सुत्केरीको उद्दार
बागलुङ : जिल्लाको गल्कोटकी एक सुत्केरीको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । गल्कोट नगरपालिका– ११ रिघा की २५ वर्षीया गौरी श्रीसको हेलिकप्टर मार्फत उद्वार गरिएको हो ।
बच्चा जन्मेपछि निरन्तर रक्तश्राव भएकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर सोमवार विहान हेलिकोप्टरबाट उद्वार गरी पोखराको गण्डकी अस्पतालमा पठाइएको वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।
गौरीले राति अबेर नवजात शिशुलाई जन्म दिएकी थिइन् । प्रसूती लगत्तै अत्यक रक्तश्राव, ज्वरो र बान्ता समेत हुन थालेपछि श्रीसलाई प्रदेश सरकारसँगको समन्वयमा तत्काल पोखरा रिफर गरिएको अध्यक्ष श्रीसले बताए ।
सुत्केरी तथा गर्भवतीलाई जटिल प्रकारको समस्या देखिँदा दूर्गमताका कारण स्थलमार्गमार्फत अस्पताल पुर्याउन असंभव भएको समयमा हवाई उद्दार गरिँदै आएको छ ।सुरुमा बागलुङमा संघीय सरकारको महिला तथा बालबालिका मन्त्रालय अन्र्तगत राष्ट्रपति महिला उत्थान अन्र्तगत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाई उद्दारसम्बन्धी कार्यविधि २०७५ अनुसार उद्दार गरिएकोमा अहिले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा निशुल्क हवाई उद्दार गरिँदै आइएको छ ।
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत साढे २ वर्षको अवधिमा बागलुङ जिल्लाका ११ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी शुशिला आचार्यले जानकारी दिइन् ।
एक पटक हवाई उद्दार गर्दा समय तथा दुरीका हिसाबले एक लाख २५ हजारदेखि तीन लाखसम्म खर्च हुने गरेको छ । हवाई उद्दार निकै खर्चिलो भए पनि दुर्गमताकै कारण गर्भवती, सुत्केरी तथा नवजात शिशुले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले सञ्चालित अभियानले धेरैले नयाँ जीवन पाइरहेका छन् ।