सितगंगामा घर भत्किँदा २ घाइते, अर्घाखाँचीका अधिकांश ग्रामीण सडक अवरुद्ध
सन्धिखर्क : तीन दिनदेखि परेको अविरल वर्षाका कारण सितगंगा नगरपालिकामा २ वटा घर भत्किएका छन् । सितगंगा नगरपालिका ४ चाक्लामा दिपक सुनारको घर भत्किँदा २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए । सितगंगा नगरपालिकाकै ११ मा एक घर भत्किएको छ ।
भुमिकास्थान नगरपालिकाको ९र ७ वडामा गोठ भत्किँदा २ वटा भैंसी मरेक छन्। अविरल वर्षाका कारण गोरुसिङ्गे सन्धिखर्क सडकसहित अर्घाखाँचीका अधिकांश सडक अवरुद्ध बनेका छन् । गोरुसिंगे सन्धिखर्क सडकखण्डको विभिन्न ठाउँमा ससाना पहिरो गइरहेका भएपनि दह खोलामा बुधबार राती ठूलो पहिरो झरेर सडक अवरुद्ध भएको छ ।
सडक अवरूद्ध भएपछि आवागमन ठप्प भएको छ । मालवाहक, निजी तथा सार्वजनिक सवारी साधनहरू पनि बीच बाटोमा अलपत्र परेका छन् भने बिरामी बोकेका एम्बुलेन्स समेत रोकिएका छन् ।
बिहीबार बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको, तर पहिरो निकै ठूलो भएकाले सडक खुलाउन समय लाग्ने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । स्काभेटर र डोजरले काम गरिरहे पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम समेत नरोकिएकाले काम गर्न अफ्ठ्यारो भएको उनले बताए ।
सालझण्डी सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । पाणिनि गाउँपालिका ४ का विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । अधिकांश ग्रामीण सडकहरु पनि अवरुद्ध भएका छन् ।