पहिरोले घर बगाएपछि कुखुरा फार्ममा बास
बागलुङ : जिल्लाको निसीखोला गाउँपालिकाको एक परिवार पहिरोले दुई नाबालक सन्तानसहित घर बगाएपछि अहिले कुखुरा फार्ममा रात कटाउन बाध्य भएका छन् । निसीखोला गाउँपालिका ५ कारीगाउँका हिराबहादुर विकको गत साउन ३१ गते राती घर माथिबाट खसेको पहिरोले घर बगायो ।
घरसँगै १४ वर्षीय छोरा विरेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विक पहिरोमा पुरिए। पहिरोमा परेर ५२ वर्षीया श्रीमती डिलसरा विक घाइते भइन् । डिलसराको अझै हात नचल्ने समस्या छ ।
नाबालक छोरा नाती गुमाएको पीडा एकातिर छ भने अर्को घर बगाए पछिको चिन्ताले मन भक्कानिने गरेको हिराबहादुर बताउँछन् । तर पनि आफू सम्हालिएर विक्षिप्त बनेका परिवारका अरु सदस्यलाई सम्हाल्नुको विकल्प नरहेको उनी बताउँछन् । घरसँगै सन्तान बगाए पनि आफू घरभन्दा माथि गोठमा बस्दै आएकाले पहिरोबाट जोगिएको हिराबहादुरको भनाइ छ । 'साँझ खाना खाएर म माथि गोठमा गएको थिएँ, घरमा बुढी र केटाकेटी थिए, राती पहिरो आएर पुरेछ,' उनले भने, 'म पनि यही भएको भए पहिरोले पुर्दो रहेछ, मेरा नाबालक छोरा नातीको ठाउँमा मै मर्न पाएको भए पनि हुन्थ्यो जस्तो लागिरहेको छ ।'
उमेरले ६० वर्ष पुरा गरेका हिराबहादुरको परिवारको आर्थिक अवस्था पनि कमजोर छ । पहिरोले घर समेत बगाइ दिएपछि अहिले स्थानीय धर्मराज पोखरेलको कुखुरा फर्ममा आश्रय लिएर बसेका छन् । कुखुरा पालक कृषक पोखरेलले कुखुरा अन्तै सारेर बिकको परिवारलाई आश्रय दिएका छन् । 'अहिले उहाँ अंकलले कुखुरा अन्तै सारेर हामी यही गोठको कुखुर फर्ममा बस्छौँ, 'हिराबहादुरले भने, 'तिमीहरुको घर नबन्दा सम्म यही गोठमा बस भनेर भन्नुभएको छ, अहिले यही बसेका छौँ ।'
फर्ममा कुखुरा पालेको दुर्गन्ध आए पनि समय र प्रकृतिले दिएको चोटका सामुन्ने यो सामान्य लिएको उनको भनाइ छ । गरिबीका कारण हिराबहादुरले तत्काल घर बनाउन सक्ने अवस्था छैन । गाउँघरमा हली काम गर्दै ६ जना छोरोछोरीको लालनपालन गर्दै आएका छन् । ३ भाइ छोरा र ३ बहिनी छोरी रहेका विकको जेठी छोरी विहे गरेर गइसकेकी छिन् । तर, बिडम्बना उनको छोरी माइत आएको बेला त्यही पहिरोले बगाएर लग्यो । जेठो छोराले पनि बिहे गरेर सुसुरालीतिरै बस्दै आएका छन् । कान्छो छोराको पहिरोमा पुरिएर ज्यान गयो । माइलो चाही केही समय अगाडि विदेश गएका छन् ।
विकको घरमा अहिले साना दुई छोरी र श्रीमती मात्रै छन् । पहिरोले दुखजिलो गरेर आर्जन गरेको अन्नपात र लत्ता कपडा सबै पुरिदियो । अहिले आफूहरु खाली हात भएको र कसले के देला भन्ने अवस्थामा पुगेको हिराबहादुरले बताए ।
विभिन्न संघ संस्था तथा गाउँपालिकाले दिएको राहतले विहान बेलुकाको छाक टार्दै आएका छन् । 'बरु हलो जोतेर खान्छु, अरुकहाँ यतिकै हात फैलाउन नपरोस् भनेर दुःख गरेरै खाएको थिए, परिवारको लालनपालन गरेको थिए, आज मै माथि यस्तो बज्रपात पर्यो, हात नथापी धरै भएन, 'हिराबहादुर नसोचेको घटना र परिस्थितिबारे भन्छन्, 'सधै अरुकोमा बसेर कति दिन चल्छ र ? घर बनाउने होला, घर बनाउनको लागि पैसा छैन, सरखारले हेर्छ की भन्ने झिनो आशा छ ।'