ठिनीमा मनाइयो फालो
जोमसोम : मुस्ताङको घरपझोङ गाउपालिका-५ ठिनी गाउँमा स्थानीयले विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोना भाइरस अन्त्यको कामना गर्दै थकालीहरूको सांस्कृतिक पर्व फालो मनाएका छन्।
मंगलबारदेखि सुरु भएको फालो बुधबार सकिएको छ। खेतीपातीको काम सकेर फुर्सदिलो महिनामाफालो मनाइने ठिनीका स्थानीय नारायणप्रसाद थकालीले जानकारी दिए। थकाली पात्रोको आठौं महिनालाई फालो महिना भनिन्छ। फालो पर्व भदौ महिनामा पर्ने भएकाले यसलाई ठिनी भदौ मेला पनि भनिन्छ।
परापूर्वकालमा तिब्बतीयन मुलुकका तीनआँखे राजा थर्कोचेनका दाजुभाइ चारै दिशातर्फ फैलिने क्रममा राजा थर्कोचेन ठिनी गाउँमा प्रवेश गरेको स्थानीय कुलबहादुर थकालीले सुनाए। उनका अनुसार राजा थर्कोचेन मुस्ताङ आउने क्रममा खाने, बस्नेलगायत बन्दोबस्तीका सामान लिएर ठिनी गाउँमा प्रवेश गरेको उनको भनाइ छ। त्यसकालमा ठिनी गाउँमा आएका त्यस समयका राजा थर्कोचेनले भारी बोकाएर ल्याएको याक ठिनी गाउँमै थचक्कै रोकियो र त्यसपछि लामो समय राजा ठिनीमै बसेको भन्ने धार्मिक किंवदन्ती छ। ऐतिहासिक ठिनीका राजाले याक लिई ठिनी गाउँ आएको सम्झना गर्ने क्रममा ठिनीका थकाली समुदायले फालो पर्व मनाउने गरेको बूढापाका थकालीको भनाइ छ।
ऐतिहासिक विशेषता झल्कने सांस्कृतिक गतिविधि देखाउने चलन छ। फालो पर्वमा ठिनीका उमेर नाघेका थकाली समुदायका महिला र पुरुषले आफ्नो सांस्कृतिक भेषभूषामा विवाह व्रतबन्धमा गाइने गीत गाउँछन्। फालोमा व्यंग्यात्मक याकनृत्य, जोगी नृत्य र विभिन्न प्रहसन देखाइन्छ। राजा थर्कोचेनको उपस्थितिमा उनका सेनाले त्यो समय धनुषबाण, खुकुरी र ढाल लिएर गरिने मनोरञ्जनात्मक सांस्कृतिक नाटक अवलोकनका लागि स्थानीयको उल्लेख्य उपस्थिति हुन्थ्यो तर ,कोरोना कहरका कारण गाउँभित्र मात्रै सीमित जनशक्तिले सांस्कृतिक गतिविधि देखाएका छन्।