मुस्ताङकी छिरिङलाई सुप्रवल जनसेवा पदक
जोमसोम : दुर्गम हिमालपारीको जिल्ला मुस्ताङकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ सुप्रवल जनसेवा पदक श्री(तृतीय)बाट सम्मानीत हुने भएकी छिन्। सरकारले ५९४ जना विभिन्न व्यक्तित्वलाई मानपदवी, अलंकार र पदकले सम्मान गर्ने क्रममा सुप्रवल जनसेवा पदक प्राप्त गर्ने व्यक्तिको पंक्तिमा उनको नाममा पहिलो नम्बरमा राखिएको छ।
संविधान दिवसको अवसरमा यसपटक सरकारले सुप्रवल जनसेवा श्री(पदक)बाट ८७ जना व्यक्तिको नाम सार्वजनिक गरेको हो। सरकारले वर्षेनी संविधान दिवसका अवसरमा राष्ट्रिय गौरव बढाउने, राष्ट्रिय किर्तिमानी राख्ने र विभिन्न क्षेत्रबाट राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्ति/व्यक्तित्वलाई सरकारले सम्मान गर्दै आइरहेको छ। घोषित पदक पाउने व्यक्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान गर्ने जनाइएको छ।
मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ मराङ जस्तो दुर्गम गाउँमा जन्मिएकी २७ वर्षीय छिरिङ ल्हामो गुरुङ विगत साढे २ वर्षअघिबाट मुस्ताङको समन्वय प्रमुख पदमा छिन्। दुर्गम गाउँमा जन्मिएकी छिरिङ एक सामान्य परिवारकी सदस्य हुन्। उनको आमा-बुबासहित ३ जनाको सानो परिवार छ।
जिल्लाको जनहित मावि जोमसोममा प्लस टुसम्मको अध्ययन पुरा गरेकी उनी समन्वय प्रमुख हुनुअघि गाउँकै एक गुम्बा विद्यालयको शिक्षण पेशामा आवद्ध थिइन्। उनी नेपालकै कान्छी समन्वय प्रमुख पनि हुन्। गत वर्ष उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दलमा सदस्य भई चीन गएकी थिइन्।
शनिवार बिहानै सरकारले आफुलाई राष्ट्रिय विभूषण सुप्रवल जनसेवा पदकबाट सम्मान गर्ने खबरले निकै उत्साहित बनाएको उनले बताएकी छिन्। यसरी आफुले जनप्रतिनिधिका हैषियतले जिल्लामा गरेको कर्मलाई राष्ट्रले यसरी सम्मान गर्ला भन्ने कल्पना समेत नगरेको उनले सुनाईन्। छिरिङ भन्छिन् ‘जिल्ला समन्वय समितिको भूमिका विहिन छ। कुनै ठुला निर्णय गर्ने अधिकार हामीलाई छैन। तैपनि जनताको घरदैलोमा जाने, जिल्लाका लागि आवश्यक पर्ने कामकाजमा समन्वय र सहजीकरण गर्ने कामको दायित्व पुरा गरेको छु जस्तो लाग्छ।’