स्याङ्जामा २३ वर्षपछि पक्राउ परे फरार अभियुक्त
स्याङ्जा : स्याङ्जा हरिनास गाउँपालिकास्थित हाडनाता करणी मुद्दामा फरार अभियुक्त पुरुष २३ वर्षपछि पक्राउ परेका छन् ।
हरिनासका ६२ वर्षीय कर्णबहादुर क्षेत्रीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको हो । हाडनाता करणी मुद्दामा उनलाई २ वर्ष कैद तोकिएको थियो । क्षेत्री त्यसपछि फरार नै थिए । यसवाहेक हरिनासकै ६२ वर्षीय लालबहादुर नाम्जाली र चापाकोटका ४५ वर्षीय भक्त सुनारी मगरलाई पनि फरक मुद्दामा प्रहरीले आइतबार पक्राउ गरेको छ ।
डाँका चोरी अभियोगमा ६ वर्ष कैद तोकिएका नाम्जाली १० वर्षपछि पक्राउ परेका हुन् । सवारी ज्यान मुद्दामा २ वर्ष कैद तोकिएका चापाकोटका ४५ वर्षीय भक्त सुनारी मगर भने १५ वर्षपछि पक्राउ परेका हुन् । उनीहरु तीनैजना फरार थिए । अहिले घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।