राम्रा र नराम्रा भाव
एक दिन भारद्वाजपुत्र द्रोण पाञ्चाल देशबाट हिँड्दैहिँड्दै हस्तिनापुर दरबारबाहिर आइपुगे। त्यसैबैला हस्तिनापुरका कौरव–पाण्डवका राजकुमारहरू पनि त्यहीं खेल्न पुगे। खेल्दाखेल्दै युधिष्ठिरको औंठी नजिकैको इनारमा खस्यो। त्यो औंठी झिक्नका लागि उनले अनेक प्रयत्न गरे। इनारछेउको बिसौनीमा नौलो मानिस बसिरहेका थिए। युधिष्ठिरले उनीसँग सहायता मागे। उनले इनारमा खसेको औंठी सजिलै उपायले निकालिदिँदा युधिष्ठिर चकित परे।
युधिष्ठिरले यो कुरा पितामह भीष्मलाई सुनाए। पितामह नौलो मानिस भेट्न आए। उनी त भारद्वाजपुत्र द्रोण रहेछन्। उनले द्रोणलाई दरबार लगे। भने, ‘तपाईं धनुर्विद्यामा पारंगत हुनुहुन्छ। हाम्रा राजकुमाहरूलाई शस्त्रास्त्र विद्या सिकाउने गुरुको खाँचो छ। म पनि कुशल आचार्यको खोजीमा थिएँ। तपाईं आजैदेखि आचार्यका रूपमा यस दरबारमा बसिदिनुहोस्। राजकुमारहरूलाई शस्त्रास्त्र विद्या सिकाउनुहोस्।’
कामको खोजीमा रहेका द्रोणलाई ढुंगा खोज्दा देउता मिल्यो। द्रोण हस्तिनापुर दरबारमा आचार्यका रूपमा नियुक्त भए। उनले धनुर्विद्या सिकाएर राजकुमारहरूलाई शस्त्रास्त्रमा पारंगत बनाए। द्रोणले उनीहरूको परीक्षा पनि लिए। उनीहरूमध्ये अर्जुनको लगनशीलता र हस्तकौशल भने बेजोडको थियो। अर्जुन आफूसरह सिपालु भएको उनी ठान्थे। अर्जुनको क्षमता देखेर द्रोणाचार्य उनलाई विशेष स्नेह गर्दथे।
हस्तिनापुरका सबै राजकुमारहरू एउटै परिवेशमा हुर्किए, खेले र धनुर्विद्या पनि सिके। सबैजसोको आनीबानी, व्यवहार र विचार मिल्थ्यो, तर दुर्योधन र युधिष्ठिरको स्वभाव भने नितान्त फरक थियो। दुर्योधन बडो अभिमानी थिए भने युधिष्ठिर सत्यवादी र शान्त स्वभावका थिए। खेल्दाखेल्दै हार भयो भने पनि दुर्योधन आफैंले जितेको दाबी गर्थे। भीमसँग झगडासम्म हुन्थ्यो, तर युधिष्ठिर कहिलेकहीं जितेको त दुर्योधनले नै हो भनेर झगडा हुन दिँदैनथे। भगवान् कृष्णले पनि यस्ता घटना देखेका थिए।
एक दिन कृष्णले दुर्योधन र युधिष्ठिरको भाव बुझ्ने विचार गरे। दुवैलाई हस्तिनापुरका गाउँ–सहर घुम्न पठाए। एकएकवटा सादा कपीका पाना दिँदै भने– दुर्योधनलाई राम्रा कुरा र युधिष्ठिरलाई नराम्रा कुरा लेखेर ल्याऊ। फर्केर आउँदा दुवैले खाली पाना ल्याए। यसबाट के बुझिन्छ भने दुर्योधनमा नकारात्मक भाव थियो त्यसैले उनलाई राम्रा पनि नराम्रा लागे। युधिष्ठिरमा सकारात्मक भाव थियो त्यसैले उनलाई नराम्रा पनि राम्रा लागे।