कोरोनाको नियम उल्लंघनकर्ताबाट ६ मिलियन यूरो राजस्व, बेल्जियममा मेयरलाई पनि संक्रमण
ब्रसेल्स : बेल्जियममा गत २४ घन्टामा मात्रै २ हजार २८ जना कोरोना भाइरस (कोविड -१९) बाट संक्रमित भएका छन् ।
दिनहुँ ३० हजारको हाराहारीमा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण सुरु भएयता सबैभन्दा बढी शुक्रबार सो संख्या पुगेको छ । गत हप्तादेखि औसत दिनमा १ हजार संक्रमित बढिरहेको तथ्यांक रहेको थियो । यसरी ७४ प्रतिशतले संक्रमण बढेको बेल्जियम शुक्रबारबाटै यूरोपमा रेड जोन अर्थात् खतराको क्षेत्रमा परेको छ।
साइन्सानो ड्यासबोर्डका तथ्यांक अनुसार, गत हप्तामा प्रतिदिन औसत ३१ हजार १ सय जनामा परीक्षण गरिएको थियो। कोरोना महामारीको सुरु भएदेखि करीव २८ लाख बेल्जियम नागरिकहरूमा परीक्षण भइसकेको छ।
एक करोड १६ लाख मात्र जनसंख्या भएको बेल्जियममा संक्रमित संख्या ९७ हजार ९ सय ७६ पुगेकोछ भने झन्डै १० हजार जनाको कोरोनाबाट निधन भइसकेको छ। शुक्रबार सम्म १८ हजार बिरामी कोरोनामुक्त भएका छन् भने ७० हजार कोरोना बिरामीहरूको उपचार भइरहेको छ ।
ब्रसेल्सका मेयरलाई कोरोना
कोरोना भाइरसको परीक्षण गर्दा शुक्रबार ब्रसेल्सको एव्रे नगरपालिकाका मेयर रिदौने चाहिदलाई कोरोना पुष्टि भएको छ । 'मलाई आज पोजेटिभ रिपोर्ट आएको छ यसर्थ म १४ दिनको एकान्तबासमा जाँदैछु', फ्रान्कोफोन दैनिकलाई भने । मेयर रिदौनेले पोजेटिभ रिपोर्ट आए पनि तर आफू बिरामी छु जस्तो नलागेको बताउँछन् ।
कोरोना उल्लंघनकर्ताबाट ६ मिलियन यूरो
कोरोनाको नियम तथा गाइडलाइन उलंघनकर्ताबाट बेल्जियममा ६ मिलियन यूरो जरिवाना संकलन भइसकेको छ । हालसम्म कोरोना भाइरसबाट बच्ने उपाय उल्लंघन गर्ने नागरिकहरूबाट ६ मिलियन यूरो रकम संकलन भएको छ ।
भाषिक पहिचान सहितको संघीय मुलुक बेल्जियमका न्यायमन्त्री कुन जिन्सले सो कुरा आफ्नो प्रतिबेदनमा उल्लेख गरेका छन् । हालसम्म ३० हजार व्यक्तिले कोरोना रोकथामको नियम पालना नगर्दा जरिवाना तिरिसकेका छन् भने ४१ हजार व्यक्तिको मुद्दा चलिरहेको छ । यस्तै १ हजार ८ सय २६ जनालाई जरिवानाको पत्र पठाइएको कुरा मन्त्री कुनले बताएका छन् । यसको अर्थ झन्डै ७३ हजार व्यक्तिलाई प्रहरीले कारबाहीको दायरामा ल्याएको छ ।
मास्क प्रयोग नगरेको, विना काम घुमफिर, सरकारी प्रतिबन्ध उल्लंघन लगायत सरकारी अनुरोधलाई बेवास्ता गर्नेलाई २ सय ५० देखि ४ हजार युरोसम्म सरकारले जरिवाना तोकेको थियो ।