निमेषमै उजाडिएको ढोरपाटनमा बाढीको जोखिम उस्तै

निमेषमै उजाडिएको ढोरपाटनमा बाढीको जोखिम उस्तै

बागलुङ : बाढीले बितण्डा मच्चाएको घटनाले ढोरपाटनवासी आहत छन्  । २२ जनाको ज्यान र १६ जना बेपत्ता हुनेगरी आएको भुजीखोलाको बाढीले दिएको चोट कहिल्यै नर्बिसे पनि बाढी पीडित सम्हालिने कोशिसमा छन् । कति प्रभावित परिवार बगर बनेका घरको आशा मारेर नयाँ घर बन्ने अपेक्षामा छन् । कति परिवारका सदस्य गुमाए पनि दैवको खेल सम्झेर मन बुझाउने विवशतामा छन् । तर, दुई साता अघिको पहिरोसँगै आएको बाढीको बेदना भुल्न नपाउँदै फेरी बाढी पहिरो आउने भयले स्थानीय त्रसित छन् । 

गत भाद्र १७ गते राति ढोरपाटन शिकार आरक्षको देउराली पहाड नजिकैबाट खसेको पहिरोले खोला थुनिदै बग्दै गर्दा भुजीखोलामा भीषण बाढी आएको थियो । जसमा परि २२ जनाले एकै निमेषमा ज्यान गुमाएका थिए भने १६ जना अझै हराइरहेका छन् । ८० पूर्ण सहित १ सय ३० भन्दा बढी घरमा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । 

अघिल्लो साता पहिरोसँगै बाढी आएकोस्थल नजिकै पावर हाउस बनाउने क्रममा मनपरी जंगल फडानी समेत गरिएकाले अझै पनि जोखिम कायमै रहको स्थानीय मिनबहादुर पुनले बताए । 'आरक्ष नजिकैको देउराली आसपासको पहाड ठाउँ ठाउँमा चर्किएको छ, 'पुनले भने, 'घर खेतबारी सबै गुमाए पनि बल्ल बल्ल ज्यान जोगाएका छौं, अब फेरि कहिले उस्तै बाढी आउँछ र ज्यान लिन्छ भन्ने पिरले सताइरहेको छ ।'

पहिले पहाड खसेको स्थान नजिकैको जंगलको ठूलो भाग रुखहरु सँगै चर्किएकाले जुनसुकै समय फेरी बाढी आउने जोखिम रहेको ढोरपाटन वडा नम्बर ८ का अध्यक्ष नन्दे बिकले बताए । 'बाउ बाजेले पहिले गाली गर्दै खोलाको तिरमा कहिल्यै नबस्नु भन्थे । गरिबी, बाध्यता र चेतनाले बस्दा सोच्दै नसोचेको घटना भयो,' वडा अध्यक्ष बिकले भने, 'यस्तो दुखद घटना पछि म आफै सबै भन्दा माथि पहिरो झरेको देउराली पुगे, त्यहाँ त रुखै सहित अझै ठूलो भाग चर्किएको छ । अलि ठूलो वर्षा भए फेरि पहिरो र बाढी आउने जोखिम उस्तै देखिएको छ ।' 

यदी फेरि पहिरो खसेर पूर्ववत रुपमा बाढी आउने हो भने त्यसले ढोरपाटन नगरपालिकाको वडा नम्बर ९,८,७,६,५ हुँदै उदयमान शहरको बस्ती रहेको बुर्तिबाङ बजार सम्म असर गर्न सक्ने स्थानीयले बताएका छन् । अहिले बाढी प्रभावित परिवार पहिलेकै घर रहेको आसपासका घर र पाँल मुनि रात काटिरहेका छन् । 

अविरल वर्षा जारी रहे ठुलो पहिरो सँगै बाढीको जोखिम कायमै रहेकाले बाढी पीडित र जोखिमयुक्त वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्नुपर्नेमा सरकारले ध्यान दिनुपर्ने स्थानीय भीमबहादुर कामीले बताए । 'अहिलेको बाढी मेरो परिवारका लागि ठूलो काल बनेर आयो, मेरा दुई भाईका १ छोरा, २ छोरी बाहेक ८ जना सदस्य गुमाए,'उनले भने, ‘अब फेरी यस्तो घटना कसैलाई नपरोस्, सरकारले समयमै ध्यान दिओस् ।'

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले यसबारेमा अहिले सम्म जानकारी नआएको बताए । 'हामीले विपद् व्यवस्थापनको प्रहरी टोलीलाई बाढी आएको माथि सम्मै स्थलगत अध्ययनका लागि पठाएका थियौ,' प्रजिअ न्यौपानेले भने, ‘तर अहिले सम्म उनीहरुले केही रिपोर्ट गर्नुभएको छैन, यदि माथिल्लो भाग चर्किएको र अरु जोखिमपूर्ण हो भने हामी सम्भाव्य पहलकदम सबै चाल्छौं ।'

ढोरपाटनका अधिक बासिन्दा अहिले ढोरपाटन उपत्यकाका गोठमा घुम्ती बसाइका लागि गएका छन् । यदी घुम्ती बसाइ नभएको भए अघिल्लो साताको बाढीले अझ ठूलो संख्यामा मानवीय क्षति हुन सक्थ्यो । केही भने ढोर गए पनि खर्च सकिएर लिन आएको बेला बाढीमा परेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.