परम आनन्दको ठाउँ
ध्यानबाट उठेपछि ब्रह्माजीले नारदको खोजी गरे। अघिपछि सम्झनेबित्तिकै उनी टुप्लुक्क देखा पर्थे, यसपटक भने निकैबेर खोजी गर्दा पनि देखा परेनन्। ब्रह्माजीले द्वारपाललाई बोलाएर सोधे, ‘मसँग बिदा भएर भूलोक गएका नारद अझै आएका छैनन् ?’
‘छैन ब्रह्माजी। उनी गएदेखि नै मैले द्वार छाडेको छैन। आएको भए म देखिहाल्थें नि’, द्वारपालले भने।
ब्रह्माजीले द्वारपाललाई अराए, ‘बगैंचातिर टहलिरहेका छन् कि ? आफ्नै खोपीतिर बसेका छन् कि ? सबैतिर बुझेर आऊ। नारदजीलाई नै भेट्यौ भने मकहाँ पठाइदेऊ।’
द्वारपाल नारदजीलाई खोज्न हिँडे। नारदजीलाई कतै नभेटेपछि उनी फर्केर आए। भने, ‘ब्रह्माजी, देवर्षि नारदजी कतै भेटिनुभएन।’
ब्रह्माजीले केहीबेरमा त आउलान् नि भने।
द्वारपालले सोधे, ‘ब्रह्माजी, हिजोआज देवर्षि नारद भूलोकतिरै झरिरहेको कारण मैले बुझ्न सकिनँ।’
उनी घुमिफिर गर्न गएका हुन्। भूलोकमा अहिले शिशिर ऋतु चलिरहेको छ। यस ऋतुमा कतिपय ठाउँ स्वर्गजस्तै देखिन्छन्। त्यतैतिर ध्यानस्थ भएका होलान्। यस बेला जति बोलाए पनि उनी केही अत्तोपत्तो पाउँदैनन्। ध्यानस्थका बेला बोलाउनु पनि हुँदैन।
ब्रह्माजी बोल्दै थिए, नारदजी आइपुगे।
ब्रह्माजीले मुसुमुसु हाँस्दै सोधे, ‘नारदजी, तपाईं भूलोकबाटै आउँदै हुनुहुन्छ ? यतिका समय कसरी रहन सक्नुभयो ?’
हजुर ब्रह्माजी। त्यहाँ एउटा बडो रमणीय ठाउँ छ। त्यसवरिपरि कलकल पानी बगिरहेको छ। बुट्यान, झाडी र रूखहरू छन्। मृग, हरिण, जरायो, हात्ती, गैंडा चरिरहेका हुन्छन्। मैना, सुगा, मयुर पनि नाचिरहेका हुन्छन्। हिमालयबाट बग्दैबग्दै पहराबाट तल खोलामा खस्ने झरना पनि छ। त्यो दृश्य बडो रमणीय लाग्छ। आनन्द पनि त्यस्तै छ। देवाधिदेव महादेव हिमालयमा ध्यानस्थ हुनुको कारण यस्तैयस्तै ठाउँ भएर पो रहेछ।
ब्रह्माजीले फेरि सोधे, ‘तपाईंलाई सबैभन्दा प्रिय के हो ?’
नारदजीले ध्यान भने।
ब्रह्माजीले किन भनेर सोधे।
ध्यानमा बस्दै जाँदा जब ईश्वरीय सत्तामा पुगिन्छ, त्यसपछि बडो आनन्द आउँछ। त्यहीं डुबिरहन मन लाग्छ। त्यहाँजति आनन्द बाहिर कहाँ छ र ? त्यहाँ पुगेपछि हतपत फर्कन मन लाग्दैन। एकपटक लामो समय मिलाएर ध्यानस्थ हुन मन लागिरहेको छ।
नारदजी लामो समयसम्म ईश्वरीय आनन्दमा निमग्न भएको देख्दा ब्रह्माजी पनि चकित परे।