ढोरपाटनमा पाँच स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना पुष्टि
बागलुङ : क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा ढोरपाटन नगरपालिकाका ५ स्वास्थ्यकर्मीसहित १४ जनामा कोरोना पुष्टि भएको छ। सोमबार कोरोना संक्रमण पुष्टि हुनेमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत तीन जना, प्राइभेट क्लिनिकका २ जना स्वास्थ्यकर्मी छन्। अन्य ७ जना भने होटल व्यवसायी, इलेक्टिसियन, मासु पसल र बैंकमा स्टाफ रहेका छन्।
२२ जनाको मृत्यु र १५ जना अझै बेपत्ता हुने गरि ढोरपाटनको ५,६,७,८ र ९ मा आएको बाढी पछि यस क्षेत्रमा राहत संकलन, वितरण गर्नेको घुइँचो छ। बुर्तिबाङ बजारसमेत पछिल्लो समय निर्वाध खुल्ला र मानिसहरु न्युनतम स्वास्थ्य सुरक्षा मापदण्डसमेत पालना नगरी हिँड्ने र पसलहरुमा पनि निकै भीड देखिने गरेको थियो।
समुदायस्तरको नमुना परीक्षण गर्न ६९ जनाको स्वाब संकलन गरिएकोमा ६ पुरुष र ७ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गरौले जानकारी दिए। संक्रमण पुष्टि भएका सबै जनालाई बुर्तिबाङै आइसोलेसनमा राख्ने तयारी छ। लक्षण देखिएको र स्वास्थ्य अवस्था जटिल भएकाहरुलाई मात्र सदरमुकामस्थित धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याइने गुरौले बताए।
योसँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ४८ जना पुगेको छ। जसमा २ सय ९५ जना निको भइसकेका छन् भने ३८ जना विभिन्न स्थानका आइसोलेसनमा छन्। एक जना युवकको भने मृत्यु भएको छ।