सवारी कर कार्त्तिक मसान्तसम्म तिर्दा जरिवाना नलाग्ने
काठमाडौं : बागमती प्रदेशका सवारी धनीले कात्तिक मसान्तभित्रमा कर तिर्दा जरिवाना नलाग्ने भएको छ । लकडाउन र निषेधाज्ञाका सवारी धनीले समयमै कर तिर्न पाएका सकेका थिएन् । सरकारकै कारणले सेवाग्राही समयमै कर तिर्न बंचित भएकाले बागमती प्रदेशले २०७७ कार्तिक मसान्तसम्म कर तिर्दा जरिवाना नलाग्ने निर्णय गरेको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशले असोज ५ को मन्त्रीस्तरीय निर्णयले जरिवाना नलिने व्यवस्था मिलाएको हो । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण सरकारले २०७६ चैत ११ देखि लकडाउन घोषणा गरेको थियो ।
बागमती प्रदेशभित्रका विभिन्न जिल्लामा २०७७ साउन तथा भदौ २६ गते सम्म निषेधाज्ञा जारी भएको हुँदा उत्पन्न असहज परिस्थितिका कारण प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन एवं आर्थिक ऐन २०७७ को अनुसूची २ बमोजिमको कर तथा दस्तुर सो अवधिमा नवीकरण गर्ने म्याद समाप्त भएकाको हकमा सवारी कर तथा गैर कर बुझाउन नपाएका करदाताहरुलाई प्रदेश आर्थिक ऐन २०७७ को दफा १३ बमोजिम सवारी साधन कर तथा गैरकर राजस्व दाखिला गर्ने म्याद २०७७ कात्तिक मसान्तसम्म थप गरिएको निर्णयमा उल्लेख छ ।
मन्त्रालयले यातायात कार्यालयलाई यो निर्णयअनुसार छुट प्रदान गरेपछि उक्त सवारी साधनहरुको विवरण आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाउन भनेको छ।