सोसल मिडियाबाट भाग्दै किम
न्युयोर्क : सोसल मिडियामार्फत घृणा फैलाउने कार्यको विरोधस्वरूप रियलिटी टीभी स्टार किम कार्दशियांले आफ्नो सोसल अकाउन्ट फ्रिज गर्ने निर्णय गरेकी छन्।
सोसल मिडियामार्फात धेरै पटक गलत सूचना आदानप्रदान हुन्छ र घृणा फैलाउनेजस्ता कृत्य अगाडि आउँछन्। यसैलाई मध्यनजर गरेर किमले यो सबबाट टाढा रहने निर्णय गरेकी हुन्।
किम इन्स्टाग्राममा धेरै फलोअर्स भएकी सेलिब्रिटी हुन्। उनको इन्स्टाग्राममा १८.८८ करोड फलोअर्स छन्।
लियोनार्दोे डिक्याप्रियो, जेनिफर लरेन्स, आरल्यान्डो ब्लुम, केरी वासिङ्टन र साचा बैरन कोहेन पनि विरोधमा सहभागी छन्। सेलिब्रिटीले आगामी बुधबार २४ घन्टाका लागि आफ्नो अकाउन्ट फ्रिज गर्नेछन्।
किमले ट्विटरमा लेखेकी छन्, ‘म इन्स्टाग्राम र फेसबुकको माध्यमबाट तपाईंहरूसँग सीधा सम्पर्क गर्न सक्छु तर यो मञ्च जब घृणा फैलाउन थाल्छ तब म चुप लाग्न सक्दिनँ।’
‘गलत सूचनाले चुनावमा गम्भीर प्रभाव पार्छ र लोकतन्त्रलाई कमजोर बनाउन सक्छ त्यसैले म यसको समर्थ गर्दिनँ’, उनले भनेकी छन्। यसका साथै उनले ह्यासट्याग स्टप हेट फर प्रोफिट अभियानमा आफ्ना प्रशंसकलाई पनि सहभागी हुन र यसको समर्थन गर्न अपिल गरेकी छन्।
उसका साथै अभिनेता एस्टन कचर पनि सोसल मिडिया प्लेटफर्म बहिष्कार आन्दोलनमा सहभागी हुँदैछन्। उनले भने, ‘यो डिभाइस घृणा र हिंसा फैलाउन बनाइएको थिएन।’ किमले भ्रामक तथ्य र गलत सूचनाविरुद्ध अस्थायी रूपमा सोसल मिडिया अकान्उट उपयोग नगर्ने भएकी हुन्।