३३९ जना फरार अपराधी पक्राउ
भैरहवा : अदालतबाट कसुर ठहर भइ सजाए पाएका ३ सय ३९ जना फरार अपराधीलाई पक्राउ गरिएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालयले 'फरार अपराधी पहिचान र पक्राउ अभियान' संचालन गरी फरार अपराधीलाई पक्राउ गरेको हो ।
प्रदेश प्रहरीले फरार अपराधीलाई पक्राउ गर्नका लागि मातहातका जिल्लाबाट विशेष टोली खटाएको छ । विभिन्न कारणले फरार अपराधीहरुको खोजी कार्य कठिन भएपनि अभियान संचालन गरेर पछिल्लो पाँच महिनामा ३ सय ३९ जना फरार अपराधीलाई पक्राउ गरिएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजकुमार वैदवारले जानकारी दिए ।
पक्राउ परेका ३ सय ३९ जना फरार अपराधीहरुबाट २ सय ५१ वर्ष २ महिना २४ दिन कैद सजाए तथा १९ लाख ८१ हजार तीन सय ४४ रुपैयाँ जरिवाना भुक्तान हुने उनले बताए । प्रदेश पाँचमा पछिल्लो पाँच महिनामा सबै भन्दा बढी बाँके प्रहरीले २ सय ७६ जना फरार अपराधीहरुलाई पक्राउ गरेको छ भने सबैभन्दा कम रुपन्देही प्रहरीले एक जनालाई मात्र पक्राउ गरेको प्रवक्ता वैदवारले बताए ।
त्यस्तै क्रमशः दाङ प्रहरीले २० जना , पाल्पाले १५, अर्घाखाँचीले ८, गुल्मीले ४, नवलपरासी, कपिलवस्तु, रोल्पाले ३/३ जना र बर्दिया, प्यूठान, रुकुमले २/२ जना पक्राउ गरेका छन् ।
उनका अनुसार अपराध गरेर फरार भएका अपराधीहरुको लामो समय सम्म पक्राउ नपर्नुमा वास्तविक र नागरिकताको नाम फरक/फरक, बसाइ सराइ गरी विकट र सहरी क्षेत्रमा बसोवास, रोजगारीको सिलसिलामा अन्यन्त्र जिल्ला तथा विदेश गएको, मृत्युलगायतका कारण कठिनाई पर्ने गरेको छ ।
पक्राउ परेका फरार अपराधीहरु कर्तव्य ज्यान मुद्दादेखि लिएर गालीबेइज्जती मुद्दासम्मका रहेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।