदेशी र विदेशीगरि तीन हजार तीन सय ५८ जना कैदीबन्दी छन्। यो संख्या क्षमता भन्दा दोब्बर हो। ३१ जनामा कोरोना संक्रमण देखिएको उक्त कारागारमा अहिले एक जना मात्रै निको हुन बाँकी छन्। बाँकी सबै नियमित उपचारपछि संक्रमण मुक्त भइसकेको विभागले जनाएको छ।
सिराहा कारागारको कैदीबन्दी क्षमता एक सय ५० जना मात्रै हो। उक्त कारागारमा अहिले पाँच सय ६० जना छन्। तीमध्ये पाँच जनामा अहिले कारोना संक्रमण देखिएको छ। उक्त कारागारमा कैदीबन्दीको उच्च चापका कारण कन्ट्याक ट्रेसिङ धेरैमा देखिएपछि कोरोना परीक्षण गर्दा सबै जसो कैदीबन्दीमा संक्रमण देखिएको हो।
सिरहापछि सप्तरी जिल्ला कारागाराको कैदीबन्दी क्षमता एक सय ५५ जना हो। अहिले उक्त कारागारमा एक सय ३२ जना कैदीबन्दी छन्। तीमध्ये १७ जना अहिले संक्रमित छन्।
विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार बिहीबारसम्म देशभरका ७४ वटा कारागारमध्ये ११ वटा कारागारमा कोरोना संक्रमित छन्। केन्द्रीय कारागार सुन्धारा, सिरहा र सप्तरीपछि पाँचथर कारागारमा तीन जना, सुनसरीमा १४ जना र ललितपुरको नख्खुमा दुई जना संक्रमित छन्। सापकोटाका अनुसार विभिन्न कारागारका एक हजार पाँच सय १५ जना कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। जसमध्ये ६ सय ७० जनामा कोरोना पोजिटिभ देखिएको थियो। एक सय २४ जना निको भइसकेका छन् । बाँकी पाँच सय ३८ जना अझै उपचाररत रहेका छन्। कोरोनाकै कारण पाँच जना कैदीबन्दीको मृत्यु भएको र तीन जना संक्रमण निको भएर छुटे।
सापकोटाका अनुसार पर्सा, स्याङ्जा, सिन्धुपाल्चोक र जुम्ला कारागारमा संक्रमित सबै निको भइसकेका छन्। कारागारमा उच्च सावधानी अपनाउँदा पनि संक्रमण प्रवेश गरेको दावी सापकोटाको छ। ‘हामीले संक्रमणको सुरुको चरणदेखि नै सतर्कता अपनाएका हौं । क्षमताभन्दा धेरै कैदीबन्दी भएका कारागारमा पनि अहिलेको संक्रमित संख्या कमै हो । सावधानी अपनाएका छौं,‘ सापकोटाले अन्नपूर्णसँग भने, ‘ खासगरी अस्पताल र अदालत लैजाँदा पीपीई लगाएरै पठाउँछौं । परीक्षणपश्चात संक्रमण देखिएकालाई क्वारेन्टाइनमा अस्पतालमा पठाएर उपचार गर्छौं। ’ उनले तराईका जिल्ला र उपत्यकाका कारागारमा क्षमताभन्दा अत्यधिक धेरै कैदीबन्दी रहेकाले पनि संक्रमणको सम्भावना उच्च रहेको बताए।
विभागका एक उच्च अधिकृतले कारगारको अवस्था दयनीय रहेको बताए।कारागारलाई सुधार गृह बनाउने भनेर पटकपटक गृहलाई ध्यानाकर्षण गराउँदा पनि खासै सुनुवाई नभएको ती अधिकृतले बताए। उनले भने,‘ जेल सुधारका लागि पटकपटक समिति गठन भए । प्रतिवेदन गृहमै थन्किएको छ । विभागले पनि अध्ययन गरेर प्रतिवेदन पेश गरिसकेको छ। कारागारको क्षमता वृद्धि गर्ने भन्ने बित्तिकै गृहका अधिकारीको टाउको दुख्छ।’