सीमा सुरक्षामा रिजर्भ गण
बर्दिबास : सीमा नाकाको सुरक्षाका लागि महोत्तरीको बर्दिवास नगरपालिका– ४ मा सशस्त्र प्रहरीले 'रिजर्भ गण' स्थापना गरेको छ । बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल प्रदेश -२ छिन्नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ 'रिजर्भ गण 'को हेड क्वाटरमा बाहिनी कार्यालयका डीआइजी कृष्णभक्त ब्रम्हचार्यले 'रिजर्भ गण' को उद्घाट गरेका छन् ।
रिर्जभ गणले सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनका लागि काम गर्ने छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार २९ गते 'रिर्जभ गण 'को स्थापना गर्ने निर्णय गरेको थियो ।
गणले विपद व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने अवैध क्रियाकलापका बारेमा काम गर्ने डीआइजी ब्रम्हचार्यले बताए । एसपीको नेतृत्वमा प्रदेश–२ को महोत्तरी र बारा गरी दुई स्थानमा रिर्जभ गणको स्थापना गरिएको हो ।
बर्दिबासस्थित गणमा एसपी सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ ज्ना जनशक्ति परिचालन हुनेछन्। प्रदेश २ का ८ वटै जिल्ला सीमासँग जोडिएको छ । प्रदेश भरी ४ सय ६४ किलोमिटरको नेपाली भू–भाग भारतसँग जोडिएको छ ।
आठ जिल्लाबाट भारत प्रवेश गर्ने २ सय ४६ ठूला-साना सीमानाका छन् । सीमा सुरक्षाको लागि प्रदेश २ अन्तर्गत सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र बारामा नयाँ वीओपीहरु थप गरिने प्रदेश २ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलले रिर्जभ गण स्थापना तथा वीओपीका थप पोष्ट र जनशक्ति बढाएसँगै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने सीमाक्षेत्रका सर्वसाधारणले बताएका छन् ।