बाजुरामा बाढी, ३ जना बेपत्ता, दर्जन बढी घरमा क्षति
बाजुरा : जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीमा बिहीबार राती परेको अविरल वर्षाका कारण आएको बाढीले ३ जना बेपत्ता भएका छन् भने दर्जन बढी घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।
अविरल वर्षासँगै सुपाना खोलामा आएको बाढीमा परी तीनजना बेपत्ता भएको बिच्छ्याँ प्रहरी चौकीले जानकारी दिएको छ । घटना भएको ठाउँ सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दूरी लाग्छ। सो क्षेत्र संचारको पहुँचमा नहुँदा घटना शुक्रबार मात्रै थाहा पाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाका अनुसार बिहीबार दिउँसो माछा मार्न सुपाना खोलामा गएका ३ जना सम्र्पकमा नआएका जानकारीमा आएको बताए। बिच्छ्याँ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा परम्परागत घट्ट र ३ वटा काठेपुल पनि बगाएको छ । खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छानासहित पाक्न लागेको धानबाली र कोदा बालीमा क्षति पुगेको स्थानीयले बताए।
यस वर्षको वर्षातबाट प्रभावित बाजुरा अहिले पनि पहिरोले क्षति पुर्याएका कारण तंग्रन पाएको छैन । जिल्लामा बाढीले हालसम्म ७ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । यस्तै ६३ घर पूर्णरुपमा क्षति भएका छन् । ५ वटा उद्योग बगाएको छ भने ४ सय ३५ जनसंख्या विस्तापित भएको छ ।