‘फायर’ जसले बदल्यो बलिउडको धार

‘फायर’ जसले बदल्यो बलिउडको धार

काठमाडौं : बलिउड निर्देशक तथा लेखक दीपा मेहता आफ्नो फिल्म ‘फायर’लाई लेस्वियन विषयमाथि बनेको फिल्म मात्रै हो भन्न चाहन्नन्। तर फिल्मको वजनदार दृश्य भनेकै अभिनेत्रीद्वय नन्दिता दास र सावना अज्मीबीचको आकर्षण नै हो। उनीहरूको रोमान्टिक बेडसिन, एक–अर्काप्रतिको प्रेम र रात्रिकालीन संवादले फिल्म फरक धारमा मोडियो। पितृसत्ताले बनाएको प्रेमको परम्परागत नियमविरुद्ध उठेको दह्रो प्रश्न पनि हो, फिल्म फायर।

सन् १९९६ अर्थात् आजभन्दा २४ वर्षअघि बनेको फायर आज पनि उत्तिकै लोकप्रिय छ। फायरमा उठाइएको विषयले समाजको परम्परागत मान्यतामाथि धेरै प्रश्न गरेको छ। परम्परागत मान्यतामा प्रेम भन्नासाथ विपरीत लिंगीप्रति उत्पन्न हुने भाव बुझिन्छ। महिलाको पुरुषसँग र पुरुषको महिलासँग मात्रै प्रेम हुन्छ भन्ने मान्यता समाजमा विस्तारै भत्कने क्रममा छ। यही मान्यता भत्काउन निर्देशक मेहताले बलिउडमा फरक विषय चयन गरेकी थिइन् उतिबेला। फिल्मले दर्शकको माया मात्रै पाएन; प्रशस्त गाली, आरोप र विवादसमेत खेप्नु पर्‍यो।

राधा र नीताको सम्बन्ध कति शक्तिशाली छ भने प्रेमका लागि उनीहरू  श्रीमान्, घरपरिवार, सम्पत्ति र आफन्त सबै छाडेर नयाँ संसार रोज्छन्।

फिल्म चल्दै गर्दा धर्मको नाममा हल बन्द गराउँदै हिँड्नेहरू पनि निस्किए, फिल्मका पोस्टर पनि च्यातिए। फिल्म युनिटलाई नै सार्वजनिक बहिष्कार गर्नेसम्मका समाचार पनि आए। चर्को विरोध र विवादबीच फिल्म बक्स अफिसमा सफल भयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न पुरस्कार प्राप्त गर्‍यो। आज पनि उत्कृष्ट १० नारीवादी बलिउड फिल्मको नाम लिँदा फायर अगाडि नै आउँछ।

महिला–महिलाबीचको आकर्षणलाई हाम्रो समाजले सहजै स्वीकार्दैन। पुरुष–पुरुषबीचको सम्बन्धलाई पनि व्यर्थ ठान्छ। समाजले सहज रूपमा नलिए पनि, परिवारले सजिलै स्वीकार नगरे पनि यो हाम्रै समाजको वास्तविकता हो।

फिल्मका दुई पात्र राधा र नीता बाध्यताले लेस्वियन सम्बन्धमा जोडिएका हुन्। फिल्ममा उनीहरू देउरानी–जेठानीको भूमिकामा छन्। राधाले अशोकसँग विवाह गरेकी छे। अशोक स्वामीभक्तिमा लागेर श्रीमतीलाई पत्नीसुख दिन सक्दैन। उनीहरू सन्तानको अभावमा छटपटाएका छन्। स्वामीले अशोकलाई गृहस्थी छाडेर भक्तिभावमा लाग्न सल्लाह दिन्छ। स्वामीले भनेअनुसार धर्म कमाउन अशोक श्रीमतीसँग सुत्दैन।

जतिन र नीताको विवाह पनि पारिवारिक हो। जतिन एक चिनियाँ मोडलको प्रेममा छ। ऊ नीतालाई माया गर्दैन। नीता लोग्नेको माया पाउन निकै कोसिस गर्छे तर जतिनको मन पग्लँदैन। माया, प्रेम, आत्मीयता, शारीरिक सुखको अभावमा छट्पटिएका नीता र राधा अन्तत: प्रेममा पर्छन्। उनीहरू काम गर्दागर्दै नजिकिन्छन्। फुर्सद मिल्यो कि प्रेमको संसारमा डुबिहाल्छन्। राधा र नीताको सम्बन्ध कति शक्तिशाली हुन्छ भने प्रेमका लागि उनीहरू श्रीमान्, घरपरिवार, सम्पत्ति र आफन्त सबै छाडेर नयाँ संसार रोज्छन्।

९० को दशकमा बलिउडमा प्राय: प्लेटोनिक प्रेमकथामा आधारित फिल्म बन्थे। यही समयमा मेहताको फिल्म फायर सार्वजनिक भएको हो। समाजमा लुकेर रहेको महिलाको यो सामान्य विषयले नै बलिउडको सोच परिवर्तन गरिदियो। प्राचीन प्रेमको परिभाषा भत्काउँदै नयाँ धारणाको सुरुवात गरिदियो। अझ भनौं, मूलधारे फिल्म उद्योगमा समाजका अल्पसंख्यक समुदायको पनि कथा अटाउन थाल्यो। यस्ता विषय प्रयोग हुन थाले। यसलगत्तै उनले ‘अर्थ’ र ‘वाटर’ जस्ता शक्तिशाली फिल्म निर्देशन गरिन्।

फायरमा देखाएभन्दा धेरै बदलिन सकेको छैन अहिलेको नेपाली समाज पनि। म लेस्वियन वा लैंगिक अल्पसंख्यक हुँ भनेर खुल्ने अवस्था बनिसकेको छैन। उनीहरूको पहिचान सहजै स्वीकार गर्ने वातावरण बनेको छैन। संविधानले उनीहरूको हक सुरक्षित त गरेको छ तर व्यावहारिक रूपमा उनीहरू प्रताडित नै छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.