भक्तपुरमा भर्चुअल सम्पदा यात्रा हुने
भक्तपुर : युरोपेली मुलुकहरुमा भक्तपुरबारे जानकारी दिने उद्देश्यले भर्चुअल सम्पदा यात्रा (हेरिटेज टुर) हुने भएको छ । विश्व कार फ्रि दिवसको अवसर पारेर मंगलबार उक्त भर्चुअल सम्पदा यात्रा हुने भएको हो ।
उक्त सम्पदा यात्रा युरोपका दर्जनौं मुलुकमा लाइभ गरिने व्यवस्था गरिएको छ । प्रत्येक वर्षको सेप्टेम्बर २२ को दिन विश्वभर कार फ्रि दिवस मनाइन्छ । सम्पदा क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरेर सर्वसाधारणको पदयात्रालाई जोड दिने यस दिवसको उद्देश्य रहँदै आएको छ ।
सोही उद्देश्यअनुसार भक्तपुर पर्यटन विकास समितिको स्थानीय संयोजनमा युरोपियन युनियन, ब्रिटिस काउन्सिल, स्टोरी साइकलको आयोजनामा भक्तपुरका सम्पदा क्षेत्रमा भर्चुअल सम्पदा यात्रा गर्ने भएको हो ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले उक्त भर्चुअल सम्पदा यात्रा भक्तपुर दरबार क्षेत्रबाट सुरु हुने जानकारी दिए । उक्त भर्चुअल सम्प्दा यात्रा भक्तपुरकी स्थानीय पथप्रदर्शक रीता सुवालले गराउने छिन् । उक्त यात्रा युरोपका दर्जनौं मुलुकमा एकैपटक लाइभ गरिने अध्यक्ष भेलेले जानकारी दिए ।
'नेपालमा पनि समिति, ब्रिटिस काउन्सिल र स्टोरी साइकलको फेसबुक पेजबाट लाइभ हुने व्यवस्था गरिएको छ,' उनले भने, 'यसबाट विश्वभर भक्तपुरको पर्यटन प्रवद्र्धन हुने विश्वास गरेका छौं ।'
उनका अनुसार दरबार क्षेत्रबाट सुरु भएको सम्पदा यात्रा टौमढीस्थित पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको बाटो भएर दत्तात्रयतर्फ अघि बढ्नेछ । टौमढीबाट क्वाछें, साकोथा, सुकुलढोका, गोल्मढी, इनाचो हुँदै दत्तात्रय क्षेत्र पुग्नेछ ।
‘यात्राका बीच भक्तपुरको ऐतिहासिक, पुरातात्विक महत्व, कला–संस्कृतिबारे ब्रिफिङ हुनेछ’, समितिका महासचिव दीपेशराज शर्माले भने, 'पथप्रदर्शन जुन जुन ठाउँ पुग्नुहुन्छ, ती ती ठाउँको पनि जानकारी दिनुहुनेछ ।'
यसबाहेक भक्तपुरको पर्यटकीय उत्पादन, यहाँका परम्परागत एवं मौलिक नाचगान, बाजागाजा, जात्रा, चाडपर्व, जीवनशैलीबारे पनि जानकारी दिइने उनले स्पष्ट पारे ।
दत्तात्रयबाट च्याम्हासिंहसम्म पुगेर त्यहाँबाट पर्यटकीय क्षेत्र नगरकोट, धुलिखेल, बनेपा र पनौती जाने तथा भक्तपुरबाट काठमाडौं फर्कने छुट्टाछुट्टै बाटोबारे जानकारी दिएर भर्चुअल सम्पदा यात्रा टुंग्याइने समितिले जनाएको छ ।
समितिले उक्त यात्राले कोभिड १९ को कारण थलिएको भक्तपुरको पर्यटन क्षेत्रलाई उकास्न ऊर्जा मिल्ने दावी गरेको छ । 'कोभिड १९ ले गर्दा पर्यटन क्षेत्र ठप्प छ’, समितिका अध्यक्ष भेलेले भने, 'यस्तो अवस्थामा पर्यटन क्षेत्र तंग्रिनेबित्तिकै नेपाल आउने पर्यटकहरुलाई भक्तपुर पुग्न यस यात्राले ठूलो सघाउ पुग्नेछ ।’ यसले नेपाल आएका पर्यटकलाई भक्तपुर पुग्नैपर्ने पर्यटकीय गन्त्व्य बनाउने उनले दावी गरेका छन् ।
समितिले भक्तपुरका सम्पदा क्षेत्रहरुको प्रचारप्रसार एवं यहाँको पर्यटन प्रवद्र्धन गर्न सन्ध्याकालमा भक्तपुर बाइनाइट सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रमअन्तर्गत मंगलबार भर्चुअल सम्पदा यात्रा हुनेछ ।
समितिले भक्तपुरका सम्पदा क्षेत्रलाई पनि सवारीसाधनमुक्त बनाउने अभियानसमेत सञ्चालन गर्दै आएको छ । भक्तपुर नगर क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न भक्तपुर नपाले समेत यहाँका सम्पदा क्षेत्रमा सवारीसाधनको प्रवेश निषेध गर्दै आएको छ ।
अहिले भक्तपुर दरबार क्षेत्रमा सवारीसाधनको प्रवेश पूर्ण निधेष गरिएको छ । त्यस्तै टौमढी क्षेत्रमा निश्चित समयबाहेक अरु बेला चारपांग्रे सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ ।