पहेंलो सुनभित्र लुकेको पाटो

पहेंलो सुनभित्र लुकेको पाटो

नेपाललगायत कतिपय दक्षिण एसियाली मुलुकमा विवाह वा अन्य सामाजिक प्रतिष्ठाविशेषका कारण सुनचाँदीको महत्व बढी देखिन्छ। सन्तानको बिहेमा समाजमा इज्जत, प्रतिष्ठा धान्न नसकिएला, अरूका अगाडि निम्छरो देखिइएला भन्ने मनोविज्ञानले पछिल्लो समय सुनको भाउ बढेपछि कैयन् अभिभावक तथा विवाह गर्ने उमेरका आत्मनिर्भर युवायुवतीसमेत तनावमा परिरहेका हुन सक्छन्। विवाह महिला र पुरुषबीच यौन सम्बन्ध राख्न, बालबच्चा जन्माउन र हुर्काउनका लागि स्वीकृत सामाजिक प्रक्रिया हो। विभिन्न समाजमा यसका आआफ्नै परम्परा र मूल्यमान्यता हुने गर्छन्। तर कतिपय नेपाली समाजमा बिहेबारीमा गरगहनालाई ‘सौभाग्यको प्रतीक’ मानेर अनिवार्यजस्तो बनाइएको छ।

कुलिन, नवधनाढ्य र हुनेखानेको सामाजिक प्रतिष्ठाको वस्तु सुनको मूल्य लगातार बढ्नु नौलो विषय नरहे पनि सर्वसाधारण मानिस सुन किन्न सकिन्न विवाह कसरी गर्ने भन्ने पिरलोमा परेको देखिन्छ। सुनको विश्वव्यापी मान्यताका कारण भनेको यो एक बहुमूल्य धातु हो। सुनको सञ्चिती अर्थशास्त्रीय दृष्टिले पनि अनुत्पादक मानिन्छ तापनि ‘पैसा भए मासेर सकिन्छ, लुगा लगाए फाटेर गइजान्छ’ भन्ने नेपाली समाजमा सुनलाई ‘सुखको गहना दुःखको खजाना’ भन्ने मानसिकताले समेत काम गरेको देखिन्छ। अर्कातर्फ सम्पत्ति सुरक्षाको पाटोबाट हेर्दा बैंक वा घरमा सुन राख्दा गन्ध, ध्वनि नआउने र नगल्ने भएकाले तत्काल ब्याज नकमाए पनि सम्पत्ति जोगिने निश्चित छ।

विश्व जनमानसमा सुनको प्रचलन धेरै पहिल्यैदेखि हुँदै आएको ऐतिहासिक तथ्यले देखाउँछन्। मानव जातिले सुरुआतमा आभूषण एवं गरगहना सोखका रूपमा प्रयोग गरे पनि समय क्रमसँगै धातुजन्य वस्तुमध्ये सुनचाँदीलाई सम्पत्तिका रूपमा जम्मा गर्ने संस्कृति विकास भयो। नेपालमा पञ्च धातुभित्र पर्ने भएकाले सुनको धार्मिक महत्व पनि दर्शाइएको छ। मलामी गएर फर्केपछि सुनपानी छर्केर चोखो बनाउने चलन हामीकहाँ अद्यापि छ। हिन्दु परम्परावादी नेपाली समाजमा विवाहित महिलालाई सौभाग्यको प्रतीकका रूपमा तिलहरी÷गहना दिएपछि सो नलगाए पतिको आयु घट्ने सामाजिकता थोपरिएको छ।

हजुरआमा भन्नुहुन्थ्यो, ‘हाम्रा पालामा बिहेबारी हुँदा कानमा टप र घाँटीमा तिलहरीबाहेक अन्य एकजोर साझा गहना बनाई त्यही गहना क्रमैसँग जेठी, माइली, कान्छो गर्दै आफ्नो परिवार साथै गाउँघरमै छरछिमेकका बिहेसमेतमा प्रयोगमा ल्याई सरसहयोग गर्ने चलन थियो। नहुने र नसक्नेलाई पनि बिहेमा सुनका गरगहना अनिवार्य मानिन्थेन।’ तर हिजोआज जुनसुकै वर्ग र समाजमा पनि विवाह र सुन एकअर्काका परिपूरक हुन् कि भन्ने आभास हुन्छ। चाहे जस्तोसुकै विवाह किन नहोस्, मात्रामा जतिसुकै होस् तर बिहेमा सुन अनिवार्यजस्तो लाग्छ।

बहुदलीय प्रजातन्त्रपश्चात् कतिपय जनवादी विवाह चिया पनि नखुवाई आयोजना गरिन्थे। यद्यपि कहींकतै गरिँदै होला। एकादुई त्यस्ता बिहेमा सहभागी हँुदा, खर्च नगरी क्रान्तिकारी बिहे गरेको सुन्दा गर्वले छाती चौडा हुने गथ्र्यो। तर लोकतन्त्र आएसँगै व्यापक मात्रामा बिहेको स्वरूपमा परिवर्तन आयो। बिहे पाँचतारे होटल र पार्टी प्यालेसमा भव्य भोजभतेर अनि गरगहना, कपडा प्रदर्शन गर्ने थलो बन्न थाले। हाम्रो समाजमा ‘ओपेन सेक्रेट’ का रूपमा नजानिँदो पारामा लुकेको यो यथार्थमा हामी नचाहेरै पनि दिनप्रतिदिन फसिरहेका छौं।

नेपालमा पछिल्लो समय सहरीकरण बढेसँगै जग्गाको कारोबारमा वृद्धि भयो। दलाली र बिचौलिया फस्टाए यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणमा पनि छिट्टै धनी बन्ने मोह जाग्यो। विदेशबाट भित्याइएको रेमिट्यान्सलगायत जग्गा कारोबारका कारण केही मात्रामा भए पनि वृद्धि भएको आर्थिक हैसियत, बजारको उपलब्धता र रोजाइका साधन बढ्दै गएपछि तिलहरी र एक जोली टप गहना लग्ने विवाहमा सहरबजारतिर हुनेखानेका परिवारमा गहनाका मात्रा बढाउँदै लगियो र त्यसको देखासिकी सामान्य परिवारले समेत सकिनसकी गर्न थाले।

अबका व्यवहार, चाडपर्व, बिहेबारी पनि विनासुन, विनाभोजभतेर र कमभन्दा कम खर्चमा गर्न उद्यत् हुनुपर्छ।

हिजोआज अखबारका पाना पल्टाइयोस् या रेडियो, टीभी हेरियोस्, जताततै सुनको भाउ बढेको समाचार महत्वका साथ फ्रन्टलाइनमा छाउने गर्छ। लसुनको भाउ बढ्दा चिन्तित हुने साधारण नेपाली जनमानसलाई सुनको भाउ बढ्यो भनेर दिनमा दसचोटि सुनाउनु के तुक छ ? धनीमानीका लागि सम्पत्ति खर्च गर्ने ठाउँ जग्गा, सेयर खरिद र सुन सञ्चिती होला तर कैयन् नेपाली सुनपानी खानका लागि सुन जोर्न होइन कि बिहान–बेलुकाको छाक टार्न पनि नसक्ने अवस्थाबाट माथि उठ्न सकिरहेका छैनन्। विश्वभर फैलिएको कोरोना महामारीले गरिब, श्रमिक र उत्पीडित तथा दुर्गम क्षेत्रका वासिन्दाको जनजीवन कष्टकर बन्दै गइरहेको छ।

नेपालका कति प्रतिशत जनता सुनको भाउ बढ्दा र घट्दा प्रभावित हुन्छन् ? यस विषयमा हामीले कहिल्यै बहस गर्न चाहेनौं। व्यापारी, हुनेखाने र नवधनाढ्य वर्गलाई यस्ता सूचनाले प्रभाव पार्लान् तर आम जनमानसको मनोविज्ञानमा असर नपार्ने गरी गरिबको मन नखसाल्ने गरी सूचना विज्ञापन, समाचार निर्माण गर्न सकिँदैन र ? हामीकहाँ बजाइने कति सूचना महिलामैत्री, गरिबमैत्री, दलित, श्रमिकमैत्री होलान् ?

पछिल्लो समय गरगहना प्रदर्शन गर्ने गतिलो माध्यम सामाजिक सञ्जाल पनि भएको छ। ‘खाएको देखिन्न लाएको देखिन्छ’ भन्ने भनाइ पहिल्यैदेखि नै प्रचलित छ। झपक्क गरगहना, रानीहार लगाएर तस्बिर अपलोड गर्नेले कहिले सोचे होलान् ? यसकै कारण कति युवायुवतीको मनले हार खाएको होला ? आज पनि कैयन् छोरीको घर सुन या दाइजोको विषयलाई लिएर बिग्रेको, ज्यानैसमेत गएको सुनिन्छ। त्यस्तै कति छोरा बिहेका लागि सुन जोर्न भन्दै आफ्नो रगतपसिना विदेशी मुलुकमा बगाउँदै इज्जत–प्रतिष्ठा धान्ने मुस्लोमा पिसिइरहेका होलान्।

अबका दिनमा गहना लुगा–कपडामा गरिने अनुत्पादक लगानीलाई निरुत्साहित गरी उत्पादनमूलक कार्यमा जोड दिने नीति राज्यका तर्फबाट र आमनागरिकको पहलबाट समेत गरिनुपर्छ। शिक्षा नै व्यक्तिको सबैभन्दा ठूलो गहना हो। तसर्थ आत्मनिर्भरताको आभूषण पहिरिएर आत्मसन्तुष्टिका साथ अगाडि बढ्नुपर्छ। हाम्रोजस्तो विकासोन्मुख अर्थतन्त्रमा श्रम गरेरै क्षमता विकास गर्नुपर्छ न कि सुन र डलरको अवैध कारोबारको माध्यम बनेर हँुदैन। अबका व्यवहार, चाडपर्व, बिहेबारी पनि विनासुन, विनाभोजभतेर र कमभन्दा कम खर्चमा गर्न उद्यत् हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.