ई–सिकाइ र सूचना कहर
दूर शिक्षणका धेरै विकल्पमध्ये ई–शिक्षण एउटा विकल्प हो भने दूर सिकाइका धेरै विकल्पमध्ये ई–सिकाइ एउटा। सूचना कहरले ई–शिक्षण तथा ई–सिकाइको सीमारेखा नै बिर्सेर दुवै प्रकारलाई एकै ठाउँमा राखेर ई–सिकाइ बनाइदिएको छ।
उत्प्रेरक वक्ता बब प्रोक्टरको भनाइ छ–संसारको जुनसुकै कुनामा रहेका सबैखाले आर्थिक हैसियतका नागरिकले बिहानै उठ्नेबित्तिकै तीनवटा पक्षमा मात्र सोच्छन्। पहिलो दैनन्दिन आर्थिक समस्याको समाधान कसरी गर्ने ? दोस्रो त्यसको समाधानका लागि आजका दिन केके काम गर्ने ? अन्तिम व्यक्तिगत उत्साह तथा खुसीका लागि आज कोकोसँग संगत गर्ने अथवा भेटघाट गर्ने ? यिनै कुराबाटै विचार सिर्जित हुन्छ भने विचारले नै यी कुरा अघि बढाउन पनि मद्दत गर्छ। यो विचार शृंखला ब्रिटिस दार्शनिक थोमस हब्सका अनुसार तीनवटा सिद्धान्तबाट प्रेरित हुन्छ। पहिलो ईश्वरको अनुकम्पा अथवा लीलाबाट प्रकट भएको दैवी सिद्धान्त। दोस्रो प्रकृतिले निर्धारण गरेको प्राकृतिक सिद्धान्त र तेस्रो यी दुवै सिद्धान्तको मध्यस्थ तर्क तथा विज्ञानसम्मत सकारात्मक सिद्धान्त। राजनीतिक तथा सामाजिक परिप्रेक्षमा राष्ट्रको एन, कानुन, नीति, नियम तथा पद्धतिलाई सकारात्मक सिद्धान्त मानिन्छ। यो मानिसले तर्क तथा विज्ञानका आधारमा निर्माण गरेका हुन्छन्। यसैका आधारमा प्रकट हुने विचार नै सकारात्मक विचार हो। यो आलेखमा यही सकारात्मक सिद्धान्तबाट सिर्जित विचार र यसको सम्प्रेषणले कोरोना कहरमा कस्तो भूमिका खेल्छ भन्नेबारेमा चर्चा गरिनेछ।
जनस्वास्थ्य विधामा कुनै रोगको सामान्य प्रभाव तथा संक्रमणको अवस्थालाई इन्डेमिक अवस्था भन्ने गरिन्छ। सामान्य तत्परता तथा प्रयासले यसको नियन्त्रण एवम् उपचार गर्न सकिन्छ। त्यसैगरी कुनै खास क्षेत्र तथा देशमा मात्र भयावह संक्रमण भएमा एपिडेमिक अवस्था भनिन्छ। यसको नियन्त्रण एवम् उपचार गर्न अतिरक्त तत्परता तथा प्रयासको जरुरत पर्छ। यो भयावहताले राष्ट्रिय सीमासमेत नाघेमा प्यान्डेमिक अवस्था भन्ने चलन छ। अहिलेको अवस्था यही हो र यसलाई नियन्त्रण गर्न के गर्नुपर्छ सबैको चासोको विषय नै भयो। संक्रमणको विकासजस्तै गरी सूचना तथा सञ्चारले व्यावसायिक मर्यादा नाघेर सरकार नियोजित अथवा व्यापारिक घरानानियोजित मानसिक आकलन गरी सर्वसाधारणको ध्यान मूल विषयबाट अन्यत्रै मोड्न कारगर वर्तमान सन्दर्भलाई सूचना कहर भन्नुपर्ने अवस्था आइपरेको छ। बग्रेल्ती सिर्जना गरिएका सामाजिक सञ्जाल तथा ती सञ्जालबाट माथि उल्लेख गरिएका कुनै पनि सिद्धान्तमा आ िश्रत नभई प्रसार गरिएका एकतर्फी अप्रमाणित सामग्रीले ई–सिकाइका बारेमा पैदा गरेका कहरले व्यावसायिक शिक्षामा पारेका अथवा पर्न सक्ने प्रभावबारेमा समेत यो चर्चा केन्द्रित हुनेछ।
सूचना कहरको पहिलो सिकार सामाजिक दूरी भएको छ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना विषाणुको संक्रमण रोकथामको प्रारम्भिक उपाय भनेको ‘संक्रमित वा शंकालु रोगीलाई अन्य संक्रमित वा असंक्रमितको संसर्गबाट अलग राख्ने’ भन्ने वातावरणीय स्वास्थ्य विज्ञानको सकारात्मक सिद्धान्तबाट प्रतिपादित विचार हो। यसलाई सामान्य जनजिब्रोको भाषामा भौतिक दूरी कायम गर्ने पनि भनिन्छ। सामाजिकताको स्वभाव भएको मानिसलाई समाजसँग जोडिराख्नु नै स्वभावजन्य मनोविज्ञान हो। यसमा पनि संक्रमित मानिसलाई त झन् सामाजिक निकटता तथा हेरचाहको एकदमै जरुरी हुन्छ। चलनचल्तीमा रहेको भौतिक दूरीलाई विस्थापित गरी स्थापित हुन खोजेको सामाजिक दूरीले रोग निदानको कारगर उपाग तथा हाम्रो सामाजिक मान्यतासमेत रहिआएको सामाजिक सद्भावमाथि समेत शंका उत्पन्न गरी यसको मूल मर्मविपरीत सन्देश दिएको छ। संक्रमित मानिसको प्रत्यक्ष सम्पर्कमा नगई उसको उपचारमा सघाउ पुर्याउने विधिलाई भौतिक दूरी कायम गर्ने भन्नुको सट्टामा सामाजिक दूरी कायम गर्ने भन्ने पनि सूचना कहरको एक विकृत नमुना भएको छ।
सूचना कहरको दोस्रो सिकार भएको छ– ई–सिकाइ। संज्ञानात्मक, भावात्मक तथा मनोगत्यात्मक शिक्षण सिकाइका तीन विशेष क्षेत्र रहेका छन्। पढेर, हेरेर र सम्झेर हासिल गरिने ज्ञान संज्ञानात्मक हो भने अनुभव गरेर हासिल गरिने अनुभूति भावात्मक हो। त्यसैगरी शारीरिक रूपमै सम्पादन गरेर हासिल गरिने कौशल मनोगत्यात्मक हो। त्यसैले पहिलो ज्ञान संज्ञानात्मक शिक्षण हो। दोस्रो भावात्मक अनुभूति र तेस्रो मनोगत्यात्मक कौशल शिक्षण नभई सिकाइ हो। रेडियो टेलिभिजन तथा इन्टरनेटका माध्यमबाट विद्यार्थी तथा शिक्षक भौतिक दूरीमै रहेर गरिने संज्ञानात्मक शिक्षणलाई दूर शिक्षण र भावात्मक अनुभूति तथा मनोगत्यात्मक सिकाइलाई दूर सिकाइ भनिन्छ। सूचना तथा सञ्चार प्रविधि उपयोग गरेर गरिने संज्ञानात्मक पठनपाठनलाई ई–शिक्षण भनिन्छ भने भावात्मक अनुभूति तथा मनोगत्यात्मक कौशल सिकाइलाई ई–सिकाइ भनिन्छ। दूर शिक्षणका धेरै विकल्पमध्ये ई–शिक्षण एउटा विकल्प हो भने दूर सिकाइका धेरै विकल्पमध्ये ई–सिकाइ एउटा। सूचना कहरले ई–शिक्षण तथा ई–सिकाइको सीमारेखा नै बिर्सेर दुवै प्रकारलाई एकै ठाउँमा राखेर ई–सिकाइ बनाइदिएको छ।
दूर शिक्षाका माध्यमबाट संज्ञानात्मक साधारण शिक्षा पठनपाठन गर्न सकिने तथ्यबारेमा सिद्धान्त, सामाजिक मनोविज्ञान तथा अर्थशास्त्रका दृष्टिले विमति राख्नुपर्ने देखिँदैन। तर भावात्मक अनुभूति तथा मनोगत्यात्मक कौशलसमेत सिकाउनुपर्ने व्यावसायिक शिक्षा के दूर शिक्षाका माध्यमबाट सम्भव छ ? व्यावसायिक शिक्षामा प्रवेश परीक्षाका माध्यमबाट गरिने भर्ना, कक्षा कोठा तथा कार्यशालामा गरिने पठनपाठन, कार्यस्थलमा गरिने पठनपाठन र नियमित मूल्यांकन तथा अनुगमन आदि पर्छन्। व्यावसायिक शिक्षा भर्नाका लागि लिइने प्रवेश परीक्षामा विद्यार्थीको प्रतिभाको आकलन तथा परीक्षण र सोही नतिजाका आधारमा विषय छनोट गरिने भए पनि यसलाई साधारण शिक्षासरह सम्पादन गर्दा खासै गाह्रो नपर्ला। अन्य दुई पक्षमा विचार गर्न एकदमै जरुरी छ। उद्योग–व्यवसायको उत्पादन योजना तथा मानव संसाधन विकास योजनाबमोजिम कार्यस्थलको सिकाइमा आधारित व्यावसायिक शिक्षा प्रदान गरिने आधारभूत मान्यता रहिआएकाले यसमा विद्यार्थीको संख्या उद्योग व्यवसायको नियमित प्राथमिक क्रियाकलापको निरन्तरतामा वाधा नपर्ने गरी यसलाई सघाउने गरी निर्धारण गरिन्छ। माग चक्रका आधारमा पठनपाठन हुने भएकाले र कार्यस्थलमै यो सम्पन्न हुने भएकाले उद्योग व्यवसायलाई यो अतिरिक्त भार हुन जाने देखिन्न।
औद्योगिक तथा व्यावसायिक विकास र मानव संसाधन विकास समानुपातिक हुने हुँदा व्यावसायिक शिक्षाको प्रवर्धन पनि अतिरिक्त भार नपर्ने गरी सहजै हुन्छ। फरकचाहिँ व्यावसाय सञ्चालन तथा प्रवर्धनको अभिन्न अंग सीप विकासको मूल मान्यता हुने भयो। यसैगरी व्यावसाय सञ्चालन तथा प्रवर्धनको अनुगमन तथा मूल्यांकन पनि सहजै सम्पादन गर्न सकिने नियमित कार्य नै हुन जान्छ। अहिले व्यावसायिक शिक्षामा भर्ना हुन चाहने विद्यार्थीको वर्तमान संख्यालाई व्यवसाय सञ्चालन तथा प्रवर्धनको क्षमताबमोजिम अन्य थप विषयमा विविधीकरण गरी व्यवस्थापन गर्न सकिन्छ तर यसको तयारीका लागि कम से कम समय लगाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ। व्यावसायिक शिक्षामा शिक्षण संस्था तथा विद्यार्थी भर्ना क्षमतालाई सबैखाले उद्योग व्यावसायहरूको क्षमताका दृष्टिले हेर्नुपर्ने भएको छ। यही नै यसको विकास, विस्तार, गुणस्तरीयता र दिगोपन हुन आउँछ।
युनेस्कोको शैक्षिक योजनाका लागि अन्तर्राष्ट्रिय संस्थाका अनुसार शिक्षा प्रशासनमा नीति निर्माणका लागि नेता प्रथमशः यसको कार्यान्वयनका लागि स्रोत, साधन तथा पूर्वाधार व्यवस्थापन गर्न विषय विज्ञ दोस्रो अध्ययन तथा अध्यापनका लागि विद्यार्थी, अभिभावक तथा शिक्षक तेस्रो। शैक्षिक वातावरण सञ्चालनका लागि शैक्षिक तथा उद्योग व्यवसाय प्रतिष्ठान चौथो महत्त्वपूर्ण पक्षहरू रहेका छन्। नेतृत्वले विषय विज्ञको सिफारिसका आधारमा राष्ट्रको गन्तव्य तथा आवश्यकताअनुरूप महत्त्वाकांक्षा व्यवस्थापन गर्नमा अग्रणी भूमिका निर्वाह गर्छ। विषयविज्ञले राष्ट्रको सर्वतोमुखी विकासका लागि शिक्षा योजना र यसको कार्यान्वयनका लागि स्रोतसाधन तथा विद्यमान क्षमताअनुसार दिगो व्यवस्थापनको गोरेटो कोर्नका लागि लागू गर्नुपर्ने विस्तृत विवरणसहितको कार्ययोजना नेतृत्वलाई प्रस्तुत गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। के हाम्रो नीति तथा कार्यान्वयनमा यो सकारात्मक क्रमको प्रक्रिया या सिद्धान्त प्रयोग भएको छ ?
शासन र प्रशासनको सीमा रेखाको खासै महत्त्व नभएको हाम्रो देशका माथि उल्लिखित चारै पक्षका सरोकारवालाको चेतन तथा अवचेतन मस्तिष्क माथि भनिए झैं इन्फोडेमिकको सिकार भएको छ। उनीहरू यो क्रमलाई आत्मसात गर्न तयार छैनन्। साधारण शिक्षा तथा व्यावसायिक शिक्षा, शिक्षण तथा सिकाइ र विशेषज्ञता तथा अख्तियारीबारेमा अवचेतन मस्तिष्कमा पहिल्यैदेखि भरिएर रहेका पुराना सोचलाई कसैले पनि परिवर्तन गर्न चाहँदैनन्। शिक्षित तथा सोच्न सक्ने चेतन मस्तिष्क उपयोग गर्न अधिकांश सरोकारवालाहरू तयार हुँदैनन्। यही चेतन मस्तिष्कमा रहेका विचारले अवचेतन मनमा रहेका विचारलाई प्रतिस्थापन गर्ने अत्यावश्यकीय परिवर्तनलाई जनजागरण भनिन्छ। यी चारैथरीका सरोकारवालाबाट उनीहरूका लागि निर्धारित उत्तरदायित्व बहन गर्ने तत्परतालाई नै प्रतिबद्धता भनिन्छ। पछिल्ला दुई पक्षका लागि मात्र नभई सबैलाई यो जनजागरण र प्रतिबद्धता उत्तिकै आवश्यक छ। व्यावसायिक शिक्षा किन ? यो कसका लागि ? यसको पठनपाठन कहाँ ? यसका लागि आवश्यक पर्ने मानवीय तथा भौतिक स्रोतसाधन कति ? यसको सम्पादन कसरी ? सम्पादनको समय कहिलेसम्म ? विषयविज्ञबाट हाम्रा सीमा तथा सीमिततालाई विचार गरी एकीकृत योजना तयार पारी कार्यान्वयनका लागि नेतृत्वसामु पेस गरिएका र नेतृत्वले अघि बढाउनुपर्ने सर्वमान्य परिपाटीलाई हाम्रो राजनीतिक नेतृत्वले स्विकार्न सकेको छ ? यो परिपाटीलाई कति महत्त्व दिएको छ ? अहिले अघि बढाइएका हाम्रा नीति तथा योजनाले विगतको हाम्रो अनुभव, वर्तमानको क्षमता तथा भविष्यको गन्तव्यलाई समेत एकै सूत्रमा जोडी सकारात्मक बनाउनुपर्छ। राजनीतिक आवरणमा विगतलाई कम आकलन गरिएको वर्तमान अवस्थाको वस्तुनिष्ठ विश्लेषण नभएको र दैवी, प्राकृतिक तथा सकारात्मक कुनै पनि सिद्धान्तबाट अभिप्रेरित विचारसँग सम्बन्ध नराखी भविष्य आकलन गर्न खोजिएका प्रयास तथा यस्ता योजनाले कतै जनस्तरको उर्लंदो महत्त्वाकांक्षालाई व्यवस्थापन गर्नुको साटो उल्टै मलजल गरी दुर्घटनातर्फ त निम्त्याइरहेका छैनन् ? के यसको आभास नेतृत्वलगायतका अन्य सरोकारवालालाई छ त ? अन्यथा सूचना कहरले थिलोथिलो भएको ई–सिकाइ कतै नेतृत्वको मानसपटलमा डेरा जमाएर बसेको महामारीले अझ मरणासन्न त हुने होइन ?