नवलपरासीबाट ६ जना कैदीबन्दी रिहा
परासी : संविधान दिवसको अवसरमा कारागार कार्यालय पश्चिम नवलपरासीबाट १ महिलासहित ६ जना कैदीबन्दी रिहा भएका छन्।
रिहा हुनेमा कर्तव्य ज्यान मुद्दाका १ महिला र १ पुरुष छन्। त्यसैगरी डाँकाचोरी र सवारी ज्यानका २/२ जना रहेको कारागार प्रमुख जेलर गगनबहादुर बस्नेतले जानकारी दिए। रिहा हुने सबैको राम्रो आचरण र आधा भन्दा बढी कैद सजाय भुक्तान भएकाले बाँकी सजाय मिनाहा भएर छुटेको बस्नेतले बताए।
यसैबीच २५ महिला र १ सय ५० गरी कुल १ सय ७५ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ४ सय ५४ जना रहेका छन्। बाहिरी जिल्लाबाट समेत कैदीबन्दीहरु पठाएका कारण क्षमता भन्दा बढी कैदीबन्दीहरु हुन पुगेको कारागार कार्यालयले जनाएको छ।