मिस्ट्रीखोला जलविद्युत आयोजनाको ९८ प्रतिशत निर्माण सकियो
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माणको ९८ प्रतिशत सकिएको छ।
माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीको बाँध, क्यानल निर्माण र पेनस्टक पाइप जडानको काम सकिएको छ। टनेल निर्माणलाई अन्तिम रुप दिनुका साथै पावरहाउसमा जडान भएका उपकरणको परिक्षण सुरु गर्न लागेको आयोजनाको परामर्शदाता इञ्जिनियर दिवाकर खड्काले बताए।
‘१०/१५ दिनमा टनेलको फिनिसिङ सकिन्छ’, उनले भने, ‘पावर हाउसमा जडान भएको टर्वाइन, जेनेरेटर लगायतका उपकरण परीक्षणको तयारीमा छौं।’ सन. २०१६ को जुन १३ मा सुरु भएको आयोजनाको दुई हजार २७०.५ मिटर सुरुङको २०७६ बैशाखमा ब्रेक थ्रु भएको थियो। नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह निर्माण गरेको छ। निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ।
११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ। आउटलेटदेखि बाँधसम्म एक हजार ५०० दुई मिटर गोलाईको पेन स्टक पाईप जडान भएको छ। मिस्ट्री सहित नुवाकोटमा निर्माणको अन्तिम चरणमा पुगेको ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निश्कासन गरेको हो।
दुवै आयोजनाको प्रर्वद्धक माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले भदौ ३१ गतेदेखि छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म सेयर निष्कासन गरिएको जानकारी दिए। न्युनतम १० देखि अधिकतम २० हजार कित्ता शेयर खरिद गर्न पाउनेछन्।
‘पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर कुल लागतको दश प्रतिशत शेयर निस्काशन गरेको हो’, उनले भने, ‘कुल १९ करोड ६८ लाख दुई हजार ७०० रुपैयाँ मूल्य बराबरको सेयर निश्काशन भएको छ।’ मृस्तिखोला निर्माण स्थल नारच्याङ र तादी खोला थप्रेक जलविद्युत आयोजना प्रभावित तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका बासिन्दाका लागि चालीस र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि साठी प्रतिशत शेयर निस्काशन गरेको हो।
नारच्याङ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
आईपिओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ।
पाँच अरब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत विकास कम्पनीले एक अरब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
यसैगरी नविल बैंकले एक अरब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकले ३० करोड ऋण लगानी रहेको छ। विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो। नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो।
मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेका मध्ये सबैभन्दा ठूलो आयोजना हो। नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी सानो जलविद्युत आयोजना सञ्चालनमा छ। ५ मेगावाटको घलेम्दीखोलाले गत माघ महिनादेखि उत्पादन सुरु गरेको छ।