‘उत्तर कोरियाली सेनाले दक्षिण कोरियाली अधिकारीलाई मारेर जलायो’
सिओल : दक्षिण कोरियाले आफ्ना एक अधिकारीलाई उत्तर कोरियाली सेनाले गोली हानी हत्या गरी जलाएको आरोप लगाएको छ । दक्षिण कोरियाली रक्षामन्त्री जेयोङ क्योङदुका अनुसार मत्स्य विभागमा कार्यरत आफ्ना एक अधिकारीको हत्या भएको बताएका हुन् ।
उक्त ‘हत्या’को रक्षामन्त्री क्योङदुले भत्र्सना गर्दै ‘क्रूर कार्य’को संज्ञा दिएका बीबीसीले उल्लेख गरेको छ ।
उक्त अधिकारी उत्तरको सीमा नजिकै प्याट्रोलिङ गरिरहेको डुंगाबाटै हराएका थिए । पछि उत्तर कोरियाली क्षेत्रको पानीमा शव भेटिएको रक्षामन्त्री क्योङदुले बताए । ‘उत्तर कोरियाली सेनाले उनलाई गोली हाने अनि उनको शरीरमा तेल खन्याएर जलाए’, रक्षामन्त्री क्योङदुले भने ।
यस घटनालाई कोरोना भाइरसविरुद्ध उत्तरको रणनीति हुन सक्ने आँकलन गरिएको छ । उत्तर कोरियाले कोरोना भाइरसबाट बच्न दक्षिण कोरिया तथा चीनबाट जबरजस्त आफ्नो क्षेत्रमा भित्रिन खोज्नेलाई ‘गोली हानी मार्ने’ रणनीति लिएको छ ।
सो घटनाको सम्बन्धमा हालसम्म प्योङयाङ भने केही बोलेको छैन ।